पोखरास्थित पृथ्वीनारायण (पीएन) क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा नेकपा एमालेनिकट अनेरास्ववियुको प्यानलै निर्वाचित भएको छ ।
क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियुका विष्णु पोखरेल प्रतिस्पर्धीभन्दा दोब्बर मतले विजयी भएका हुन् । त्यस्तै सचिवमा पनि अनेरास्ववियुकै विराट दुवाडी निर्वाचित हुँदा कोषाध्यक्षमा सन्दिका गुरुङ निर्वाचित भइन् । अखिलका पोखरेल ११०५ मत ल्याएर विजयी भएका हुन् । नेविसंघका सुशील न्यौपानले ५०३ मत ल्याएका थिए भने स्वतन्त्र उम्मेदवार विप्लवी भट्टराईले ४६९ र अखिल क्रान्तिकारीका नवीन अधिकारीले २२३ मत प्राप्त गरेका थिए ।
सचिवमा निर्वाचित दुवाडीले त्योभन्दा धेरै फराकिलो मतान्तरमा जिते । दुवाडी १४१३ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेविसंघका विवेक भट्टराईले ६२८ मत प्राप्त गरेका छन् भने अखिल क्रान्तिकारीका सचिवका मिराज थापा मगरले २९३ मत ल्याए।
कोषाध्यक्षमा एमालेनिकट अनेरास्ववियुका सन्दिका गुरूङ १३०४ मत प्राप्त गरिन् भने नेविसंघकी अमिषा यादवले ६४७ मत प्राप्त गरिन् । देशकै ठूलो यस क्याम्पसमा ९२७० जना विद्यार्थी अध्ययनरत रहे पनि २९८७ विद्यार्थी मात्र मतदानमा सहभागी भएका थिए ।
पीएन क्याम्पसमा चैत ५ का लागि निर्धारण गरिएको स्ववियु चुनाव स्थगित भएको थियो । त्यसपछि आइतबार मतदान भएको हो ।
प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१ ०७:५०