भारतको महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले शनिबार नागपुरमा मार्च १७ मा भएको हिंसामा ९२ जनालाई पक्राउ गरिएको बताएका छन् । यसमा ढुङ्गा हाने र गाडीमा आगजनी गर्ने घटनाहरू समावेश छन् ।
यसअघि, मुख्यमन्त्री फडणवीसले नागपुरमा हालै भएको हिंसाको सम्बन्धमा नागपुर प्रहरी मुख्यालयमा समीक्षा बैठक आयोजना गरेका थिए । बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै राज्यका गृहमन्त्रीसमेत रहेका मुख्यमन्त्री फडणवीसले सो दिन मुस्लिम समुदायको ‘पवित्र चादर’ जलाइएको भन्दै सामाजिक सञ्जालमा फैलिएको अफवाहका कारण हिंसा भएको बताए ।
'मैले हिंसाको बारेमा उच्चस्तरीय बैठकको अध्यक्षता गरेँ, जसमा राज्यमन्त्री चन्द्रशेखर बावनकुले पनि उपस्थित थिए । मैले सबै विवरणहरूको समीक्षा गरेँ र मेरा विचारहरू साझा गरेँ । यो घटना भएको दिन औरङ्गजेबको चिहान जलाइएको थियो । घटना पछि, प्रहरीमा मुद्दा दर्ता गरियो । यद्यपि, केही मानिसले पोडकास्ट र सामाजिक सञ्जाल पोस्टहरू मार्फत अफवाह फैलाए कि पवित्र ‘चादर’ जलाइएको थियो,' उनले भने, 'यसको परिणामस्वरूप नागपुरमा दङ्गाकारीहरूले ढुङ्गा प्रहार गरे, सवारी साधनमा आगजनी गरे र पसलहरूमा आक्रमण गरे ।'
परिस्थितिलाई छिटो नियन्त्रणमा ल्याएकोमा उनले प्रहरीको प्रशंसा गरे । 'प्रहरीले ४/४.५ घण्टाभित्र स्थिति नियन्त्रणमा ल्यायो । उनीहरूले स्थिति नियन्त्रण गर्न सबै प्रयास गरे । यद्यपि, घटनामा तीन डीसीपी–स्तरीय अधिकारी सहित धेरै प्रहरी कर्मचारीहरू घाइते भएका छन् । कुल १०४ जनाको पहिचान गरिएको छ, जसमध्ये ९२ जनालाई पक्राउ गरिएको छ,' मुख्यमन्त्रीले भने, 'जति पनि नोक्सान भएको छ, त्यसको क्षतिपूर्ति दङ्गा गर्नेहरूले दिनेछ । पैसा नतिरेमा सम्पत्ति बेचेर रिकभरी गरिने छ । आवश्यक परेमा बुलडोजर पनि प्रयोग गरिनेछ ।'
औरङ्गजेबको चिहान हटाउने मागलाई लिएर मार्च १७ मा नागपुरमा झडप भएको थियो । आन्दोलनको क्रममा कुनै विशेष समुदायको पवित्र पुस्तक जलाइएको हल्ला फैलिएपछि तनाव अझ बढ्यो । यद्यपि, अब स्थिति सामान्य भएको छ र धेरै क्षेत्रहरूमा लगाइएको कर्फ्यु हटाइएको छ ।
प्रकाशित मिति: आइतबार, चैत १०, २०८१ ०७:०२