टर्कीको इस्तानबुलका मेयर तथा विपक्षी नेता इकरम इमामुलूलाई सरकारले पक्राउ गरेपछि देशव्यापी प्रदर्शन चर्किएको छ । प्रदर्शनकारीले सडक, विश्वविद्यालय र रेल स्टेसनमा समेत सरकार विरोधी नारा लागेका छन् ।
प्रदर्शनका क्रममा केही स्थानमा प्रहरीसँग झडपसमेत भएको छ । सरकारले देशको सबैभन्दा ठूलो शहर इस्तानबुलमा चार दिन सार्वजनिक कार्यक्रम गर्न प्रतिबन्ध लगाएको छ भने केही सडक र मेट्रोलाइन पनि बन्द गरिएको छ ।
प्रहरीले नेता र पत्रकारसहित एक सयभन्दा बढीलाई पक्राउ गरेको छ । २२ वर्षदेखि टर्कीको सत्तामा रहेका राष्ट्रपति रिसेप तैयप एर्दोआनविरुद्ध भएको यो सबैभन्दा ठूलो विरोध प्रदर्शन हो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जस्तै उनले आफ्ना विपक्षीलाई दबाउँदै आएका छन् ।
५४ वर्षीय इमामुलू आधुनिक टर्कीका निर्माता मुस्तफा कमाल अतातुर्कको रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी) का नेता हुन् । उनी आगामी निर्वाचनमा राष्ट्रपतिको उम्मेदवार हुने तयारीमा थिए । तर, त्यसअघि नै एर्दोआन सरकारले आतंकवादी संगठनलाई सहयोग गरेको र भ्रष्टाचारमा संलग्न भएको आरोपमा पक्राउ गरिएको हो ।
उनीसहित अन्य पाँच जनामाथि कुर्दिस्तान वकर्स पार्टीलाई सहयोग गरेको आरोप लगाइएको छ । सीएचपीका नेता ओजगुर ओजेलले इमामुलूको गिरफ्तारीको विरोध गर्दै भावी राष्ट्रपति विरुद्ध सत्ता ‘कु’ गर्न खोजेको बताएको छ । पक्राउ गरे पनि सीएचपीले उनलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने भन्दै विपक्षीलाई एकजुट हुन उनले आग्रह गरेका छन् । टर्कीमा अब निष्पक्ष र लोकतान्त्रिक रूपमा निर्वाचन सम्भव नभएको भन्दै केही विपक्षीले निर्वाचन बहिष्कार गर्न अपिल गरेका छन् ।
इमामुलूलाई पक्राउ गर्नुअघि इस्तानबुल विश्वविद्यालयले उनको शैक्षिक योग्यता रद्द गरेको थियो । यसले उनको उम्मेदवारीमाथि सन्देह पैदा भएको छ । किनकि टर्कीमा राष्ट्रपति बन्नका लागि उच्च शिक्षा पूरा गर्नुपर्ने व्यवस्था छ । इकरम इमामुलू राष्ट्रपति एर्दोआन प्रशासनविरुद्धको बलियो अनुहारका रूपमा स्थापित भएका छन् । रियल इस्टेट कारोबारी हुँदै ४३ वर्षको उमेरमा राजनीतिमा पाइला राखेका उनी सीएचपी पार्टीबाट मेयर बनेका हुन् ।
इमामुलू सन् २०१९ सम्म देशमा लोकप्रिय थिएनन् । तर, सन् २०१९ मा इस्तानबुलको मेयरका लागि भएको निर्वाचनमा राष्ट्रपति एर्दोआनका उम्मेवारलाई हराएर चर्चित बनेका हुन् । यो चुनावमा उनले ४१ लाख मत पाएर १३ हजार मतान्तरले विजयी भएका थिए । तर, उनी एक महिनाभन्दा कम समय मात्रै मेयर बन्न पाए ।
अनियमितताको आरोप लगाएर चुनावी अधिकारीहरूले परिणाम रद्द गरेर पदबाट हटाएका थिए । त्यसपछि नयाँ निर्वाचन गराउन आदेश दिएका थिए । तर, सोही वर्ष जुनमा भएको निर्वाचनमा उनले एर्दोआन पक्षका उम्मेदवारलाई करिब ८ लाख मतले हराए । यो जितले उनी राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चर्चित भए । मेयर बनेपछि शहरको भौतिक विकासका लागि धेरै काम गरे । यसले उनको छवि थप राम्रो भयो ।
इमामुलू नै सन् २०२३ मा एर्दोआनविरुद्ध चुनाव लड्न सबैभन्दा बलियो दाबेदार थिए । तर, विपक्षी गठबन्धनले कमाल किलिचदारोग्लुलाई उम्मेदवार बनायो । सन् २०२४ को इस्तानबुल मेयरको चुनावमा एक पटक फेरि उनी एर्दोआन समर्थक उम्मेदवारलाई हराएर विजयी भए । एर्दोआन समर्थित उम्मेदवारलाई लगातार तेस्रोपटक हराउनु इमामुलूका लागि ठूलो उपलब्धिका रूपमा हेरिएको छ । टर्कीका राजनीतिक जानकारहरूले यसलाई एर्दोआनको सबैभन्दा ठूलो हार भएको बताएका थिए ।
एर्दोआन इस्तानबुलमै हुर्किएका नेता हुन् । उनी यहीबाट पहिलोपटक मेयर हुँदै राष्ट्रपति बनेका हुन् । त्यसैले उनको पार्टीका उम्मेदवारको हारलाई ठूलो झट्का ठानिएको छ । इमामुलूको जितपछि उनलाई अर्को पटक राष्ट्रपतिको उम्मेदवार ठानिएको छ । त्यसैले उनको गिरफ्तारीलाई अर्को निर्वाचनसँग जोडेर हेरिएको छ । टर्कीमा सन् २०२३ मा राष्ट्रपति निर्वाचन भएको थियो । जुन चुनावमा लगातार तेस्रोपटक एर्दोआन राष्ट्रपतिमा निर्वाचित भएका थिए । अब अर्को चुनाव २०२८ मा हुनेछ ।
टर्कीको संविधानअनुसार कुनै नेता चौथोपटक राष्ट्रपति बन्न सक्दैनन् । तर, एर्दोआनले अर्को कार्यकालका लागि संविधान नै संशोधन गर्न सक्ने उनका आलोचक बताउँछन् । त्यसका लागि उनले समयअघि नै निर्वाचनसमेत गराउन सक्ने आशंका छ । एर्दोआनले गत वर्ष निर्वाचनमा आफ्नो जीवनकै सबैभन्दा नराम्रो हार भोग्नु परेको थियो । देशभर भएको स्थानीय निर्वाचनमा विपक्षी सीएचपी पार्टीले एर्दोआनको सत्तारुढ एके पार्टीको गढ मानिने सबै ठूला शहर र पालिकामा जित हात पारेको थियो ।
प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१ १७:४८