प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रकी सांसद विमला सुवेदीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया यथासक्य छिटो सुरु गरेर शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले नेपालमा द्वन्द्वकालमा भएका घटनाका कारण पीडित भएका व्यक्ति तथा उनीहरूका परिवारका सदस्यले छिटोभन्दा छिटो न्याय पाऊन् भन्ने कुरामा सरकार संवेदनशील रहेको बताए । प्रधानमन्त्री ओलीले टीआरसीलाई टुंगोमा पुर्याउने विषयमा छलफल गर्न विपक्षी दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खोजिरहेको बताए ।
'मैले विपक्षी दलका नेताज्यूसँग सम्पर्क गर्न कोसिस गरिराखेको छु । तर, पटक-पटक प्रयास गर्दा उहाँको स्वास्थ्यमा केही समस्या भएको हुनाले सम्पर्क गर्न नसक्नु भएको जवाफ पाएको छु,' प्रधानमन्त्री ओलीले भने, 'उहाँसँग सम्पर्क हुनेबित्तिकै काम अगाडि बढाइने छ ।'
प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१ १५:५५