प्रधानमन्त्री कप (पीएम कप) राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार तीन खेल हुने तालिका थियो । दिउँसो २ बजेसम्म दुई खेलको नतिजा आइसकेको छ, एक खेल जारी छ । जुन दुई खेलको नतिजा आयो, त्यसमा रेकर्डमाथि रेकर्ड बनेका छन् ।
प्रतियोगिताको १९औँ खेल आइतबार सिद्धार्थ मैदानमा कोशी प्रदेश र गण्डकी प्रदेशबीच भयो । जारी प्रतियोगितामा लगातार चार खेल हारेको कोशीले गण्डकीमाथि विशाल जित हात पारेको छ । पहिला ब्याटिङ गरेको गण्डकी ३१ रनमा अलआउट भयो ।
त्यसमध्ये दुई रन एक्स्ट्रा हो । गण्डकीका ब्याटर मात्र २० ओभर ४ बल टिके । गण्डकीका चार जना ब्याटर लगातार शून्य रनमा आउट भए । भानस क्षेत्री, दीपक डुम्रे, रोहित चन्द र सुवास भण्डारी शून्यमा आउट भए । गण्डकीका लागि सर्वाधिक रन अर्जुन कुमालले बनाए । उनले ८ बलमा दुई चौकासहित ९ रन बनाए । रोचक कुरा के भने गण्डकीका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । र, प्रतियोगिताकै सबैभन्दा कम स्कोरमा अलआउट भए । ३१ रन जारी प्रतियोगिताको सबैभन्दा कम टिम स्कोर हो ।
उता सामान्य लक्ष्य पछ्याएको कोशीले ८ ओभर २ बलमा एक विकेट गुमाएर प्रतियोगितामा पहिलो जित निकाल्यो । ६ विकेट लिएका कोशीका विपिन महतो म्याद अफ द म्याच भए ।
यस्तै, आइतबारै लमहीमा भएको अर्को खेलमा लुम्बिनीले बागमती प्रदेशमाथि ४८ रनको जित हात पारेको छ । पहिला ब्याटिङ गरेको लुम्बिनी ३२ ओभर ४ बलमा ११५ रन बनाउँदा अलआउट भयो । उसका लागि आकाश त्रिपाठीले सर्वाधिक ३३ रन बनाए ।
उता सामान्य लक्ष्य पाएको बागमतीको भने सुरुवात नै राम्रो हुन सकेन । रित गौतम शून्यमा आउट भए भने अन्य ब्याटर पनि क्रिजमा टिक्न सकेनन् । र २२.५ ओभरमा ६७ रन बनाउँदा अलआउट भयो ।
प्रकाशित मिति: आइतबार, चैत ३, २०८१ १४:५६