राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले मदन भण्डारीको हत्यारा पत्ता लगाउन कसले रोकेको भन्दै प्रश्न गरेका छन् । आइतबार प्रतिनिधिसभाको विशेष समयमा उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पनि वकालत गरे ।
त्यसअघि संदमा बोलेका एमाले सांसद रघुजी पन्तले राजतन्त्रमा त्रैलोक्यविक्रम शाहको युवराज हुँदा हत्या भएको बताएका थिए । सो प्रसंगको जवाफमा शाहीले मदन भण्डारीको हत्याको विषय उठाए ।
‘मदन भण्डारीको हत्या कसले गर्यो ? त्यो हत्यारा पत्ता लगाउँछु भन्ने मान्छे अहिले यो देशको प्रधानमन्त्री हुनुहुन्छ । मदन भण्डारीको हत्यारा पत्ता लगाउन कसले रोक्यो ? त्यसको जवाफ संसदलाई चाहिन्छ । राष्ट्रपति तपाईंकै थिए । सदनमा दुईतिहाइ मत तपाईंहरूको थियो । अनि मदन भण्डारीको हत्याको याद आएन ?,’ शाहीले भने ।
अहिलेको व्यवस्थामा चुनाव हारेका 'हरुवा चरुवाहरू' मन्त्री बन्दै प्रधानमन्त्री बन्ने, चुनावै नजितेर पनि सांसद बन्न पाउने उनले बताए । पछिल्लो १६ वर्षमा १४ पटक सरकार परिवर्तन भएको, झण्डै १ हजार मन्त्रीहरू भएको, ३१ वटा मुख्यमन्त्री भएको, ३० वटा प्रदेश प्रमुख भए, तीन जना राष्ट्रपति, ३ जना उपराष्ट्रपति भएको उनले बताए । झण्डै ३ हजार सांसद भएको पनि उनले बताए । ‘सबै मिलेर खान पाएपछि यो व्यवस्था उत्तम भयो भन्नु स्वाभाविक हो,’ उनले भने ।
संसदमा भाषण गर्ने नेतादेखि उच्चपदस्थ कर्मचारीका छोराछोरी युरोप, अमेरिकामा पढ्ने, गरिबका छोराछोरी खाडीमा गएर बेल्चा हान्नुपर्ने बाध्यता रहेको उनले बताए ।
‘काण्ड सम्झाइदिऊँ, निर्मला पन्तको बलात्कारपछि हत्या भयो, तपाईंहरूको गृहमन्त्री, फेरि कति प्रधानमन्त्री फेरिए, कतिपटक ओल्लो पक्ष पल्लो पक्ष सरकारमा गयौ, अहिलेसम्म निर्मला पन्तको हत्यारा पत्ता लगाउन सकेका छौ ?,’ सांसद शाहीले भने, ‘बाँदरमुडे घटना याद छ ? निहत्था नागरिकलाई बम हानेका हो कि होइन ? लमजुङको शिक्षक मुक्ति अधिकारीको हत्या गर्ने हत्याराहरू यही संसदमा सांसद भएर हिँडेका छन् । यो हो व्यवस्था ? खुला मञ्चमा बसेर ५ हजार मान्छे मारेकै हो, म त्यसको जिम्मा लिन्छु भन्ने व्यक्ति प्रधानमन्त्री बन्ने देश हो ।’
प्रकाशित मिति: आइतबार, चैत ३, २०८१ १३:१०