आइतबार प्रतिनिधिसभाको विशेष समयमा एमाले सांसद रघुजी पन्त बोल्दै थिए । उनले राजाको शासनकालमा नेपालमा प्रगति नभएको र गण्तन्त्र र प्रजातन्त्रको समयावधिमा प्रगति भएको विवरण पेस गर्दै थिए ।
मन्तव्य राख्दै गर्दा पन्तले भने, '....त्रैलोक्य विक्रमलाई युवराज छँदाछँदै कसले विष खुवाएर मार्यो दरबारमा ? कुनै जनताले गरेको थियो षड्यन्त्र ? त्यसपछि आएर त्रिभुवनमा हेर्नुस्, दिल्ली त गए तर दिल्लीको कलकत्तामा वीरेन्द्रले विभिन्न आइमाईहरूसँग रसरंग मच्चाउन थालेपछि त्यसबेलाको स्टेट्स लाइनदेखि भारतका पत्रिकाहरूले समेत टिप्पणी गरे । अनि नेहरुले बाध्य भएर बोले– यो नेपालको राजाको तरिका ठीक भएन भनेर । राजा त्रिभुवनले काँधमा बोकेर देशमा ल्याए र राजा बनाइयो । त्यो लोकतन्त्रलाई उनका छोरा महेन्द्रले खोसे ।’
पन्तले बोल्दै गर्दा राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नियमापत्ति जनाए । उनलाई जवाफ दिँदै पन्तले भने, ‘बोल्न दिनुस्, सभामुख महोदय । आफ्नो समयमा बोल्नुस् न, किन डिस्टर्ब गर्ने ? तथ्य छ भने तथ्यमा खण्डन गर्नुस् ।’
सभामुख देवराज घिमिरेले शाहीलाई समय नदिइएको बताए ।
पन्त यत्तिमै रोकिएनन् । उनले थप भने, ‘म इतिहासबाट सावित गरेर देखाइदिन्छु । इतिहासको पुस्तक पढेर आउनुस् यहाँ । इतिहास पढेर आउने... मसँग बहस गर्ने हो भने इतिहास पढेर आउने । जुम्लामा हा.. हु... गरेर आएको जस्तो होइन । इतिहास पढेर आऊ । पढेर आउनुस् न बहस गर्नलाई,’ पन्तले भने ।
सभामुख घिमिरेले राप्रपा प्रमुख सचेतक शाहीलाई समय नदिएको बताए पनि शाहीले जथाभावी बोल्न पाइन्छ ? प्रमाण छ ? भन्दै उभिइरहे । सभामुख घिमिरेले तथ्यसंगत बोल्नुपर्छ भन्ने विषयमा सांसदहरू सतर्क भएको भन्दै विधिवत् ढंगबाट प्रतिवाद गर्न भने ।
भिडियो :
प्रकाशित मिति: आइतबार, चैत ३, २०८१ १२:४५