म्याग्दीको मङ्गला गाउँपालिका–३ सातबिसेमा १० वर्ष अमेरिकामा पढेर फर्किएका एक जना युवाले व्यावसायिक केराखेती गरेका छन् । ३८ वर्षीय सुशील खड्काले जन्मथलोमा पुर्ख्यौली जग्गालाई सदुपयोग गर्न केराखेती सुरू गरेका हुन् ।
मङ्गला भेञ्चर कम्पनीमार्फत केराखेती गरेर बाँझिन थालेको खेतीयोग्य जमिनलाई सदुपयोगका साथै कृषि उद्यमबाट गाउँघरमा नै आम्दानी र रोजगारीको अवसर भएको सन्देश दिने प्रयास गरेका छन् । 'हाम्रा पुर्खाले दुई सय वर्षअघि धानखेती गर्न किनेको सातविसेको उर्वरायुक्त जग्गा बसाइँसराइ र वैदेशिक रोजगारीका कारण बाँझिन थालेपछि दुई वर्षअघि केरा रोप्दा धेरैले मलाई हाँसोको पात्र बनाए', खड्काले भने, 'जग्गा बाँझो नहोस् भनेर सुरू गरेको केराखेती राम्रो हुन थालेपछि अरूले पनि सिको गर्न थालेकामा खुसी लागेको छ ।'
अमेरिकाको भेण्डेरबिल्ट विश्वविद्यालयबाट अर्थशास्त्र र व्यवसाय विषयमा स्नाकोत्तर तथा इन्जिनियरिङमा स्नातक गरेका सुशीलले काठमाडौंमा श्रीमती सिलसिलासँगै नकुहिने फोहर प्रशोधन गरेर पुनःप्रयोग गर्ने कम्पनी सञ्चालन गरेका छन् । खड्काको सातबिसेमा एक सय रोपनी पुर्ख्यौली जग्गा छ ।
कोरोना महामारी फैलिएपछि भएको बन्दाबन्दीका समयमा उनलाई पुर्ख्यौली जग्गामा कृषि उद्यम सञ्चालन गर्ने सोच पलाएको थियो । तीन रोपनीमा एक सय ५० बोट हजारी जातको केराबाट उद्यम सुरू गरेका खड्काले हालै एक रोपनीमा नयाँ केराका बिरूवा रोपेर विस्तार गरेका छन् । केराखेतीको परीक्षण सफल भएपछि विस्तार गर्न थालेका हुन् ।
प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१ ०८:३३