कैलालीका किसानले स्थानीय जातको थारुआलु खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । पछिल्लो समयमा सयौँ किसानले थारुआलुबाट राम्रो आम्दानी गर्न थालेका हुन् ।
धनगढी उपमहानगरपालिका–६, शान्तिटोलका शेरुराम चौधरीले थारुआलु बिक्रीबाट यस वर्ष तीन लाख रुपैयाँ आम्दानी गरेको बताए । उनले यस वर्ष आठ कठ्ठामा आलु खेती गरेका थिए । ४० क्विन्टल आलु उत्पादन गरेका उनले अझै २० क्विन्टल आलु बेच्न बाँकी छ । 'यस वर्ष आलु राम्रो फलेको थियो । समयमै आलु निकालेकाले मूल्य राम्रो पाइयो । प्रतिकिलो १५० रुपैयाँमा बिक्री गरियो,' उनले भने ।
उनका अनुसार यो जातका आलु खानलाई पनि स्वादिलो र लामो समय भण्डारण गरेर राख्दा बिग्रिने डर हुँदैन । उनले तरकारी खेतीसमेत गर्ने गरेको बताए । 'सिजनअनुसारको तरकारी लगाउँछु । तरकारीखेती र आलुबाट सबै खर्च कटाएर वार्षिक ६ लाखसम्म बचत हुन्छ । तरकारी खेतीबाटै चार जनाको परिवारको घरखर्च र छोराछोरीको पढाइलेखाइ खर्च धानेको छु,' उनले भने ।
सोही ठाउँका पतिराम चौधरीले यस वर्ष २५ क्विन्टल थारुआलु उत्पादन गरेको बताए । उनले भने, 'मैले यस वर्ष सात कठ्ठा जग्गामा थारु आलु लगाएको थिएँ । आठ क्विन्टल बेचेको छु । बाँकी अब असारतिर बेच्ने गरी राखेको छु । २० क्विन्टलसम्म बिक्री गर्छौँ । बाँकी आफूले खान र बीउका लागि राख्छौँ ।'
उनले पनि आलुखेतीसँगै तरकारी खेतीसमेत गर्ने गरेको बताए । उनले तरकारी र थारूआलु बिक्रीबाट वार्षिक तीन लाख रुपैयाँसम्म बचत गर्ने गरेका छन् । सोही ठाउँका स्थानीय रवि चौधरीले यस वर्ष चार कठ्ठामा थारुआलु खेती गरेको बताए । उनले भने, 'यस वर्ष आठ क्विन्टल जति उत्पादन भएको छ । अहिले मूल्य घटेकाले बेचेका छैनौँ । मूल्य बढेपछि बिक्री गर्छौँ ।' उनले तरकारी तथा थारुआलु बिक्रीबाट वार्षिक दुई लाख आम्दानी हुने गरेको बताए ।
प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१ ०६:५०