कोशी प्रदेशको इटहरीमा फागुन २५–२७ मा ‘इस्टर्न टुरिज्म मार्ट’ आयोजना हुँदै छ । छिमेकी मुलुक भारतका प्रदेशहरू सिक्किम, बङ्गाल र विहारका साथै भुटानका पर्यटन व्यवसायीहरूसमेत सहभागी हुँदै छन् । कोभिडपछि शिथिल बनेको पूर्वी क्षेत्रको पर्यटनलाई गति दिन उक्त प्रयास भएको आयोजकले दाबी गरेका छन् । कोशी प्रदेश सरकारले २०८२ लाई पर्यटन वर्षको रूपमा मनाउने घोषणा गरेको पूर्वसन्ध्यामा इटहरीमा पर्यटन उत्सव गर्न लागिएको हो । त्यही सन्दर्भमा आयोजक समितिका सचिव, पर्यटन अध्येता तथा पर्यटन व्यवसायी वासुदेव बरालसँग शिलापत्रका लागि गरिएको कुराकानीको सम्पादित अंश:
०००
यो इस्टर्न टुरिज्म मार्ट कस्तो कार्यक्रम हो ?
कोशी प्रदेशको पर्यटनलाई एकीकृत रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको हो । हाम्रो लक्षित समूह बङ्गाल, बिहार, सिक्किम र भुटानका पर्यटन क्षेत्रका अगुवा बोलाएर प्रदेशको सम्भाव्य क्षेत्र उजागर गर्ने उचित अवसर हो ।
मार्टमा क्रेता र बिक्रेताहरू सहभागी हुन्छन् । अर्थात् पर्यटकीय सम्भाव्य क्षेत्रको पहिचान दिने गरिएका स्टलहरू हुन्छन् भने त्यसलाई रुचाउने वर्गका पर्यटकलाई आकर्षित गर्ने मेलो रहन्छ, जसका लागि पर्यटन व्यवसायी, अभियन्ता र पत्रकारहरूको टोलीले कोशी प्रदेशको सम्भावनालाई आ–आफ्नो क्षेत्रमा पुगेर फैलाउनेछन् । मैले माथि भनेका ठाउँबाट आउने व्यक्तिहरू भनेका पर्यटन क्षेत्रमै खारिएका व्यक्तिहरू आउँछन् । तिनीहरू एक प्रकारले हाम्रो ब्रान्ड एम्बासडर रहिरहनेछन् । तिनीहरूसँग हाम्रो निरन्तर सम्पर्क र व्यावसायिक साझेदारी रहन्छ । एक लाइनमा भन्दा यो हाम्रा ग्राहक तान्ने र सम्पर्क सूत्र बनाउने कार्यक्रम हो ।
मार्टमा कस्ता–कस्ता विषयहरूलाई समावेश गरिनेछ ?
पर्यटन प्याकेज किन्ने र बेच्नेको जमघट भएको हुँदा हाम्रो प्रदेशभित्रका सम्भाव्य पर्यटन क्षेत्रको प्रवर्द्धनलाई केन्द्रमा राखिनेछ । यहाँ भएका हिमाल, नदी, तलाउ, वन–जङ्गल, धार्मिक मठ–मन्दिर, झरना इत्यादिको अवलोकनसमेत गराइनेछ । यसरी हाम्रा आकर्षक गन्तव्यहरू देखाइसकेपछि उनीहरूले पनि बुझ्नेछन् कि वास्तवमै नेपालको पूर्वी भाग, त्यो पनि छिमेकमै रहेका रमणीय क्षेत्रमा आफ्नो ठाउँका मान्छेहरू पठाउन सकिन्छ । यसबाट दोहोरो लाभ पनि लिन सकिन्छ ।
अहिले उनीहरूले अन्य क्षेत्रमा पर्यटक पठाइरहेका छन् । पूर्वी भारतका व्यवसायीले नेपालको पोखरा, चितवन, लुम्बिनी मात्रै होइन कि नजिकै पनि यत्तिको सम्भावना रहेको ठाउँ छ भन्ने बुझ्नेछन् भन्ने लागेको छ ।
मेलामा कति र कस्ता व्यक्तिहरूको सहभागिता रहनेछ ?
भारत र भुटानका करिब १ सय ५० जना व्यक्तिलाई निम्ता दिइएको छ । नेपालभित्रका पनि पर्यटनसँग आबद्ध धेरै संघ, संस्थाहरूलाई आमन्त्रण गरिएको छ । यो खासमा हाम्रा लागि प्रदेशको पर्यटकीय ‘कुम्भमेला’ भने पनि हुन्छ ।
कोशी प्रदेशको पर्यटनलाई एकीकृत रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको हो । हाम्रो लक्षित समूह बङ्गाल, बिहार, सिक्किम र भुटानका पर्यटन क्षेत्रका अगुवा बोलाएर प्रदेशको सम्भाव्य क्षेत्र उजागर गर्ने उचित अवसर हो ।
कस्ता–कस्ता स्टलहरू रहन्छन् ?
स्टलहरू विभिन्न पर्यटन क्षेत्रको जानकारी दिने उद्देश्यले राखिएका हुन्छन् । निजी र सामुदायिक तवरबाट सञ्चालनमा रहेका पर्यटन गन्तव्यको जानकारी दिने स्टलहरू हुन्छन्, जसलाई हामी आयोजकले सहुलियतमा तीन दिनसम्म रहने व्यवस्था गरेका छौँ । त्यस्ता स्टलहरूले प्रदेशभित्रका सम्पूर्ण जिल्लाको प्रतिनिधित्व गर्छन्; जसले ग्रामीण, कृषि पर्यटनको प्रवर्द्धन गरिरहेको भेटिनेछ ।
यो कार्यक्रमलाई क–कसले सहयोग गरेका छन् ?
यो मूलतः नेपाल पर्यटन बोर्ड, कोशी प्रदेश सरकार र इटहरी उपमहानगरपालिकाको आयोजना हो । यसलाई हामी कोशी प्रदेशभरिका सक्रिय पर्यटन व्यवसायी सम्मिलित लुज फोरम बनाइएको छ, जसले यो सम्पूर्ण कार्यक्रमको आयोजना गर्ने जिम्मेवारी लिएको छ । यसलाई यसरी पनि भनौँ, आर्थिक रूपमै आधाआधी जिम्मेवारी वहन गरिएको हुँदा सरकार र निजीक्षेत्रको साझेदारीमा यो कार्यक्रम हुन गइरहेको हो ।
यस्ता मेला त भइहरन्छन्, मेलाबाट फाइदा हुन्छ त ?
महोत्सवबाट दुई कुराको फाइदा हुन्छ । पहिलो, हामी प्रदेशभित्रका व्यवसायीहरू संगठित हुन्छौँ । यसले पर्यटन गन्तव्य प्रवर्द्धन हुन्छ । अर्थात् हाम्रो सीप विकासमा योगदान पुुग्छ भने एकै थलोबाट यसरी प्रचार गर्दा पूर्ण शक्तिको उपयोग देखिन्छ, जसको प्रत्यक्ष प्रभाव समग्र कोशी प्रदेशकै पर्यटनमा पर्नेछ । यसले स–सानो मात्रामा हुने बजारीकरणको खर्चलाई घटाउनेछ भने हामी व्यवसायीलाई समेत बजारीकरण तथा प्रवर्द्धनका लागि खर्च गर्नुपर्ने रहेछ भन्ने चेतना जगाउनेछ ।
दोस्रो, हामी छिमेकी मुलुकहरूसँग सम्पर्क माध्यम विस्तार गर्न सफल हुनेछौँ । संगठित वा व्यक्तिगत पहलबाटै भए पनि नेटवर्कको विकास भयो भने त्यसको लाभ दुवै देशले पाउँछन् । केही गाह्रोसारो पर्दा एकअर्काको पुलको काम पनि गर्न सहयोग पुुग्छ । यसले पर्यटकको सुविधाका लागि व्यक्तिव्यक्तिबीचको सम्बन्धले ठूलो काम गर्छ ।
समग्रमा भन्दा कोशी प्रदेशका लागि यो ‘माइलस्टोन प्रोग्राम’ हो । अब हाम्रा गतिविधिले तीव्रता पाउँछन् । यो पूर्वी क्षेत्रको पर्यटन व्यवसायीलाई उत्साह भर्ने कार्यक्रम हो । यसले कोभिडले सुस्ताएको पर्यटन क्षेत्र त उक्सिन्छ नै, साथै हतोत्साहित बनेको पर्यटन क्षेत्रले पुरानो लय समात्नेसमेत विश्वास गरिएको छ । तीनै तहका सरकार र निजीक्षेत्रको साझेदारीले अपेक्षित नतिजा हासिल गर्न सकिन्छ भन्ने उदाहरण पनि हो यो इस्टर्न टुरिज्म मार्ट ।
प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१ १५:१५