नेपाली काङ्ग्रेस सूचना, सञ्चार तथा प्रचार विभागले रुपन्देहीमा राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान कार्यक्रम आयोजना गरेको थियो ।
बिहान ११ बजे होटल पौवा योगिकुटिमा आयोजना भएको कार्यक्रममा डा शेखर कोइराला, डा मिनेन्द्र रिजाल, बालकृष्ण खाँण लगायतका केन्द्रीय स्तरका नेताहरू आइपुगे।
प्रशिक्षणपश्चात् मन्तव्यको क्रममा केन्द्रीय सदस्य बालकृष्ण खाँणले संस्थापन समूह छाडेर कोइराला समूहमा आवद्ध भएको संकेत गरे ।
मन्तव्यको क्रममा नेता खाँणले आफूले आफ्नै पार्टी सभापति बोलेको आधा कुरा नबुझ्ने गरे बताए । उनले पार्टी सभापतिको बोली आफूले नबुझ्ने तथा डाक्टरहरूको संगत गर्ने आशयको अभिव्यक्ति दिएसँगै नेता कार्यकर्ताले उनी संस्थापन समूह छाडेर कोइराला समूहमा आवद्ध भएको रुपमा लिएका छन् ।
खाँणले अब आफू डाक्टर बन्न नसके पनि दुई डाक्टरहरू (डा शेखर र डा मिनेन्द्र) को संगत गर्ने बताए । उनले भने, ‘अब डाक्टर बन्न उमेरले पनि थेग्दैन, तर दुई डाक्टरहरूको संगत चाँहि गर्छु ।’
कांग्रेसको आगामी १५ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवा फेरि सभापतिको उम्मेदवार बन्न नपाउने भएपछि उनीनिकट नेताहरू नयाँ समूहमा आवद्ध हुने क्रम चलिरहेको छ । राजनीतिक जीवनभर देउवासँगै रहेका खाँण अब भने कोइराला समूहमा देखिने अवस्था आएको हो ।
त्यसो त नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा नखेपेका भए खाँण स्वयम् सभापतिको उम्मेदवार बन्ने सम्भावना थियो । तर, उनी यो प्रकरणमा जेल परे । नेता डा. कोइरालाले उनलाई थुनामै रहेका बेला पटकपटक भेटे । त्यतिबेला नै खाँण कोइरालानिकट हुन सक्ने अड्कल काटिएको थियो ।
प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१ २२:०८