गृहमन्त्री रमेश लेखकले विपद्पूर्व सूचना र विपद्पश्चात्को सूचना प्रणालीलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । बुधबार गृह मन्त्रालयमा विपद्पूर्व सूचना र विपद्पश्चात्को सूचना प्रणालीसम्बन्धी छलफल कार्यक्रममा सम्बन्धित निकायलाई गृहमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।
विपद्पूर्व सूचना र विपद्पश्चात्को सूचना सम्प्रेषणमा नेपाल टेलिकम र एनसेलको महत्त्वपूर्ण भूमिका रहेको उनले बताए । तर, अब विपद्पूर्व सूचना सम्प्रेषण गर्दा म्यासेजको ठाउँमा मोबाइलमा घण्टी बज्ने व्यवस्था प्रभावकारी हुने गृहमन्त्री लेखकको भनाइ छ ।
‘प्रत्येक पालिकाको वर्गिकरण गरेर विपद्पूर्व सूचना मोबाइलमा घण्टी बज्ने गरी सम्प्रेषण गर्दा प्रभावकारी हुन्छ । यसले मनसुनजन्य विपद्बाट पूर्वसूचित हुन सक्छौँ,’ उनले भने ।
स्थानीय तहमा विपद् प्रभावितको उद्धारका लागि स्वयंसेवक बनाए पनि उद्धारको आधारभूत जिम्मेवारी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले निरन्तर जारी राख्नुपर्ने गृहमन्त्री लेखकले बताए । विपद्पश्चात्को सूचना प्राप्त गर्न डाउन टु एप्रोचको प्रणाली पनि बनाउनुपर्ने उनको भनाइ छ ।
वडामा निर्वाचित पाँच जना प्रतिनिधिलाई विपद्पश्चात्को सूचना दिने जिम्मेवार बनाउनुपर्ने गरी एउटा संयन्त्र बनाउनुपर्ने गृहमन्त्री लेखकले बताए । ‘अफ डाउन’को सूचना संयन्त्र बनाउनु सक्दा विपद्पूर्व र पश्चात्को सूचना सम्प्रेषण प्रभावकारी हुने उनको भनाइ छ । ‘असारबाट मनसुनजन्य जोखिम सुरु हुन्छ । त्यो बेलासम्म सूचना प्रणालीलाई राम्रो बनाउनुपर्छ । पूर्वसूचना प्राप्त नहुने खालका विपद्बारे डाउन टु एप्रोचको प्रणाली राम्रो नाउन वडामै जानुपर्छ,’ उनले भने ।
प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१ १६:३०