चितवनको सहारा बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन मुद्दामा थुनछेक बहस नसकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक रवि लामिछानेसहितका अभियुक्तलाई हिरासत पठाइएको छ ।
जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको इजलासले थुनछेक बहस नसकिँदासम्म उनीहरूलाई हिरासतमा राख्न आदेश गरेको हो ।
सहारा सहकारी ठगी मुद्दामा बुधबार लामिछानेको बयान सकिएर थुनछेक बहस सुरु भएको छ । उनीविरुद्ध मंगलबार मुद्दा दर्ता भएको थियो । बुधबार उनी कार्यालय समयमै जिल्ला अदालत चितवनमा हाजिर भएका थिए ।
थुनछेक बहसमा रविका तर्फबाट बहस गर्न एक वरिष्ठ अधिवक्तासहित ६ जना र सहकारी पीडितका तर्फबाट एक वरिष्ठ अधिवक्तासहित चार जना अधिवक्ताले वकालतनामा दर्ता गराएका छन् । यो मुद्दामा सरकारी वकिलले पनि बहस गर्नेछन् ।
प्रकाशित मिति: बुधबार, माघ २३, २०८१ १७:२३