२५ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित बुढासुब्बा गोल्डकपमा चर्च ब्वाइज युनाइटेडले विजय यात्रा सुरु गरेको छ । धरानमा शनिबार सुरु भएको प्रतियोगितामा चर्च ब्वाइज युनाइटेडले नेपाल पुलिस क्लबलाई १–० को गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
पहिलो हाफसम्म दुवै टिमले गोलरहित बराबर खेलेका थिए । खेलको दोस्रो हाफ सुरु भएको दोस्रो मिनेट मै चर्च ब्वाइजका जर्सी नम्बर १८ का सन्तोष खत्रीले गरेको गोल नै निर्णायक बन्यो । खेलमा थप गोल हुन सकेन । र, चारपटकको विजेता नेपाल पुलिसलाई हराउँदै चर्च ब्वाइजले खेल आफ्नो पक्षमा पारेको हो । उनै खत्री खेलको म्यान अफ द म्याचसमेत बने ।
आइतबार आयोजक धरान फुटबल क्लब र भारतको यूकेएफसीबीच खेल हुनेछ । प्रतियोगितामा कुल ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा चर्च ब्वाइज युनाइटेट र नेपाल पुलिस क्लबले खेलिसकेका छन् ।
अब, एनआरटी क्लब, नेपाल पुलिस क्लब, केएफटीसी झापा, राजा क्लब इटहरी, यूकेएफसी भारत, एरटीसीएफसी भुटान र आयोजक धरान फुटबल क्लबको खेल हुनेछ । प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्णबहादुर बस्नेतले गरेका थिए ।
प्रकाशित मिति: शनिबार, माघ १९, २०८१ १७:४८