प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस-एमाले गठबन्धनको सरकार २०८४ सालसम्मै टिक्ने बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार २०८४ सम्म टसमस नगर्ने बताएका हुन् । सरकार ढल्न लाग्यो भनेर विपक्षीहरूले नचाहिँदो हल्ला फैलाइरहेको भन्दै प्रधानमन्त्री ओलीले ढलेँ-ढलेँ भन्ने गीत पार्टी उत्सवमा मात्रै सुहाउने तर राजनीतिमा नसुहाउने बताए ।
प्रधानमन्त्री ओलीले विपक्षी दलहरूले सरकार ढल्छ भनेर आफ्नो समय व्यर्थै फालेको बताए । ‘विपक्षीमा रहेका साथीहरूले एउटा कुरामा आफ्नो समय व्यर्थै खेर फालेजस्तो लागिरहेको छ– ‘सरकार ढल्छ । ढल्नै लाग्यो । पुस मसान्त, माघे संक्रान्ति काट्दैन । आदि इत्यादि,’ उनले भने,‘‘ढलें–ढलें, ढलें–ढलें म त...’ यो ‘गीत’ अति नै गाइयो । यो ‘गीत’ मनोरञ्जन पार्टी/उत्सवहरूमा सुहाउला, राजनीतिमा सुहाउँदैन ।’
सरकार बनाउने र हटाउने थलो सम्मानित सदन भएको बताए । ‘सरकार बनाउने र हटाउने थलो यही सम्मानित सदन हो, अन्त कतै होइन । दिनरातै यस्ता हल्ला गरेर आगामी तीन वर्ष बिताउनु जनताका लागि के फाइदा ? देशका लागि के फाइदा ? बरु दैलेखमा उत्खनन् सफल भएको इन्धनको कुरा गर्नुस्, नागढुङ्गाको सुरुङमा कहिले यातायात चल्छ भन्ने प्रश्न गर्नुस्, भर्खरै ब्रेक थ्रु भएको किमाथांका–जोगवनी सडकले चीन र भारत जोडिंदा के फाइदा हुन्छ, त्यसको कुरा गर्नुस् । सरकारको म्युजिकल चेयर गेम भन्दा त जनताको जीवनमा त्यसले पो अर्थ राख्ला कि,’ उनले भने ।
प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१ १४:३३