नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिँदै आएका उपमहासचिव जनार्दन शर्माले विद्यार्थीको चुनावबाट थप धक्का दिएका छन् ।
माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको सम्मेलन सुरु भएको पाँच महिनामा आएको चुनावी परिणामले प्रचण्डलाई धक्का लागेको छ ।
चुनावमा हेडक्वार्टरनिकट भनेर प्रचार गरिएका अधिकांश पदाधिकारी पराजित भएका छन् । उपाध्यक्षमा शर्मापक्षले धेरै सिट जितेको छ । उपाध्यक्षमा ममता अधिकारी, अटल आचार्य, मदन ढकाल, विराज थापा, दीपा जैशी, ममता अधिकारी, सन्दीप पुन, कृष्णबहादुर सुनार, अभिमन्यु यादव र उमेश कंडेल निर्वाचित भएका छन् । यीमध्ये अधिकारी, पुन, सुनार, यादव र कँडेल शर्मापक्षका हुन् । यस्तै आचार्य प्रचण्डनिकट हुन् । ढकाल, जैशी र थापा स्वतन्त्र हुन् ।
महासचिवमा शर्मापक्षका रोशन थापामगर, ९ उपमहासचिवमध्ये सात, ११ सचिवमध्ये ६ जना र एक काेषाध्यक्ष निर्वाचित भएका छन् । यसरी हेर्दा पार्टीमा एकल्याइँदा पनि प्रचण्डलाई चुनौती दिइरहेका शर्माले क्रान्तिकारीको चुनावबाट थप शक्ति आर्जन गरेको देखिएको छ ।
अध्यक्षमा भने हेडक्वार्टरनिकट मानिएका विजय सापकोटाकाे अग्रता छ । उपमहासचिवमा एक जना नारायणकाजी श्रेष्ठनिकट र एक जना वर्षमान पुननिकट विजयी भएका छन् । हेडक्वार्टर भने शून्य भएको छ ।
क्रान्तिकारीको चुनावमा पार्टीका बहुमत पदाधिकारीहरू अध्यक्ष प्रचण्डसँग मिल्दा पनि शर्मा एक्लैले विद्यार्थीमा बहुमत ल्याएका छन् । अखिल क्रान्तिकारीकाे चुनावमा शर्माको प्यानल, वर्षमान पुनकाे प्यानल, नारायणकाजी श्रेष्ठको प्यानल र हेडक्वार्टरकाे प्यानल होमिएका थिए, जसमा शर्माको प्यानलले अरुलाई पाखा लगाइदिएको छ ।
महासचिवमा शर्मानिकट रोशन थापामगर विजयी भएका छन् । थापामगरले ६०१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी सञ्जय महतोले ४१० मत प्राप्त गरेका छन् । महतो हेडक्वार्टरनिकट भनेर प्रचार गरिएका थिए ।
थापामगरले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट आर्किटेक्टतर्फ स्नातक गरेका छन् भने त्यसै क्याम्पसबाट शहरी योजनामा स्नातकोत्तर पनि हुन् । उनी क्रान्तिकारीमा सचिव थिए । पहिला पुल्चोक इन्जिनियरिङ क्याम्पसमा स्ववियु सभापति थिए ।
महासचिवमा थापामगरसँगै तिर्सना हमाल, पदमप्रसाद काफ्ले, प्रतीक कार्की, शिव बस्नेत, श्यामबहादुर रोक्का, सञ्जयकुमार महतो र सञ्जीव फुयाँल प्रतिस्पर्धामा थिए । उपमहासचिवमा कोशी प्रदेशबाट विपिन पोखरेलले ८३१ मत ल्याएर विजयी भएका छन् । मधेश प्रदेशबाट गजेन्द्र यादव विजयी भएका छन् । उनले ४०७ मत ल्याएका छन् ।
बागमती प्रदेशबाट निर्मला गौतम विजयी भएकी छिन् । उनी ८०७ मत ल्याएर विजयी भएकी हुन् । गण्डकीबाट भगवान् बाँस्तोला विजयी भएका छन् । उनले ७६९ मत ल्याएका छन् । लुम्बिनीबाट रेशम अधिकारी विजयी भएका छन् । उनले ६२८ मत ल्याएका छन् ।
कर्णालीबाट प्रकाश अधिकारी विजयी भएका छन् । उनले ६०४ मत ल्याएर विजयी भएका हुन् । सुदूरपश्चिमबाट रामचन्द्र भट्ट विजयी भएका छन् । उनले ३९९ मत ल्याएका छन् । उपत्यका विशेषबाट निरोज श्रैष्ठ विजयी भएका छन् । उनले ४०६ मत ल्याएका छन् ।
विश्वविद्यालयबाट जटिल कार्की विजयी भएका छन् । उनले ६६८ मत ल्याएका छन् ।
यादव,गौतम, बाँस्तोला, अधिकारी, भट्ट, अधिकारी र कार्की शर्मानिकट हुन् । नौवटा उपमहासचिवमा सातवटा उपमहासचिव शर्मा प्यानलबाट विजयी भएका छन् । पोखरेल उपमहासचिव वर्षमान पुननिकट हुन् । श्रेष्ठ वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठनिकट हुन्, जसमा कोषाध्यक्षमा फुलमाया रानामगर (खुसी) निर्वाचित भएकी छन् । फुलमायाले ५९६ मत ल्याएकी छिन् । उनी शर्माको टिमबाट कोषाध्यक्षमा उम्मेदवार बनेकी हुन् ।
यस्तै, सचिव खुलामा सम्झना राई, प्रेम जैशी (मामा), वीरेन्द्र जीसी, शिशिर बस्याल निर्वाचित भएका छन् । राईले खुलातर्फको सचिवमा सर्वाधिक मत ५४५ ल्याएकी छन् भने जैशीले ५११, जीसीले ३९२ र बस्यालले ३७२ मत प्राप्त गरेका छन् ।
चार जना सचिवमा जीसी र राई शर्मानिकट हुन् । जैशी उपमहासचिव वर्षमान पुननिकट हुन् । बस्याल महासचिव देव गुरुङनिकट हुन् । यसैगरी, सचिव छात्रातर्फ तिर्सना आलेमगर ४९८ मतसहित निर्वाचित भएकी छन् भने समकृति पुन ५२९ मत ल्याएर विजयी भएकी छन् । पुन शर्मानिकट र आलेमगर वरिष्ठ उपाध्यक्ष श्रेष्ठनिकट हुन् ।
जनजातितर्फ आर्टिस्ट मोक्तान ४१५ मत ल्याएर विजयी भएका छन् । मोक्तान पनि शर्मानिकट हुन् । दलिततर्फ आशा उपरकोटीले सर्वाधिक ७४६ मत ल्याएर विजयी भएकी छन् । उनी हेडक्वार्टरनिकट हुन् ।
यस्तै, मधेशमा अमर मण्डल ४६० मत प्राप्त गर्दै विजयी भएका छन् । खस आर्यमा ६१४ मत प्राप्त गर्दै जितेन्द्र भण्डारी र शहीद सन्ततितर्फ युन्छो हाङ मावो ५१० मत प्राप्त गर्दै निर्वाचित भएका छन् । यसमा मण्डल, मावो शर्मानिकट हुन् भने भण्डारी हेडक्वार्टरनिकट हुन् ।
उपमहासचिव पुननिकट विद्यार्थीको पदाधिकारीमा एक उपमहासचिव र एक सचिव जितेका छन् । माओवादीको महाधिवेशनताका माओवादीमा सबैभन्दा बलियो गुट पुनको मानिन्थ्यो । तर, बिस्तारै पुनको गुट कमजोर हुँदै गयो । यता शर्माको गुट बलियो हुँदै थियो ।
विद्यार्थीको निर्वाचनसम्म आइपुग्दा पुनको गुट छिन्नभिन्न भएको छ । शर्माको गुट बलियो भएको छ । अर्का उपमहासचिव शक्ति बस्नेतले असन्तुष्टहरूलाई जम्मा गरेर नयाँ गुट बनाएका छन् । तर, उनको गुटले पनि विद्यार्थी चुनावमा प्रभाव देखाउन सकेन ।
पुनले सुदिन पौडेल र बस्नेतले विजय सापकोटालाई अध्यक्षमा अगाडि सारेपछि दुवै नेताबीच दूरी बढेको छ । बस्नेतले सापकोटालाई अध्यक्ष प्रचण्डको (हेडक्वार्टर) को समर्थन रहेको भनेर प्रचारप्रसार गरेका थिए ।
शर्मा अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म प्यानल बनाएर चुनावमा होमिए । अध्यक्षमा हेमन्त राई, महासचिवमा थापामगर र कोषाध्यक्षमा राना मगरलाई उम्मेदवार थिए ।
प्रकाशित मिति: बुधबार, माघ १६, २०८१ २०:१८