भारतमा भएको रेल दुर्घटनामा अछामका एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ ।
पञ्चदेवल विनायक नगपालिका– ४, कालिकास्थानका नन्दाराम विक, उनकी श्रीमती मैसरा र छोरा हिमु तथा कलबजार नगरपालिका–४, चाल्साकी जयकला कामीको मृत्यु भएको हो । पञ्चदेवल विनायक नगपालिका–४ का वडाअध्यक्ष हर्कबहादुर बडुवालले एकै परिवारका तीन जनाको मृत्यु भएको जानकारी दिए ।
‘नन्दराम पहिलेदेखि नै भारतमै काम गर्दै आएका थिए,’ वडाध्यक्ष बडुवालले भने, ‘श्रीमती र छोरालाई पनि सँगै राख्ने योजनासहित उनीहरूलाई नेपालगञ्ज बोलाएर आफू पनि महाराष्ट्रबाट त्यहाँ पुगेका रहेछन् । नेपालगञ्जहुँदै सोमबार लखउबाट सपरिवार महाराष्ट्र गएका उनीहरूको रेल दुर्घटनामा मृत्यु भएको हो ।’ तीनै जनाको दाहसंस्कार भारतमै गर्ने जानकारी आएको वडाध्यक्ष बडुवालले बताए ।
यस्तै, रेल दुर्घटनामै ज्यान गुमाएकी चाल्साकी जयकला पनि नन्दरामकी नातेदार हुन् । ४ नम्बरका वडाध्यक्ष मीनबहादुर साउदका अनुसार जयकला पनि नेपालगञ्ज हुँदै लखउनबाट महाराष्ट्रतर्फ जान लागेकी थिइन् । ‘जयकलाका छोरा बुहारी भारतमै बस्ने गरेका थिए,’ वडाध्यक्ष साउदले भने, ‘आफू बिरामी पनि भएकाले उपचारका लागि त्यहाँ गइरहेकी थिइन् । उनीसँगै गएका अन्य दुई जना बालक पनि रेल दुर्घटनामा घाइते भएका छन् ।’
यसैगरी, रेल दुर्घटनामै कैलालीको मोहन्याल गाउँपालिका–६, सोल्टाकी ४३ वर्षीया कमला भण्डारीको पनि मृत्यु भएको छ । बुधबार भएको रेल दुर्घटनामा परी कमलाको मृत्यु भएको उनका भतिजा दीपेन्द्र भण्डारीले पुष्टि गरे । दीपेन्द्रका अनुसार कमलासँगै उनकी बुहारी राधा पनि थिइन् । उनीहरू सोमबार लखनउबाट महाराष्ट्रका लागि रेलमा गएका थिए ।
मोहन्याल गाउँपालिका- ६ का वडाध्यक्ष कृष्णबहादुर शाहीका अनुसार रेल्वे कम्पनीले कमलाको शव नेपाल पठाइदिने खबर प्राप्त भएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१ १०:५१