नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधिका लागि जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ । यी दुई टिमबीचको उपाधि भिडन्त शनिबार (आज) कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्याह्न १२ बजेर ३० मिनेटमा सुरु हुनेछ ।
दुवै टिमको दाउ पहिलो संस्करणको एनपीएलको ऐतिहासिक ट्रफी जित्नेमा हुनेछ । सुदूरपश्चिम रोयल्स जनकपुर बोल्ट्समाथि ह्याटिक जित दर्ता गर्दै उपाधि उचाल्ने रणनीतिका साथ मैदान उत्रिनेछ । उता जनकपुर बोल्ट्स भने सुदूरपश्चिम रोयल्ससँग लगातार दुई खेलमा ब्यहोरेको हारको बदला लिँदै ट्रफी आफ्नो पोल्टामा पार्ने दाउमा हुनेछ ।
फाइनलअघि आयोजित पत्रकार सम्मेलनमा जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले फाइनलका लागि तयार भएको र यसअघिका खेलमा देखिएका गल्तीलाई सुधारेर खेल्ने बताएका छन् । उनले पछिल्ला दुई खेलमा राम्रो खेल्न नसकेको र फाइनल भने आफ्नो वेष्ट दिने बताए ।
सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले लिग र पहिलो क्वालिफायरमा जनकपुरलाई दुई पटक हराएको भए पनि फाइनलमा हल्का रूपले नलिने बताए । ' लिग चरणमा हामीले दुईपटक हराएका छौँ । तर, फाइनलमा हामी जनकपुरलाई हल्का रूपमा लिँदैनौँ किन भने जनकपुर राम्रो टिम हो र ऊसँग खेल्न गाह्रो नै हुन्छ,' उनले भने ।
सुदूरपश्चिम पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । जनकपुर बोल्ट्सले भने दोस्रो क्वालिफायरमा कर्णाली याक्समाथि २ विकेटको रोमाञ्चक जित हात पार्दै सुदूरपश्चिम रोयल्ससँगको उपाधि भिडन्त पक्का गरेको थियो ।
इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै दोस्रो क्वालिफायरमा प्रवेश गरेको कर्णालीलाई पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग स्तब्ध भएको जनकपुर बोल्ट्सले हराएको थियो । सुदूरपश्चिमले लिग चरणका ७ मध्ये ६ खेलमा जित हात पारेको थियो । लिग चरण र पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई हराएको थियो । जनकपुर बोल्ट्सले भने लिग चरणमा ७ मध्ये ५ खेलमा जित हासिल गरेको थियो ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भएको एनपीएलको विजेताले १ करोड १० लाख रुपैयाँ पुस्कार पाउनेछ । एनपीएलको उपविजेताले भने ५१ लाख रुपैयाँमा चित्त बुझाउनुपर्नेछ । एनपीएलमा तेस्रो भएको कर्णाली याक्सले २५ लाख र चौथो भएको चितवन राइनोजले १५ लाख रुपैयाँ पाउने पक्का भएको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुने एक जना खेलाडीले ओमोडाको कार पुरस्कार पाउने क्यानले यसअघि नै घोषणा गरिसकेको छ ।
प्रकाशित मिति: शनिबार, पुस ६, २०८१ ०६:३३