ग्लोबल आईएमई बैंकले ५.५ प्रतिशत बोनस शेयर दिने भएको छ । बैंकको बिहीबार सम्पन्न १८औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।
सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफा तथा पुँजी समायोजन कोषसमेतबाट आफ्ना शेयरधनीहरूलाई बैंकले प्रस्ताव गरेको ५.५ प्रतिशत बोनस शेयर दिने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो । त्यस्तै, सभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरणलाई अनुमोदन गर्दै बोनस शेयर वितरणपश्चात् कायम हुने पुँजीवृद्धिको हदसम्म हुने गरी प्रबन्धपत्र र नियमावली संशोधनको प्रस्ताव पनि पारित गरेको छ ।
बैंकले आर्थिक वर्ष २०८०/८१ मा १२ अर्ब ४८ करोड रुपैयाँ सञ्चालन मुनाफा र ६ अर्ब १३ करोड रुपैयाँ करपछिको मुनाफा आर्जन गरेको थियो । प्रस्तावित बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ पुग्नेछ ।
साधारणसभामा अध्यक्ष ढकालले बैंकले नेपाल सरकार र नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरूको पूर्ण परिपालना गर्दै शेयरधनीहरूलाई उचित लाभांश प्रदान गर्न बैंक प्रतिबद्ध रहेको बताए । साथै, बैंकले आफ्नो व्यावसायिक रणनीतिक योजनाअन्तर्गत नयाँ व्यावसायिक क्षेत्रहरूको सन्तुलित विस्तार गर्दै जाने योजना रहेको पनि उनले बताए ।
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१ १६:५२