नेपाली कांग्रेसको १०० दिने अभियान ७ असोजमा सुरु भएर १६ पुसमा सकिनुपर्ने हो । तर, ११, १२ र १३ असोजमा वर्षाले वितण्डा मच्चाएपछि अभियान स्थगित भएको थियो । स्थगित अभियानलाई छठपछि निरन्तरता दिइयो । अहिले कांग्रेसको विशेष अभियान देशैभर चलिरहेको पार्टी मुख्यालयका मुख्य सचिव कृष्ण पौडेल बताउँछन् ।
कांग्रेसले संगठन सुदृढीकरण अभियानअन्तर्गत विशेष अभियान सञ्चालन गरेको हो । त्यसका लागि केन्द्रीय समितिले जिम्मा दिएर केन्द्रीय प्रतिनिधिहरू तोकेर पठाएको थियो । ती प्रतिनिधिहरूले केन्द्रीय समितिले तोकेको जिम्मेवारीअनुसार पार्टीको वडा तहदेखि जिल्लासम्मका गतिविधि चलायमान बनाउँदै क्रियाशील सदस्यता वितरण तथा नवीकरणका लागि सहजीकरण गर्नुपर्नेछ । पार्टीको १०० दिने विशेष अभियानमा खटिने प्रतिनिधिलाई कांग्रेस नेतृत्वले पार्टी केन्द्रीय कार्यालयमा अभिमूखीकरणसमेत गराएर फिल्डमा खटाएको थियो ।
१६ पुसमा अभियान सकिने भनिए पनि बीचबीचमा रोकिएकाले कहिले अन्त्य हुन्छ भन्ने टुङ्गो छैन । ‘अभियान सुरु गर्दा एउटा मिति तोकिएको थियो । तर, बीचमा अवरोध भएकाले कहिले अन्त्य गर्ने भन्ने विषयमा पार्टीको बैठक बसेर निर्णय गर्नुपर्नेछ । बैठकबाट टुङ्गो लगाउँछौँ,’ मुख्य सचिव पौडेलले शिलापत्रसँग भने ।
जिल्लाबाट काम सकेर फर्किंदा प्रतिनिधिहरूले केन्द्रीय कार्यालयमा प्रतिवेदन पेस गर्नुपर्नेछ । अभियानअन्तर्गत खटिएका प्रतिनिधिले वडा, पालिका, जिल्लाको बैठक बस्न नसकेको भए बैठक नियमित बस्ने वातावरण बनाउनुपर्नेछ भने विभिन्न तहका कार्यसमितिलाई वार्षिक कार्यतालिका बनाउन पनि लगाउनुपर्नेछ ।
अभियानबाट कार्यकर्तामा उत्साह सञ्चार भएको चितवनमा खटिएका केन्द्रीय सदस्य मधु आचार्य बताउँछन् । ‘पार्टीमा असन्तुष्टि देखाएर राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि लागेका थिए । उनीहरूको घर फर्किने क्रम सुरु भएको छ । ठूलो प्रभाव नेपाली कांग्रेसले कोहीसँग गठबन्धन गर्दैन, महामसमितिले निर्णय लियो, त्यसपछि चितवनका कांग्रेस कार्यकर्ता उत्साही भएका छन्,’ उनले शिलापत्रसँग भने, ‘कहिले प्रचण्डलाई भोट हाल भन्ने, कहिले उनकी छोरीलाई भोट हाल भन्ने, कहिले राप्रपाका विक्रम पाण्डेलाई भोट हाल भन्ने गर्दा साथीहरू वाक्क भएर विचलित थिए । अहिले हामीले खोजेको ठाउँ बल्ल पार्टी आयो, अब पार्टीमा जोडिएर काम गर्छौं भन्ने माहौल देखिएको छ ।’
विभिन्न कारणले रोकिएको अभियानलाई ७ फागुनसम्म निरन्तरता दिन चितवनका कार्यकर्ताले आग्रह गरेका छन् । ‘जिल्लाको अनुरोधअनुसार जाने आउने गरेर ७ फागुनसम्म निरन्तरता दिनेछु,’ आचार्यले भने । सयदिने अभियानमा सदस्यता विशेष अभियानका रूपमा ‘सदस्यता घरआँगन अभियान’ सञ्चालन गरिएको छ ।
कांग्रेस रुपान्तरणको आयामको रूपमा यो अभियानलाई कांग्रेसमा लिइएको छ । वडा कार्यसमितिले कसलाई क्रियाशील सदस्य दिने हो भनेर तयार गरेको सूचीले मात्र सदस्यता पाउने थियो । सदस्यता सीमित घेरामा नभएर खुला भएर जानुपर्छ भनेर सदस्यता घरआँगन अभियान चलाइएको हो । ‘अब सदस्यता घरआँगनमै दिन आयौँ । सदस्यता खुला भयो है भन्ने सन्देश दिने हो । सदस्यता लिन चाहनेलाई अभियानमा खुला रूपमा सदस्यता दिन्छौँ,’ आचार्यले भने ।
क्रियाशील सदस्यतापत्र पुगे/नपुगेको अभिलेख राख्ने, सदस्यतापत्र वितरण नभएको भए केन्द्रीय प्रतिनिधिले वितरणको व्यवस्था गर्नुपर्नेछ । ‘क्रियाशील सदस्यता नवीकरण फारम प्राप्त भए/नभएको, प्राप्त भएर पनि वितरण भए/नभएको सबै अवस्था विश्लेषण गरी तत्काल नवीकरण प्रक्रिया अगाडि बढाउने, जुन तहमा क्रियाशील नवीकरण सदस्यता फारम रोकिएको छ, सो खुलाई कुनै समस्या भए फुकाउने र वितरण सुनिश्चित गर्ने,’ प्रतिनिधिलाई केन्द्रीय कार्यालयबाट दिइएको कार्यादेशमा भनिएको छ ।
मंसिर २०८२ मा हुने पार्टीको १५औँ महाधिवेशनको तयारीस्वरूप नै कांग्रेसले अहिले सयदिने सांगठनिक अभियान सुरु गरेको हो । महाधिवेशन निर्धारित समयमै हुने सुनिश्चितताका लागि पनि यो अभियान महत्त्वपूर्ण हुने र यसले क्रियाशील सदस्यता बढाउन पनि सहयोग पुग्ने कांग्रेस नेताहरू बताउँछन् ।
सांसद तथा केन्द्रीय सदस्य सञ्जय गौतम अर्घाखाँचीमा खटिएका छन् । अभियानबाट संगठनमा सुधार आउन सघाउ पुर्याएको उनको अनुभव छ । ‘निराशा छ, त्यसलाई चिर्न गाह्रो छ । संगठन सुषुप्त अवस्थामा छ । सबै ठाउँको एउटै समस्या हो,’ गौतमले शिलापत्रसँग भने, ‘सकारात्मक बनाउने प्रयास हाम्रो छ, गरिरहेका छौँ । साथीहरूलाई ऊर्जा भर्ने कोसिस गरिरहेका छौँ । स्थानीयस्तरमा पनि राष्ट्रिय राजनीतिको छाया परिहाल्छ ।’
केन्द्रीय प्रतिनिधिले भ्रातृ तथा शुभेच्छुक संस्थामा रहेका समस्या समाधान गर्ने जिम्मा पनि पाएका छन् । भ्रातृ एवं शुभेच्छुक संस्थामा विवाद भए त्यसको प्रकृति निर्क्योल गरी समाधानका लागि समन्वय गर्नुपर्नेछ । कांग्रेस र नेकपा एमालेबीच भएको सत्ता सहकार्य, महासमितिबाट पारित दस्तावेज र पार्टीले लिएका मुख्य–मुख्य नीति, संविधान संशोधन, सहकारी ठगी प्रकरणमा पार्टीले लिएको अडानलगायत विषयमा पनि प्रतिनिधिहरूले पार्टीका आमकार्यकर्ता तथा सदस्यहरूलाई जानकारी गराउनुपर्नेछ ।
कतिपय जिल्लामा भने गुटगत समस्या सतहमा देखिएको छ । विशेष गरी मधेश प्रदेशका जिल्लाहरूमा केन्द्रीय प्रतिनिधिहरूले काम गर्ने वातावरण पाएका छैनन् । ‘जिल्लामा गुट र उपगुटको समस्या धेरै छ । कहिले जाला केन्द्रीय प्रतिनिधि भनेर व्यवहार गर्छन् । काम गर्न गाह्रो छ,’ मधेश प्रदेशमा खटिएका एक केन्द्रीय प्रतिनिधिले शिलापत्रसँग भने । यस्तो व्यवहार भए पनि केन्द्रलाई जानकारी गराउनुपर्ने केन्द्रीय सदस्य आचार्य बताउँछन् ।
जिल्लामा खटिएका प्रतिनिधिलाई समसामयिक विषयमा समेत पार्टीपङ्क्तिलाई जानकारी गराउने कार्यादेश दिइएको छ । त्यस्तै, पार्टीको तर्फबाट जितेका स्थानीय तहका जनप्रतिनिधिसँग संवाद गर्न र समन्वयका लागि हरेक स्थानीय तहमा समन्वय र सहजीकरण गर्ने संयन्त्र गठन गर्ने कांग्रेसले जानकारी गराएको छ । अभियानबाट आएका सुझावलाई पार्टीभित्र छलफल गरिने र सम्बोधनका लागि रणनीति तय गर्ने काम कांग्रेसले गर्नेछ ।
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१ १८:४५