अमेरिकी राष्ट्रपति निर्वाचनमा मतदान हुन केही घन्टा बाँकी रहँदा डोनाल्ड ट्रम्प र कमला ह्यारिसमध्ये कसले जित हात पार्छ भनेर अनुमान गर्न कठिन छ । दुवै उम्मेदवारबीच बराबरीको प्रतिस्पर्धा देखिएको छ, जसले सातवटा स्विङ्ग स्टेटमा जित हात पार्छ, उसले नै आगामी चार वर्षका लागि ह्वाइट हाउसको यात्रा तय गर्ने निश्चित छ ।
चुनावी प्रचार अन्तिम चरणमा रहँदा दुवै उम्मेदवारले प्रचारमा आफ्नो सम्पूर्ण शक्ति लगाएका छन् । अर्थव्यवस्था, महँगी, आप्रवासन, गर्भपतनजस्ता विषय चुनावका मुख्य मुद्दा छन् । तर, दुवै उम्मेदवार एकअर्काविरुद्ध चर्को आलोचनामा उत्रिएका छन् ।
डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले ट्रम्प राष्ट्रपति बनेमा प्रतिशोधको सूची लिएर जाने र आफू राष्ट्रपति भएमा जनताका कामका प्राथमिकताको सूची लिएर जाने दाबी गरेकी छन् । उनले आफूलाई मत नहाल्नेहरू आफ्ना दुस्मन नभएको बताएकी छन् । ट्रम्प भने आफ्ना विरोधीसँग आक्रामक देखिएका छन् ।
चुनावको दिन आउनुअघि नै अमेरिकाका ७ करोड ६० लाख मतदाताले भोट हालिसकेका छन् । सर्वेक्षणले यस्तो अग्रिम मतदानमा कमला ह्यारिस अघि रहेको देखाएका छन् । तर, प्रतिस्पर्धा यति कडा छ कि कुनै पनि सर्वेक्षणले आगामी राष्ट्रपति को हुन्छ भनेर भन्न सकेको अवस्था छैन । चुनावको अन्तिम साता भएका केही सर्वेक्षणले कमला ह्यारिसलाई अगाडि देखाएका छन् भने केही सर्वेक्षणमा ट्रम्प अगाडि देखिएका छन् ।
एजेन्सी ५३८ को सर्वेक्षणमा कमला १.२ प्रतिशतले अगाडि देखिएकी छन् । तर, एटलस इन्टेलको सर्वेक्षणले डोनाल्ड ट्रम्पलाई १ देखि २ प्रतिशत अगाडि देखाएको छ । अर्कोतिर टिपइनसाइड सर्भेले दुवै उम्मेदवारबीच बराबरीको प्रतिस्पर्धा रहेको देखाएको छ । यी सर्वेक्षणलाई आधार मान्ने हो भने ट्रम्प र ह्यारिसलाई लिएर अमेरिका दुई भागमा बाँडिएको देखिन्छ ।
त्यसैले अमेरिकाको आगामी राष्ट्रपति को हुन्छ भन्ने निर्णय सातवटा स्विङ्ग स्टेटले गर्नेछन् । अमेरिकामा ५० वटा राज्य छन् । सन् १९९० को दशकदेखिको भोटिङ ट्रेन्डले यी राज्यलाई रिपब्लिकन र डेमोक्र्याट राज्यमा बाँडेको छ ।
रिपब्लिकनले जित्ने राज्यलाई रेड स्टेट र डेमोक्र्याटले जित्ने निश्चित भएका राज्यलाई ब्लु स्टेट भनिन्छ । अलबामा, अलस्का, आयोवा, कानसास, लुसियाना, मिसिसिपी, मिसौरी, मोन्टाना, नेब्रास्का, ओरेगन, टेक्सास, वेस्ट भर्जिनिया, साउथ क्यारोलिना रेड स्टेट हुन्, जहाँ ट्रम्पले जित्ने निश्चित छ ।
क्यालिफोर्निया, कोलोराडो, डेलावेयर, हवाई, इलिनोइस, मेरिल्यान्ड, न्युजर्सी, न्यु ह्याम्पसायर, न्युयोर्क, भर्जिनिया, मासाच्युसेट्स र वासिङ्गटन ब्लु स्टेट हुन् । यहाँ डेमोक्र्याट पार्टीले चुनाव जित्ने निश्चित छ । त्यसैले पछिल्लो समयमा स्विङ्ग स्टेटको महत्त्व बढेको हो ।
कुनै एक उम्मेदवार वा पार्टीको पक्षमा लगातार मत नहाली नतिजा फेरबदल भइरहने राज्य स्विङ्ग स्टेट हुन् । यी राज्यमा जसको पल्ला भारी हुन्छ, त्यही उम्मेदवार राष्ट्रपति बन्नेछ । यी राज्य हुन्– पेन्सिलभेनिया, नर्थ क्यारोलिना, विस्कन्सिन, नेभाडा, एरिजोना, जर्जिया र मिसिगन । पेन्सिलभेनियामा १९, नर्थ क्यारोलिनामा १६, विस्कन्सिनमा १०, नेभाडामा ६, एरिजोनामा ११, जर्जियामा १६ र मिसिगनमा १५ इलेक्टोरल भोट छन् ।
त्यसैले चुनाव प्रचारको अन्तिम चरणमा दुवै उम्मेदवार यी स्विङ्ग राज्यमा केन्द्रित छन् । पेन्सिलभेनिया, नर्थ क्यारोलिनामा न्युयोर्क टाइम्स र एबीसी दुवैको सर्वेक्षणमा डोनाल्ड ट्रम्प अघि देखिएका छन् । विस्कन्सिनमा कमला अघि देखिएकी छन् भने नेभाडामा दुवै सर्वेक्षणमा दुवै उम्मेदवारले ४७–४७ प्रतिशत ल्याउने देखिएको छ ।
एरिजोनामा ट्रम्प असाध्यै झिनो अन्तरले अघि छन् । तर, मिसिगनमा कमला ह्यारिसको अग्रता देखिन्छ । जर्जियामा ट्रम्प झिनो रूपमा अगाडि देखिन्छन् । यी राज्यमा कुनै उम्मेदवारले जित्नु भनेको त्यहाँका सबै इलेक्टोरल मत जित्नु हो । त्यसैले दुवै उम्मेदवारले मतदातालाई आफ्नो पक्षमा पार्ने अन्तिम कसरत गरिरहेका छन् ।
अर्थव्यवस्थालाई लिएर अमेरिकीहरू ट्रम्पसँग आशावादी छन् । तर, डेमोक्र्याटले ट्रम्पले जितेमा प्रजातन्त्रमाथि नै खतरा हुने टिप्पणी गरिरहेको छ । गर्भपतन अधिकारलाई लिएर महिलाहरू कमला ह्यारिसको पक्षमा उभिएका छन् । ट्रम्पको आप्रवासी नीतिलाई लिएर डर रहेका कारण आप्रवासी मतदाताहरू कमला ह्यारिसलाई समर्थन गरिरहेका छन् ।
प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१ १७:१३