नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलन स्थगित छ । बाढीपहिरोका कारण ठूलो जनधनको क्षतिका बीच सुरु भएको बन्दसत्र प्रतिकूल मौसमका कारण स्थगित भएको भनिए पनि तयारीमा देखिएको अपूर्णता र उमेरहदको विवाद प्रमुख कारण हो ।
१४ असोजमा पार्टी नेतृत्वले उमेरहद लगाउने कि नलगाउने, लगाउने हो भने २८, ३० र ३२ मा कुन उमेरहद लगाउने भन्नेमा चुनाव गर्न निर्देशन दियो, जसका कारण सम्मेलन नै भाँडिएको एक पदाधिकारीका आकाङ्क्षी बताउँछन् ।
उनले भने, ‘सम्मेलन भाँड्नमा पार्टी नेतृत्व, उहाँको वरिपरिको टिम सक्रिय भएर लाग्यो । सम्मेलनमा नेतृत्व चयन गर्ने दिन उमेरहदको विवाद ल्याएर नेताहरूलाई चार समूहमा विभाजन गरियो । अहिलेको विद्यार्थी नेतृत्वले अडान लिन सकेन । प्रस्ट लाइन नहुँदा सम्मेलन स्थगित भएको हो ।’
तर, त्यही समयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले भने सम्मेलन भाँडिएको वा असफल भएको नभएर बरु यसलाई व्यवस्थित रूपमा सम्पन्न गर्न समय लिएको दाबी गरेको छ । सचिवालयले भनेको छ, ‘हामी कोही पनि नबहकिऔँ, सम्मेलन असफल भएको दुष्प्रचार नगरौँ । बरु यसलाई कसरी व्यवस्थित र विधिसम्मत रूपमा सम्पन्न गर्ने भन्नेबारेमा सोचौँ ।’
सम्मेलन ७ दिनसम्म अल्झाएर स्थगित गरिएको थियो । १० असोजमा त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा ‘प्रचण्ड’ले सम्मेलनको उद्घाटन गरेका थिए । विशेष गरी नेतृत्वले उमेरहदको विषयलाई प्रवेश गराएपछि सम्मेलन हलमा नै कुर्सी हानाहानदेखि खुकुरी प्रदर्शनसम्म भएको थियो । उमेरहद लगाउनुपर्छ भन्ने एक पक्ष र अहिले लगाउनु हुँदैन भन्ने अर्को पक्ष तथा सम्मेलनबाट उमेरहद लगाउने विधानमा व्यवस्था गरौँ भन्ने पक्षबीच नै विवाद हुँदा सम्मेलन नहुने अवस्था आएको थियो ।
उमेरहद लगाउने कि नलगाउने भन्नेबारे दुई पक्षबीच सम्मेलन हलमा नै विवाद भयो । बहुमत विद्यार्थी उमेर हदको पक्षमा देखिए । तत्कालीन पदाधिकारीमा पनि नेतृत्वका आकाङ्क्षी उमेरहदको विपक्षमा देखिए । तर सम्मेलन स्थगित भएपछि क्रान्तिकारीको एक पक्षले पार्टी नेतृत्वमाथि नै प्रश्न उठाउँदै विरोध अभियान चलायो । सो पक्षले विद्यार्थीमा उमेरहद लगाउने हो भने पार्टीमा पनि अवसरहद लगाउनुपर्ने मागसहितको सामाजिक सञ्जालमा अभियान नै चलायो ।
१९ असोजदेखि विद्यार्थी नेताहरूले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाहेकका पदाधिकारीहरूका फोटो राखेर अवसरहद लगाउनुपर्ने भन्दै सामाजिक सञ्जालबाट बहस सुरु गरेका थिए । उमेरहद भन्दा पनि अवसरहद महत्त्वपूर्ण भएको अखिल क्रान्तिकारीका नेता केशव रावल बताउँछन् । उनी भन्छन्, ‘हामीले सञ्चालन गरेको अवसरहदको अभियान जारी रहन्छ । यो अखिल क्रान्तिकारीको सम्मेलनसम्म मात्र होइन । अवसरहदको बहस मात्र होइन । अवसर पाएकाहरूले आर्जन गरेको सम्पत्ति पार्टीले छानबिन गर्नुपर्छ । कसरी कमाएर घरघडेरी जोडे । आयस्रोत के हो ? पार्टीलाई जानकारी हुनुपर्छ । अभियान अब त्यो हुनेछ ।’
पहिलो चरणको अभियानमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल, शक्ति बस्नेतको फोटो राखेर पोस्टर बनाएर ‘ब्रेक द चेन’ भन्दै क्रान्तिकारीका नेताहरूले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरे । पोस्टमा फोटोका साथै ’उमेरहद तोकौँ, अवसरको हद तोकौँ, कति हुने ? को–को हुने ? अब पुगेन ?’ भन्दै सांसद भएको मिति र कुनकुन मन्त्रालयको मन्त्री भने भनेर लेखिएको थियो ।
क्रान्तिकारीका अधिकांश नेताहरूले माओवादी पदाधिकारीका फोटोसहित सामाजिक सञ्जालमा अभियान चलाए पनि अहिले रोकिएको छ ।
क्रान्तिकारीका पूर्वउपाध्यक्ष रावल भने अहिले चाडबाडका कारण केही नभनेको तर अब चाडबाड सकिएसँगै सम्पत्ति छानबिन गर्नुपर्ने अभियान चलाइने बताउँछन् । उनले भने, ‘माओवादीलाई माओवादीजस्तो बनाउने हो भने नेताहरूको अवैध सम्पत्तिको छानबिन पार्टीले गर्नुपर्छ । पार्टीले गरेन भने सम्पत्ति शुद्धीकरण र अख्तियारमा निवेदन दिन्छौँ । जनताले आशा भरोसा र विश्वास गरेको पार्टी अहिले कुन अवस्थामा पुगेको छ, सबैलाई थाहा छ । पार्टीको शुद्धीकरण गर्नलाई अभियान चलाउँछौँ ।’
क्रान्तिकारीको नेतृत्वका लागि उमेरहद लगाउने कि नलगाउने भन्ने विषयबाट सुरु भएको बहस पार्टीमा पनि शुद्धीकरण गर्नुपर्छ भन्नेसम्म पुगेको रावल बताउँछन् । उनी भन्छन्, ‘हामीले चलाएको अवसरको हदले पार्टी र संगठनमा सकारात्मक सन्देश गएको छ । नेताहरू पनि यो अभियान चलाउनुपर्छ भन्नेमा छन् । पार्टी र संगठनबाट सहयोग पाइरहेका छौँ । पार्टीका पदाधिकारीले पनि ठीक भएको छ भन्नुभएको छ ।’
पार्टीमा तत्काल जे–जे अभियान चलाए पनि नेतृत्वको विकल्प नभएको क्रान्तिकारीका एक नेता बताउँछन् । ती नेताले भने, ‘तत्काल अध्यक्ष प्रचण्डलगायतका नेताहरूको विकल्प छैन । उहाँहरूलाई जनताप्रति जिम्मेवार हुन घचघच्याउनुपर्छ । पार्टीमा शुद्धीकरण अभियान चलाउनुपर्छ । विद्यार्थीमा उमेरहदको बहस हुँदा नेताहरूलाई पनि हट भन्नु ठीक होइन । यो लहडमा चलेको अभियान हो ।’
विद्यार्थीको सम्मेलन अब २३–२४ मंसिरमा हुने र उमेरहद नलाग्ने अर्का एक विद्यार्थी नेता बताउँछन् । ती नेताले भने, ‘सम्मेलन २३–२४ मंसिरमा हुन्छ । नेतृत्वका लागि योपटक उमेरहद लाग्दैन । कोशी र लुम्बिनी प्रदेश अध्यक्ष नै ३८ वर्षका छन् । केन्द्रमा उमेरहद लगाएर न्याय हुँदैन । अब उमेरहद लाग्दैन । नेतृत्वका लागि इच्छुक उम्मेदवार हुन पाउँछन् ।’
माओवादीको तेस्राे पुस्ताले अब समाजवादी समाजको नेतृत्व गर्नुपर्ने क्रान्तिकारीका नेता विराज थापा बताउँछन् । उनले भने, ‘माओवादीको अहिलेको पुस्ताले नेतृत्व गरेर गणतन्त्र आएको हो । यो कुरा माओवादीको अहिलेको नेतृत्वले चाहेर सम्भव भएको हो । अबको समाजवादी आन्दोलनको नेतृत्व तेस्रो पुस्ताले गर्नुपर्छ । यसको मोनिटरिङ अहिलेको पुस्ताले गर्नुपर्छ ।’
माओवादीमा २०६४ सालबाट अवसर लिने, पटकपटक सांसद हुने, मन्त्री हुने नेताहरूलाई अब राज्यसत्तामा अवसर दिइनु हुँदैन भन्ने बहस सुरु भएको छ । हुन पनि माओवादी २०६४ सालको संविधानसभाको निर्वाचनभन्दा पहिलो अन्तरिम विधायकहुँदै संसद र सरकारमा सामेल भएको थियो । त्यसपछि अवसर पाउनेले निरन्तर अवसर पाइरहेको र नपाउनेले कहीँकतै अवसर नपाएको आरोप लाग्ने गरेको छ । क्रान्तिकारीका नेताहरू अहिले एउटैलाई पटकपटक अवसर दिने चलनको अन्त्य हुनुपर्ने, नेतृत्व पुस्तान्तरण मात्र नभएर विचार र सिद्धान्तका आधारमा नेतृत्व स्थापित गर्नुपर्ने धारणा राख्न थालेका छन् ।
प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१ २०:३९