बझाङमा प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित सांसद र समानुपातिक सांसदबीच विवाद देखिएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमलाई लिएर प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदबीच विवाद उत्पन्न भएको हो ।
बझाङबाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद भैरवबहादुर सिंहले एकलौटी रुपमा योजना छनोट गरेको भन्दै समानुपातिक सांसदहरु प्रकाश रसाइली (स्नेही) र आशा विक रुष्ट देखिएका छन् ।
यी दुई सांसदमध्ये रसाइली नेपाली कांग्रेसको कोटाबाट सांसद भएका हुन् भने विकलाई नेकपाले सांसद बनाएको हो । प्रत्यक्ष निर्वाचित सांसद सिंहले पनि नेकपा कोटाबाटै चुनाव जितेका थिए ।
सांसद सिंहले आर्थिक वर्ष २०७६/७७ का लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत आएको ६ करोड रुपैयाँ एकलौटी बाँडेको सांसदद्वय रसाइली र विकको आरोप छ ।
सांसद रसाइलीले भने, ‘उहाँ (सिंह)ले हामीसँग छलफल नै नगरी एकलौटी तरिकाले जिल्ला समन्वयका अधिकारीसँग मात्रै बसेर रातारात योजना छनोट गरी निर्णय पुस्तिकामा उतार्न लगाउनुभएको छ ।’
सांसद सिंहले आफूहरुसँग आधा घण्टा पनि छलफल गर्न नचाहेको उनले गुनासो गरे । ‘सिधै हस्ताक्षर गर्न भन्नुभयो,’ रसाइलीले भने, ‘मैले छलफल गरेर जिल्लाका वास्तविक आवश्यकताहरुमा रकम छुट्याउनुपर्छ भन्दा मेरो भतिजको बिहे छ भन्दै १५ लाख बराबरको एउटा योजना हाल्नुहोस्, बाँकी मैले नै तयार गरिसकेको छु भन्नुभयो ।’

सांसद प्रकाश रसाइली (फाइल तस्वीर)
समान हैसियत भए पनि सिंहले आफूहरुमाथि ‘भिखारी’को जस्तो व्यवहार गरेको भन्दै रसाइली सर्वोच्च जान तयारीमा लागेका छन् । उनले निर्णय पुस्तिकामासमेत ‘नोट अफ डिसेन्ट’ लेखेको बताए ।
नेकपाकै समानुपाति सांसद आशा विकले पनि सांसद सिंहको कार्यशैलीप्रति चर्को असन्तुष्टि जनाएकी छन् । ‘उहाँले जयपृथ्वी नगरपालिकामा स्थापना हुने ब्लड बैंकबाहेक अन्य विषयमा छलफल नगरेकाले मेरो असन्तुष्टि छ ।’
सांसद विकले यस विषयमा पार्टी र संसदमा कुरा उठाउने बताइन् । एकै दलको भए पनि सांसद सिंहले आफूलाई ‘भिखारी’जस्तो ठानेको आरोप लगाइन् । ‘बैठकमा बोलाउनुभयो, हामीले पनि योजनाका लिष्ट लिएर गएका थियौं । सरासर आफूले योजनाहरु निर्णय पुस्तिकामा सारेर हस्ताक्षर गर्न भन्नुभयोे,’ सांसद विकले भनिन्, ‘हामीले ल्याएका योजना पनि समेटौं भन्दा हँुदैन भन्नुभयो । योजनामाथि कुनै छलफलसम्म पनि भएन ।’
एउटै पार्टीका भए पनि योजना बाँडफाँटमा कुरा नमिलेपछि अहिले विक र सिंहबीच बोलचाल नै बन्द भएको छ ।
यता, सांसद भैरवबहादुर सिंहले भने समानुपातिक सांसदहरुले सिधै रकम मागेकाले यसरी सिधै पैसा बाँड्न नमिल्ने जवाफ दिएको प्रतिक्रिया दिए । सिंहले शिलापत्रसँग भने, ‘मैले दुवै जनासँग योजना मागेको थिएँ, तर उहाँहरुले योजना नल्याएर सिधै रकम माग गर्नुभयो ।’
यसरी सिधै रकम माग गरेकाले आफूले अधिकार प्रयोग गरेको उनको स्पष्टोक्ति छ । ‘रातरात समन्वयका अधिकारीसँग योजना गरेको भन्ने झुटो आरोप हो,’ उनले भने, ‘मैले कसैलाई पक्षपात गरेको होइन । प्रकाशले मुद्दा हाल्छु भन्नुभएको छ । हाले पनि ठिकै छ, सबै योजना रद्द हुन्छन् ।’
निर्णय भएका याेजनाहरू ः



