सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनपछि थप दबाबमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको जारी राष्ट्रिय भेलालाई सम्बोधन गर्दै भने, ‘बाहिरबाट हुने हरेक आक्रमणमा छाती थाप्न म तयार छु तर भित्रका साथीहरूलाई थाहा हुनुपर्यो कि हामी सही मार्गमा छौँ ।’
उनको संकेत पार्टीभित्रबाट उठ्ने सम्भावित प्रश्नतिर थियो । किनकि, लामिछानेमाथि लागेको आरोप राजनीतिक नभएर व्यक्तिगत हो । संसदीय समितिको प्रतिवेदन कार्यान्वयन हुँदा उनी पक्राउ पर्न सक्छन् । उनीविरुद्ध ठगी, किर्तेलगायत मुद्दा चल्न सक्छ । त्यो बेला आफूलाई पार्टी पङ्क्ति र कार्यकर्ताको दरिलो साथ चाहिने महसुस लामिछानेले गरेका छन् ।
शृङ्खलाबद्ध काण्डले आक्रामक सभापति रक्षात्मक बनेको पार्टीको बाँकी नेतृत्व र तल्लो तहका नेता-कार्यकर्ताले देखेका छन् । यसको असर उनीहरूमा पनि परेको छ, जुन कुरा लामिछाने स्वयम्ले स्वीकारेका छन् । ‘छोटो समयमा राजनीतिक पार्टीको जीवनमा हुनुपर्ने, नहुनुपर्ने घटना भए । जन्मेदेखि आजसम्म कुनै न कुनै समस्याले छोडेको छैन । यस्तोमा केही साथी हारेजस्तो गरेका छन्,’ लामिछानेले भने, ‘हामी लड्यौँ भने आफ्नै गोडामा अल्झिएर मात्र लड्छौँ, अरुले हामीलाई लडाउन सक्दैन ।’
राष्ट्रिय भेलामा आधा घण्टाजति सम्बोधन गरेका उनले अधिकांश समय प्रतिनिधिमा ऊर्जा भर्ने प्रयासमा खर्चिए । बीचबीचमा प्रतिनिधिहरूमा छाएको निराशाबारे पनि बोले । लामिछानेले सहकारी ठगीको आरोपबाट आफूले सफाइ पाएको भनेर करिब १५ सय प्रतिनिधिलाई थमथमाए । संसदीय समितिको प्रतिवेदनले सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा अपचलन गरेकोमा दोषी ठहर गर्दै कारबाहीका लागि सिफारिस गरे पनि उनले आफूले ‘क्लिन चिट’ पाएको दाबी गरे । सँगै अबको आरोप सहकारीबाट गोरखा मिडियातिर सर्ने जिकिर गर्दै घुमाउरो पारामा त्यसलाई पनि पचाउन प्रतिनिधिलाई आग्रह गरे ।
संसदीय समितिको प्रतिवेदनमा पाँचवटा सहकारीबाट ६५ करोड रुपैयाँ गैरकानुनी रूपमा गोरखा मिडियामा ल्याएर अपचलन गरिएको उल्लेख छ । तत्कालीन प्रबन्ध निर्देशकका रूपमा रविलाई समेत दोषी मानिएको छ । त्यसैले गोरखा मिडियामा भएको सहकारीको रकम अपचलनमा उनीमाथि प्रश्न मात्र होइन, कानुनी कारबाही नै हुने सम्भावना छ । पूर्वमन्त्री एवम् एमाले सांसद गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘राजनीतिक सौदाबाजी भएन भने आउँदो हिउँदमै चितवनमा तेस्रोपटक चुनाव हुने छ ।’ उनको आशयअनुसार, संसदीय समितिको प्रतिवेदनअनुसार कानुनी कारबाही हुँदा रविले दोस्रोपटक सांसद पद गुमाउनेछन् ।
आरोपबाट प्रेरणा ?
पार्टी स्थापनाकालदेखि नै आफू कुनै न कुनै विषयमा निरन्तर आरोपित भइरहेको स्वीकारेका लामिछानेले यसबाट प्रेरणा लिन प्रतिनिधिलाई अनुरोध गरे । ‘पार्टी खोलेको दिनदेखि पार्टीको चिह्न, नामदेखि सहकारीसम्मको विषयमा निरन्तर आउँदा जित र हारको कुरा नै होइन,’ उनले भने, ‘न म जित्ने अभिप्रायले लडिरहेको छु, न म हार्ने डरले लडिरहेको छु । म त यस कारणले लडिरहेको छु कि तपाईंहरूमध्ये जोकोहीलाई भोलि मलाईजस्तै प्रहार हुँदा भन्न सक्नुहोस् कि हाम्रो रवि दाइलाई यसरी आक्रमण गर्दा पनि ऊ ढलेन, निराश भएन, रोएन, शिर झुकाएन, लुकेर हिँडेन, छाती तन्काएर हिँड्यो । त्यस कारणले मैले लड्नुपर्छ, मैले हार्नु हुँदैन, म उठ्नुपर्छ भन्ने तपाईंलाई मिलोस् भनेर म लडिरहेको छु ।’
एक केन्द्रीय सदस्यका अनुसार, बाहिर जेजस्तो कुरा आए पनि नेता र कार्यकर्ताले आफूमाथि प्रश्न नउठाऊन् भन्ने उनको अभिप्राय बुझ्न कठिन छैन । 'पार्टीमा सभापतिलाई प्रश्न गर्नेहरू अहिले छैनन् भन्दा हुन्छ । यसको उहाँलाई डर छैन', ती सदस्यले भने, 'तर आफ्ना लागि सडकमा उत्रिनुपर्दा होस् वा आफ्नो पक्षमा प्रतिवाद गर्नुपर्दा स्वत:स्फूर्त उत्रिऊन् भन्ने चाहना हुन सक्छ ।'
त्यसैले लामिछानेले दोहोर्याए, ‘रास्वपा बाहिरबाट हुने आक्रमणको मलाई कुनै डर छैन । रास्वपा परिवारको बाहिरबाट हुने आक्रमणमा छाती थाप्न म तयार छु । तर, भित्रका साथीहरूलाई थाहा हुनुपर्यो कि हामी सही मार्गमा छौँ ।’ निरन्तर कुनै न कुनै काण्डमा जोडिइरहने सभापति, इलाम चुनावको परिणाम, तत्कालीन महामन्त्री मुकुल ढकालको प्रतिवेदनको निचोडलगायतले रास्वपा कार्यकर्ताको ठूलो पङ्क्तिलाई निराश पारेको ती केन्द्रीय सदस्य बताउँछन् ।
‘कतिपय प्रतिनिधिले यी सबै घटनालाई सभापतिमाथि लागेको आरोपका उपजका रूपमा बुझेका छन्’, उनले भने, ‘पार्टीभित्र यही बुझाइ हाबी हुँदै जाने हो कि भन्ने डर पनि सभापतिलाई हुन सक्छ ।’ यद्यपि, परेका बेला नेता-कार्यकर्ता बचाउमा आइदिऊन् भन्ने सभापतिको चाहनालाई अन्यथा लिन नहुने ती सदस्यले बताए । पार्टी केन्द्रीय समिति वा पदाधिकारीमा सभापतिविरुद्ध प्रहार गर्ने खालको माहौल वा समूह भने अहिलेसम्म नदेखिएको उनले दाबी गरे ।
‘असन्तुष्टि वा भन्न मन लागेका कुरा साथीहरूसँग होला तर केन्द्रमा अहिलेसम्म सभापतिलाई चिढ्याउने गरी प्रश्न कसैले उठाएको छैन’, ती सदस्यले भने, ‘तल्लो तहमा भने सन्देश राम्रो गएको छैन, राम्रो सन्देश पुर्याउने गरी संगठन व्यवस्थित र एकताबद्ध पनि बन्न बाँकी छ ।’
पद जाँदा पनि गल्ती नस्वीकारेका रवि
सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा अपचलन गरेकोमा दोषी देखाउँदै कारबाही सिफारिस गर्दा लामिछानेले ‘क्लिन चिट’ पाएको प्रचार गरे । समितिमा रास्वपाका तर्फबाट सदस्य रहेका सांसद शिशिर खनालले समेत सहकारी ठगीबाट लामिछानेले सफाइ पाएको दाबी गरेका छन् । सहकारीबाट रकम ल्याउने प्रक्रियामा लामिछाने संलग्न नभएको कुरालाई रास्वपाले प्रचार गर्न खोजेको देखिन्छ ।
तर, संसदीय छानबिन समितिका सभापति सूर्यबहादुर थापाले भने लामिछानेलाई दोषी देखाएर स्पष्ट रूपमा कारबाहीको सिफारिस गरिएको बताएका छन् । ‘हामी जान्ने हौँ, हामीलाई छान्नुस् भन्ने मान्छेले प्रतिवेदनमा लेखेका कुरालाई अपव्याख्या गरे । क्लिन चिट कहाँ छ, कुन शब्दमा, कुन लाइनमा, कुन प्यारामा छ ?’, थापाले प्रश्न गरे, ‘कारबाहीको सिफारिस अंग्रेजीमा अनुवाद गर्दा क्लिन चिट हुन्छ ?’ एमालेका महासचिव शंकर पोखरेलसहितका नेताले सहकारीको रकम अपचलनमा लामिछाने गोरखा मिडियाका एमडीका रूपमा जिम्मेवार रहेको दाबी गरेका छन् ।
उसो त, १३ माघ २०७९ मा सर्वोच्च अदालतको आदेशले सम्पूर्ण सार्वजनिक पद गुमाउनुअघिसम्म लामिछानेले दोहोरो नागरिकता प्रकरणमा आफ्नो गल्ती स्वीकारेकै थिएनन् । बरु अदालतको फैसलापछि अनागरिक बनेको भनेर उनले चर्को प्रतिक्रिया दिए । गत वर्ष फागुनमा दोस्रोपटक उपप्रधान तथा गृहमन्त्री बनेलगत्तै उनीमाथि सहकारी ठगीको आरोप लागेको हो । गृहमन्त्री बनेपछि आफ्नो मुद्दा दबाउन उनले राज्य शक्तिको दुरुपयोग गरेको आरोपसमेत लागेको थियो ।
१५ जेठमा संसदीय छानबिन विशेष समिति बनेको महिना दिनपछि रास्वपासमेत सामेल माओवादी नेतृत्वको सरकार ढलेको थियो । ९९ दिनको अध्ययनपछि समितिले गत सोमबार प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेको हो । सभामुख देवराज घिमिरेले प्रतिवेदन कार्यान्वयनका लागि सरकारलाई पठाएका छन् । रास्वपा सरकारमा हुँदा प्रतिपक्षी बेञ्चबाट लामिछानेविरुद्ध अरु कति प्रमाण चाहियो भन्दै प्रश्न गरेका कांग्रेस सांसद रमेश लेखक हाल गृहमन्त्री छन् । संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गर्ने जिम्मेवारी अब उनै गृहमन्त्री लेखकको काँधमा छ ।
प्रकाशित मिति: बुधबार, असोज २, २०८१ १५:५०