काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले १६ भदौमा एमाले प्रदेश सांसद रेखाकुमारी शर्माको फोटोसहित राखेको स्टाटस दुई दिनपछि फेसबुकबाट हट्यो । त्यो पोस्टमा लुम्बिनी प्रदेशकी सांसद शर्माले एक १४ वर्षीया बालिकालाई घरेलु कामदारका रूपमा राखेर श्रम शोषण तथा हिंसा गरेको आरोप बालेनले लगाएका थिए ।
उनको दाबीमा एमाले कार्यकर्ताले व्यापकरूपमा ‘रिपोर्ट’ गरेपछि फेसबुकले त्यो पोस्टलाई उडाइदिएको हो । तर, त्यसपछि जे भयो, त्यसको सिधा असर एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीलाई परेको देखिन्छ ।
१७ भदौ सोमबार साँझदेखि ओलीको फेसबुक पेज 'अनफलो' गर्ने अभियान सुस्त गतिमा चल्यो र यो १८ भदौ मंगलबार बिहानदेखि तीव्र बन्यो । एमालेका ‘साइबर सेना’को रिपोर्ट अभियानको जवाफमा बालेन समर्थकले ओलीको फेसबुक पेज हल्का पार्ने अभियान चलाएको आशंका गरिएको छ । करिब २४ घण्टाभित्र ओलीले ७० हजारभन्दा बढी फलोअर्स गुमाएका छन् । सोसल मिडिया नियालिरहेका एमालेजनको अनुमानमा ओलीको फेसबुक पेज ५ लाख हाराहारी फलोअर्स आसपास आइपुगेर स्थिर हुन सक्छ ।
आफ्ना अध्यक्षविरुद्ध छेडिएको ‘अनफलो पहिरो’ रोक्न एमाले महासचिव शंकर पोखरेलसहित अन्य नेता र कार्यकर्ता पनि लागेका छन् । यद्यपि, अनफलोको गतिमा ब्रेक लागेको छैन । ओलीको फेसबुक पेजमा घटेको भन्दा तेब्बर बढी फलोअर्स बालेनको पेजमा थपिएको देखिन्छ । कतिपयले यसलाई ओली र बालेनबीचको ‘साइबर युद्ध’को रूपमा पनि लिएका छन् ।
किन चलाइयो अनफलो अभियान ?
अनफलो अभियानका पछाडि सतहमा मूलतः दुई विषय देखिन्छ- उपत्यकाका खोला किनार खाली गराउने विषय र एमाले प्रदेश सांसद रेखाकुमारी शर्माको बालश्रमसम्बन्धी मुद्दा ।
काठमाडौं उपत्यकाभित्र बग्ने बागमती, विष्णुमती, मनोहरा नदी किनाराको कम्तीमा २० मिटरभित्रको जग्गा र अन्य खोला किनाराको कम्तीमा ४ देखि १२ मिटरभित्रको जग्गालाई १ मंसिर २०६५ मा नेपाल सरकार मन्त्रिपरिषद्ले निर्माण निषेधित क्षेत्र घोषणा गरेको थियो । गत वर्ष ३ पुसमा सर्वाेच्च अदालतले सरकारी मापदण्डको साथै थप २० मिटर जग्गा पनि निर्माण निषेधित क्षेत्र हुने परमादेश जारी गर्यो । गत १६ साउनमा काठमाडौंका मेयर बालेनले अदालतको परमादेश तत्काल कार्यान्वयन गर्ने घोषणा गरे । केही दिनपछि कार्यान्वयन गर्ने भनी मेयरस्तरीय निर्णय गरे । त्यसको ठ्याक्कै महिना दिनपछि १६ भदौमा एमाले काठमाडौं जिल्ला कमिटीले मेयर बालेनलाई ७ बुँदे ज्ञापनपत्र बुझायो र मेयरस्तरीय निर्णयको विरोध गर्दै जबर्जस्ती लाद्न खोजिए परिणाम असामान्य हुने चेतावनीसमेत दियो । मंगलबार कार्यपालिका बैठकमा एमालेसम्बद्ध वडाध्यक्षहरूसहित उपमेयर सुनिता डंगोलले समेत मेयरस्तरीय निर्णय र अखबारमा छापिएको सूचनामाथि प्रश्न उठाए । त्यसको प्रतिक्रियाका रूपमा पनि अनफलो अभियान चलेको बताइन्छ ।
त्यसपछि सांसद शर्माको फोटोसहित स्टाटस
एमाले काठमाडौंको ज्ञापनपत्र बुझेको भोलिपल्ट एमाले लुम्बिनी प्रदेशकी सचेतक रेखाकुमारी शर्माको फोटोसहित एक बालिकामाथि श्रमशोषण र हिंसा गरेकाले गिरफ्तार गर्न प्रधानमन्त्री ओलीलाई जोडेर मेयर बालेनले स्टाटस शेयर गरे । दुई दिनपछि यो स्टाटसविरुद्ध फेसबुकमा ‘रिपोर्ट’ गरेर एमाले कार्यकर्ताले ‘रिमुभ’ गराए । त्यही दिन साँझदेखि ओलीको फेसबुक पेजमा कैंची चल्न थाल्यो । त्यसैले ओलीविरुद्ध फेसबुकमा अनफलो अभियान चलाउने बालेन समर्थकहरू नै रहेको धेरैको आशंका छ ।बालश्रम मुद्दामा जाहेरी परे पनि सत्ताको आडमा नसमातिएकी सांसद शर्माको फोटो हटाउन जसरी एमालेका कार्यकर्ता धुरिए, उसैगरी अध्यक्ष ओलीलाई फेसबुकमा अनफलो गर्न बालेन समर्थकसहित अन्य पक्ष धुरिएको देखिन्छ ।
कारण यति मात्र होइन
विश्लेषकहरू फेसबुकमा ओलीविरुद्ध अनफलो अभियानका पछाडि अन्य पक्ष र कारण पनि रहेको बताउँछन् । समाजशास्त्री डा. मिना पौडेल परम्परागत दलका गतिविधि, उनीहरूको सरकार, यसका कतिपय निर्णय, विभिन्न निकायमा भएको हस्तक्षेपले नागरिकमा निराशा र आक्रोश थपेको उनी तर्क गर्छिन् । ‘उकुसमुसक पहिलेदेखि नै थियो, मानिसले अहिले बाटो र बहाना मात्र पाएका हुन्, र अहिले ओली यस्तो असन्तुष्टिको निशानामा परे’, अनफलो अभियानलाई निराशाको निरन्तरताभन्दै डा. पौडेल भन्छिन्, ‘यो तुरुन्तैको प्रतिक्रिया हो भन्ने मलाई लाग्दैन । ओलीका लागि मात्रै हो भन्ने पनि लाग्दैन ।’
राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले बारम्बार अवसर पाएर पनि त्यसको सदुपयोग गर्न चुकेका नेताप्रति जननिराशा चुलिँदै गएको बताउँछन् । र, यो विस्तारै अरु ‘टेस्टेड’ नेतातिर पनि सर्दै जाने उनको आशंका छ ।
सरकार बन्दादेखि नै असन्तुष्टि
ओली नेतृत्वको सरकार गठनको सहमति नै कांग्रेस र एमालेले व्यवसायी रामेश्वर थापाको घरमा मध्यराति गरेका थिए । केही दिनअघि सार्वजनिक मञ्चबाटै कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सरकार गठनमा व्यवसायी थापाको महत्त्वपूर्ण भूमिका रहेको निसंकोच भनेका थिए ।
तर, कांग्रेस-एमाले सरकार बनेयताका सम्पूर्ण निर्णय, गतिविधिको जिम्मेवार ओलीलाई ठानेर ‘अरु पक्ष’ पनि यो अनफलो अभियानमा थपिएका हुनसक्ने समाजशास्त्री डा. पौडेल बताउँछिन् । काठमाडौं महानगर प्रमुख बालेनसँग त करिब डेढ वर्षयता एमालेको टसल जारी छ । डोजर चलाउने अभियानदेखि पार्किङ, सुकुमबासी बस्ती, फोहोर व्यवस्थापनलगायतमा एमालेले संगठित असहयोग र अवरोध गरेको आरोप बालेनले लगाउँदै आएका छन् ।
‘बालेनसहित कुलमान घिसिङ, रवि लामिछाने, हर्क साम्पाङलगायतलाई समर्थन गर्नेहरू पनि ओलीसहित परम्परागत दलका पाका नेतासँग असन्तुष्ट नै छन्’, डा. पौडेल भन्छिन्, ‘विपक्षमा भएकाले माओवादीले पनि सरकारप्रति बढ्दो निराशाबाट फाइदा लिन खोज्ने नै भयो ।’
विवादित व्यक्तिलाई मन्त्री
अनफलो तत्कालैको प्रतिक्रिया नभएको बताउने पौडेल सुशासन र समृद्धिको नारा दिएको सरकारमा सहभागी कतिपय मन्त्रीको पृष्ठभूमि र गतिविधिले पनि नागरिकमा आक्रोश थपेको बताउँछिन् । यसअघि रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री बन्दा सहकारी मुद्दामा स्वार्थ बाझियो भनेर विरोध गरेको कांग्रेसले ओली सरकारमा दीपक खड्कालाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनाएर पठायो, जो रसुवा–भोटेकोशी जलविद्युत परियोजनाका प्रवर्द्धक हुन् । यसअघि १८ पल्ट मन्त्री बनिसकेका लोसपा नेता शरतसिंह भण्डारीलाई फेरि मन्त्रीका रूपमा हेर्दा पनि नागरिक विरक्तिए ।
ठूला प्रकरणमा चुपचाप
मेयर बालेनसँगको विवाद नै ओलीलाई फेसबुक प्रयोगकर्ताले अनफलो गर्नुको कारण मान्ने हो भने पनि यसमा विविध कारणले सरकार वा पुराना दलसँग असन्तुष्ट अर्को युवा पङ्क्ति मिसिएको कुरालाई अस्वीकार गर्न नसकिने पौडेल बताउँछिन् ।
अघिल्लो सरकारले भुटानी शरणार्थी काण्ड र गिरिबन्धु टि-स्टेटको जग्गासम्बन्धी नीतिगत भ्रष्टाचारबारे अनुसन्धान गर्ने प्रचार गर्दै आएको थियो । ओली नेतृत्वमा सरकार गठन भएपछि नागरिक वृत्तमा ठूलो चासोको विषय बनेको गिरिबन्धु प्रकरण र चर्चित भुटानी शरणार्थी प्रकरणको दोस्रो चरणको अनुसन्धान अघि बढेको छैन । यसबारे प्रधानमन्त्री र मन्त्रीहरू प्रश्नसमेत रुचाउँदैनन् । बरु यसबीचमा भ्रष्टाचारसम्बन्धी विधेयकमा ५ वर्षे हदम्याद राख्ने प्रयास सरकारबाटै भयो । नयाँ दलप्रति झुकाव राख्ने जमात त भ्रष्टाचारबाट आफ्ना नेता थुनिने भयकै कारण कांग्रेस–एमाले मिलेको र पछि थुनिने डरले ५ वर्षे हदम्याद लागू गर्ने प्रयास गरेको ठान्छन् । भलै, त्यसमा सत्तापक्षकै सांसदले समेत संशोधन हालेका थिए । सरकारले विधेयकबाट सो प्रावधान हटाइसकेको छ ।
समाजशास्त्री पौडेल यसअघि बालेन र ओली अहिलेभन्दा कडा रस्साकस्सीमा उत्रिए पनि अनफलो वा वहिष्कारको स्तरमा नपुगेको बताउँदै भन्छिन्, ‘त्यसैले यो धेरै असन्तुष्टिहरूको शृङ्खलामध्ये देखापरेको एक प्रतिक्रियात्मक आक्रोश हो ।’
विश्लेषक वाग्ले पनि यस्तो तर्कमा सहमत छन् । ‘पुराना नेताले बारम्बार अवसर पाएर पनि सदुपयोग गर्न नसकेकाले उनीहरूबाट मुक्ति नपाउँदासम्म जनविश्वास फर्किँदैन’, उनले भने, ‘यस्तै केही न केही भइरहन्छ ।’
अघिल्लो साता मात्र गौरा पर्वको अवसरमा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री ओली सहभागी कार्यक्रममा युवाहरूले दर्शकदीर्घाबाट मुर्दावादको नारा लगाएका थिए । केही एमाले नेताले विरोध गर्ने समूहलाई बालेन समर्थक टिमकै रूपमा अर्थ्याएका थिए ।
'पपुलिस्ट'हरूसँग ओलीको टसल
प्रधानमन्त्री हुनु अघि र पछि ओलीको जुधाइ ‘पपुलिस्ट’ पात्रहरूसँग नै भएको देखिन्छ, यसलाई पनि अनफलो अभियानसम्म ल्याइपुर्याउने एक कारण मान्न सकिने पौडेलले बताइन् ।
आफू प्रधानमन्त्री भएलगत्तै ओलीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन खोजे । नागरिकमाझ कुलमान ‘लोकप्रिय’ मानिन्छन् । यद्यपि, एक पक्षले उनलाई पनि 'पपुलिस्ट' नै मान्छ । यसैगरी, ‘पपुलिस्ट’ छवि भएका रास्वपा सभापति रवि लामिछाने, सहमहामन्त्री सुमना श्रेष्ठलगायतलाई पनि ओलीले कटाक्ष गर्दै आएका छन् । लामिछानेको हकमा त ओली नेतृत्वकै सरकारले सहकारी ठगी र राहदानी प्रकरणमा मुद्दा चलाउने तयारी गरेको बताइन्छ । त्यसैले रास्वपालाई समर्थन गर्नेहरू अनफलो अभियानमा थपिएको अनुमान गरिन्छ ।
बालुवाटार भन्छ- अचम्म लागेको छैन
एमाले अध्यक्ष एव् प्रधानमन्त्री ओलीनिकट स्रोतले ‘अनफलो अभियान’लाई अस्वाभाविक र गम्भीर रूपमा नलिएको बतायो । ‘यो कसले गर्दैछ, किन गर्दैछ भन्ने छर्लङ्गै छ, यसबाट एमाले हच्किँदैन’, स्रोतले भन्यो, ‘हामीले यसलाई खासै गम्भीर रूपमा लिएका पनि छैनौं ।’
यो काम बालेन सचिवालयबाट भएकोमा एमाले नेतृत्व पक्का छ । वडाध्यक्षहरूले बालेनको एकलौटी निर्णयमा संगठित असहमति जनाएको, एक लाख बढी काठमाडौंबासीलाई प्रभावित प्[र्ने गरी नदी किनार खाली गराउने प्रयासमा असहमति जनाएको लगायत कामको प्रतिक्रियाका रूपमा एमालेले ‘अनफलो’ अभियानलाई लिएको देखिन्छ । प्रधानमन्त्री ओलीको सचिवालयका एक सदस्यले भने, ‘यसरी अनफलो, बहिष्कार गर्ने ट्रेन खराब हो । यस्तो प्रतिशोधले भोलि हामीलाई कहाँ पुर्याउँछ ?’
काठमाडौं महानगर प्रमुखको सचिवालयका एक प्रतिनिधिले बालेनको पोस्ट एमालेका कार्यकर्ताको रिपोर्टपछि फेसबुकले हटाएको सत्य भए पनि केपी ओलीलाई अनफलो गर्ने अभियान बालेनको टिमले चलाएको भन्ने आरोप झूठो भएको दाबी गरे । 'ओपन सोसाइटी छ, हामीले कहाँ त्यत्रो मान्छेलाई अनफलो गर भन्न सक्छौँ, मानिसहरूले स्वत:स्फुर्त गरेका होलान्', उनले भने ।
प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१ १६:४६