आफ्ना साना नानीहरूको मृत्युको खबरले बुबालाई पर्ने पिर कस्तो होला ? त्यो पनि वैदेशिक रोजगारीमा भएको बेला । यस्तो भावविह्वल पीडा शब्दमा कहाँ भन्न सकिन्छ र ? यस्तै पिर खेपिरहेका छन्, पाँचथर प्राङबुङका दिलीप साँवाले । उनका १२ वर्षीय छोरा दिप्सन र २ वर्षीया छोरी प्रिन्साको ग्रिनेड विस्फोटमा परी मृत्यु भयो ।
यो खबर वैदेशिक रोजगारीमा रहेका साँवाले दुबईमा सुनेका थिए । यिनै नानीहरू, पढाउन, सुखमा राख्न विदेश पुगेका उनी शनिबार आइपुग्दै छन् । आमा पूजाघरमै काम गर्दै थिइन् । बिहीबार दिउँसो गाउँ थर्किने गरी पड्किएपछि कुद्दै घटनास्थल आउँदा नानीहरू जलेका थिए । हतारहतार गाउँलेले जिल्ला अस्पताल दौडाए । ४२ किलोमिटर टाढा फिदिमको जिल्ला अस्पतालबाट रेफर भएकी प्रिन्साको बाटोमा र दिप्सनको बी एन्ड सी अस्पताल झापामा मृत्यु भयो ।
हृदयविदारक घटनाले मर्माहत तुल्याएको स्थानीय शिल्प राईले सुनाए । 'गाउँमा बम, बारुद नसुनेको धेरै भएको थियो । गाउँ शान्त थियो । अचानकको विस्फोटले दुई कलिला मुनालाई लगिदियो,' राईले भने ।
बुवा आएपछि मात्र दाह संस्कारको प्रक्रिया अघि बढ्नेछ । आइतराज केरुङको घरमा विस्फोट भएको हो । उनी द्वन्द्वकालदेखि नै माओवादी कार्यकर्ता थिए । उनको घरमा ज्ञानबहादुर राई डेरा लिएर बस्थे । राई सदरमुकाम फिदिममा ज्याला मजदुरी गर्छन् । उनकी श्रीमती कृष्णमाया राई खेताला गएकी रहिछिन् । उनीहरूका छोरा ११ वर्षीय पवन घाइते छन् ।
पाँचथर अस्पतालबाट थप उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर पठाइएको पाँचथरका प्रहरी प्रमुख डीएसपी हेमन्त भण्डारीले जानकारी दिए । सामान्य घाइते भनिएका दिप्सन राईलाई उपचारका लागि पाँचथर अस्पताल ल्याइएको छ । उनी आत्तिइरहेका छन् । उनलाई पनि कोशी अस्पताल पठाउन चिकित्सकसँग सल्लाह भइरहेको भण्डारीले बताए । घटनामा परेका बालबालिकाको परिवार आर्थिक अवस्था कमजोर भएको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक रुपेश तामाङले बताए ।
ठूलो घटनाले स्थानीयहरू मर्माहत भएको उनले बताए । स्कुलमा परीक्षा थियो । केटाकेटी घर आएर खेल्न थाले । नौलो वस्तु भेटेपछि हम्मरले कुट्दा ग्रिनेड पड्किएको पाइएको छ । दुर्गममा भएकाले तत्काल अस्पताल लैजान पनि कठिन भयो । द्वन्द्वकालमा छोडिएको ग्रिनेड भएको अनुमान गरिएको छ ।
'पुरानै हुनुपर्छ । बम छ भन्ने थाहा हुने कुरै भएन,' वडाध्यक्ष भरत खपाङ्गीले भने । घटनास्थलछेउमै अर्को ग्रिनेड भेटिएको थियो । नेपाली सेनाको टोलीले शुक्रबार बिहान डिस्पोज गरेको छ । त्यो होममेड ग्रिनेड भएको खुल्न आएको छ । पड्किएको विस्फोटक पदार्थ नयाँ हो कि पुरानो हो भन्ने फरेन्सिक टेस्टपछि थाहा हुने भण्डारीले बताए ।
गाउँमा अरुतिर पनि यस्तै पड्किने वस्तु छ कि भन्ने चिन्ता रहेको उनको भनाइ छ । सामाजिक सञ्जालमा पीडा व्यक्त भइरहेका छन् । छानबिन र राहतको माग भइरहेको छ । विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले बताए ।
राष्ट्रिय मानवअधिकार आयोगले विज्ञप्ति निकालेर पीडितलाई क्षतिपूर्ति र दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । आयोगले सरकारले जथाभावी छोडिएका विस्फोटक पदार्थ निष्क्रिय पारी यस्तो घटना दोहोरिन नदिन भनेको छ । यसअघि पनि पाँचथरमा विस्फोटका यस्ता घटना भएका थिए । २०७४ साल वैशाखमा पाँचथरको हिलिहाङ- ७ को ओढारमा विस्फोट हुँदा दुई बालक घाइते भएका थिए । बाख्रा चराउन गएका उनीहरूले ओढारमा आगो बाल्दा विस्फोट भएको थियो ।
केही वर्षअगाडि फाल्गुनन्द गाउँपालिकाको चिलिङदिनमा पनि विस्फोट भएको थियो । बारीमा भेटिएको वस्तु खेलौना भनेर खेलाउँदा विस्फोट भएर बालकका हातका औँला चुँडिएका थिए ।
प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१ २०:२४