गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारका सदस्य रमेश केसीले आफूलाई कतार प्रहरीले बलात्कारको आरोपमा पक्राउ नगरेको दाबी गरेका छन् ।
मोरोक्को नागरिक एक महिला कर्मचारीले बलात्कारको आरोप लगाएपछि प्रहरीले पक्राउ गरेको भन्दै मिडियामा आएका समाचारको उनले खण्डन गरेका छन् । कतारमा आफूले सञ्चालन गरिरहेको अरबानी क्लबमा काम गर्ने मोरोक्कोकी एक महिलालाई कानुनी प्रक्रियाअनुसार कामबाट निष्कासित गरेपछि यो विवाद आएको केसीको दाबी छ ।
कामबाट निकालिएकी महिला कर्मचारीले प्रशासनमा फोन गरी प्रहरी बोलाई बन्धक बनाएर राखेको झुट्टा आरोप लगाएपछि व्यवस्थापक वीरेन्द्र केसी र इन्चार्ज सुदिप पाठकलाई प्रहरीले सोधपुछका लागि लगेको उनले स्वीकारेका छन् । ‘संचालकको हैसियतले प्रशासनले सोधपुछका लागि मलाई पनि बोलाएको हो’ उनले पठाएको खण्डनपत्रमा छ ।
ती महिला स्वदेश फर्किन नचाहेकाले ‘नो अब्जेक्सन लेटर’ प्रदान गर्ने र कतार आईडी कार्ड नवीकरण गर्ने सहमति गरी समस्या समाधान भइसकेको केसीले जनाएका छन् ।
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१ १७:०५