बर्दिया आए पनि मलाई लामो समयसम्म गरनडाँडाका सम्झनाहरूले सताइरहे । आधा जिन्दगी बाँचेको भूगोल र ती मायालु मान्छेलाई कसरी चटक्कै बिर्सन सकिन्थ्यो र ! त्यहाँका एक-एक चिज मेरो मन मस्तिष्कमा आइरहन्थे । यहाँका धेरै कुरा पहाडसँग मिल्दैनथे । भूगोल, समाज र मौसम फरक । प्रायः सबै कुरा फरक अनुभव गरिरहेको थिएँ ।
पुर्खाले बाँचेको डाँडामा हावाको बेग छामेर पनि वर्षात्को अनुमान गर्न सकिन्थ्यो । केराका पातहरूको कम्पनले वर्षात्लाई बोलाउँछ भन्थे । परदेशीले माया मार्यो कि भनेर भुङ्ग्रोमा नुन हालेर पड्काउँथे । आगो भर्भरायो भने पाहुना आउँछन् भन्थे । आँगनमा छायाँको लम्बाई नापेर घडी हेर्ने जमाना थियो मेरो । जंगलका हरियो देखेर ऋतुमाससमेत अड्कल गर्न सकिन्थ्यो । समाज चल्दै जाँदा मान्यताहरू निर्माण हुँदै जाने रहेछन् । कतिपय समय बदलिँदै जाँदा अन्धविश्वास र कुरीतिमा परिणत हुँदारहेछन् । हिजो हामीले सही सत्य मानेर गरेका व्यवहार र रीतिथितिहरू आज गलत सावित भए । दिनमास सधैँ एउटै नहुने रहेछ । हिजो राजाको गुनगान गाउनु असल काम मानिन्थ्यो, आज राजा मान्नेहरूलाई अर्कै नजरले हेरिन्छ । पहाडमा सबैतिर धान खेती हुँदैनथ्यो । खोला किनारका जग्गामा केही धान फल्थ्यो । बारीमा कोदो, गहुँ, जौ, सिल्टुम, भट्ट, मास हुन्थ्यो । अन्न कुट्ने पिसाउने साधन ढिकीजाँतो मात्रै थिए । खाना खाएपछि राति अबेरसम्म मकै छोडाइन्थ्यो । तोरीको तेल पेल्न गाउँमा काठका कोल थिए । तिनै कोलमा चिउरीका बियाँ पेलेर घ्यू-तेल निकालिन्थ्यो ।
गरनडाँडामा उखु पनि लगाइन्थ्यो । उखु पेलाउने छुट्टै कोल हुन्थे । उखुको रसबाट खुदो र खुदो जमाएर गुँड बन्थे । चिया पकाउँदा चिनीको सट्टा त्यही गुँड या खुदो प्रयोग हुन्थ्यो । अमिलो तथा कागती पेलेर रस निकालिन्थ्यो । अमिलो रस कालो नहुञ्जेल पकाउँथे र चुक तयार हुन्थ्यो । अचार, चटनीमा त्यही चुक प्रयोग हुन्थ्यो । यहाँको उत्पादनले वर्षभरि पनि खान पुग्दैनथ्यो । पशुपालन यहाँको अर्को महत्त्वपूर्ण काम थियो । रिपतिरका मगर समुदायका मानिसहरूले भेडा, सुँगुर र कुखुरा पाल्थे । बाह्मण समुदायमा भने खसी, बाख्रा, गाई, भैँसी नै पालिन्थे ।
मान्छेले अनेक हण्डर, ठक्कर खान्छ । अपमान भोग्छ । खुसीका लागि धेरै दुःखहरू भोग्छ । जिन्दगी भन्नु यस्तै रै’छ । आमाबा भनेका जिउँदा भगवान हुन् । यद्यपि, मेरो र रुकाको भाग्यमा बाआमाको माया लामो समयका लागि लेखिएको रहेनछ ।
सबैका घरमा लैना भैँसी हुन्थे । घरघरै दूध, दही, घ्यूलगायत गोरस हुन्थ्यो । बुटवल वा तानसेन ल्याएर घ्यू बेचिन्थ्यो । पहाडमा आरूको फूल निकै राम्रो फुल्थ्यो । आरू फुलेपछि बर्खा लागेको मानिन्थ्यो । पहिला आरू फुल्थ्यो । आरू फुलेपछि मात्रै अरू बोटमा फूल खेल्न सुरु गर्थे । केतुकी फुल्थ्यो । केतुकी फूललाई पूजाआजामा चढाउन हुँदैन भन्थे मानिसहरू । धँगेरामा त्यत्तिका रस हुन्थ्यो तर मौरीले त्यो चुस्दैनथे । खै किन हो ! धेरैथरिका फूलका रस चुसेर मह बनाउने मौरीले धँगेराको रस किन चुस्दैनथे ! प्रकृतिको लीला ! असुरो काटेर बार लगाइन्थ्यो । खेतबारीलाई ओसेप हुने ठूला डाला काटेर मलखातमा या बारीमा राख्दा मल हुन्थ्यो । तराईतिर धैँचाजस्तै । बीउ छर्दा हिले खेतमा गाडेर त्यसमाथि बीउ छरिन्थ्यो । पाती पनि मलको रूपमा प्रयोग हुन्थ्यो । वसन्तमा डुम्री झपक्कै पलाउँथ्यो । हिउँदमा सर्लक्क पात झर्थ्यो । खनियो पनि झपक्क पलाउने । बडहर, कुटमेरो गिँदरीको घाँस खाएपछि गाईभैँसीले दूध पनि बढी दिने र घ्यू पनि धेरै लाग्थ्यो ।
गाउँघरतिर चिउरीका ठूल्ठूला रूख हुन्थे । चिउरीका सेता फूल छपक्कै हुन्थे । चिउरी फुल्दा माहुरीहरू चिउरीको फूलको रस बटुल्न दिनभर झुम्मिइरहन्थे । चिउरी फुलिसकेपछि छपक्कै फल लाग्थ्यो । दूधमा पाकेको चिउरी मिसाएर कुराउनी घोट्ने र खिर पकाउने चलन थियो । चिउरीको खिर निकै गुलियो हुन्थ्यो । चिउरीका बियाँ जम्मा गरेर कोलमा पेलेर घ्यू निकालिन्थ्यो । चिउरीको घ्यू तराकारी पकाउँदा प्रयोग हुन्थ्यो । आफ्नैखाले धार्मिक र सामाजिक परम्परा थिए । चतुर्दशी सधैँ बारिन्थ्यो । चतुर्दशीमा सधैँ घरमा खिर पाक्थ्यो । खिर म आफैँले पकाउँथेँ । मैले पकाएको खिर मीठो हुन्छ भन्नेहरू धेरै थिए । घ्यू हालेर चामल भुटेर दूधमा पकाएको भातलाई ढकनी भनिन्थ्यो । त्यसरी पकाएको ढकनी दुई-तीनदिन राख्दा पनि बिग्रिँदैनथ्यो । घर छोडेर कतै टाढा जाँदा बाटोमा खानका लागि वा पाहुना लाग्दा ढकनी, कुराउनी बोक्ने चलन हुन्थ्यो । तिजमा घ्यू हालेर खाजा पाक्थ्यो । खाजा मुठ्ठीमा राख्दा कुहिनोबाट घ्यू चुहिनुपर्छ भन्थे ।
चाडपर्वमा फुपूहरू आउनुहुन्थ्यो । उहाँहरू बसुन्जेल दाउरा–घाँस गर्न सघाउनुहुन्थ्यो । फूपू फुपाजु, भाइबहिनीहरू आउँदा मीठोमसिनो पकाएर खुवाइन्थ्यो । जता गए पनि त्यतिबेला घरपरिवारको सन्चो-बिसन्चो, खेतीपाती र पशुचौपायाकै कुरा हुन्थे । उब्जनी, ऋण, दुःख बिमारीका कुरा हुन्थे । पाहुना लाग्दा जहाँ पनि हुक्कामा तमाखु सल्काएर तान्न दिने चलन थियो । खाना खाने बेला पाहुनालाई अम्खोरामा पानी दिइन्थ्यो हातखुट्टा धुनका लागि । अबेर रातसम्म घरपरिवारका दुःखसुखका कुरा र कथाकुथुङ्ग्री हालेर बसिन्थ्यो । रातमा हिँड्दा तीनतारे हेर्थेँ । शुक्रो हेरेर, सप्तऋषि तारा हेरेर उज्यालो हुन लागेको अनुमान लगाउँथे । त्यतिबेला रातिमा समयको नापो गर्ने यिनै तारागण थिए । अहिले जस्तो हातहातमा घडी कसको हुनु ! अहिले मिनेट-मिनेटको अर्थ हुन्छ, त्यो बेला प्रहरको अनुमान गरेर हिँड्नुपर्थ्यो । भालेका डाँकोहरूमा हिँड्नुपर्थ्यो । टाढा-टाढा बासेका भालेहरूले बिहान भएको जनाऊ दिन्थे ।
खडेरीले लहलहाउँदा मकैका कलिला बोट सुकेर खङ्ग्रङ्ग हुन्थे । खेतका गरामा पहिरो खसेर बगर बनेको हुन्थ्यो । तर पनि हिम्मत हारिँदैनथ्यो । विनाश र आपत्तिमा पनि सम्हालिएर हिँड्नु नै जीवन रहेछ ।
जंगली जनावर देखेर तर्सिएका अनेक पलहरू छन्, मेरो सम्झनामा । जंगलमा जनावरसँग जोगिएर हिँड्नुपर्थ्यो । भिरालो पहाडमा पहिरोसँग । खोलाको बाटो भएर हिँड्दा वर्षात्मा बाढीको ठीक अनुमान गर्न सक्नुपर्थ्यो । त्यो भनेको अहिले ट्राफिक लाइट हेरेर बाटो काटे जस्तो हो । धान, अन्नबाली राम्रो फल्दा खुसी मिल्थ्यो । धन्सारमा मकै कोदो र धानले भरिएका भकारी देख्दा सन्तोष हुन्थ्यो । कहिले बाढीले तहसनहस पार्थ्यो । कहिले पाक्न लागेको धान पहिरोले पुरिदिन्थ्यो । खडेरीले लहलहाउँदा मकैका कलिला बोट सुकेर खङ्ग्रङ्ग हुन्थे । खेतका गरामा पहिरो खसेर बगर बनेको हुन्थ्यो । तर पनि हिम्मत हारिँदैनथ्यो । विनाश र आपत्तिमा पनि सम्हालिएर हिँड्नु नै जीवन रहेछ ।
पहाडको जिन्दगी आफ्नै लयमा हिँडेको थियो । सरल जिन्दगी बाँचेका मगरका छोराहरू उमेर पुगेपछि भर्ती हुन जान्थे । कोही हङकङ, कोही मलाया त कोही भारतीय सेनामा भर्ती हुन्थे । भर्ती भएर आउँदा कस्सिएका जुत्ता लगाएर आउँथे । उनीहरूको पहिरन बेग्लै हुन्थ्यो । भर्ती भएकाहरूको जिन्दगी सप्रियो भन्थे गाउँलेहरू । गाउँमा उनीहरूको इज्जत बढ्थ्यो । अघिल्लो पुस्ताका मान्छेहरू हलो जोत्ने, सिकर्मी, डकर्मीको काम गर्थे । बाँसको चोयाबाट भकारी मान्द्रा बुन्थे, धान, कोदो, मकै राख्नका लागि । मान्द्रा, भकारी अन्नसँग साट्ने चलन थियो । भकारी दिएर चिथ्रे (भकारी बेच्ने मानिस)हरूले कोदो मकै लैजान्थे । धेरै बाँस हुने ठाउँहरूमा मान्द्रो, भकारी, डोका बुनिन्थ्यो । मान्छेले अनेक हण्डर, ठक्कर खान्छ । अपमान भोग्छ । खुसीका लागि धेरै दुःखहरू भोग्छ । जिन्दगी भन्नु यस्तै रै’छ । आमाबा भनेका जिउँदा भगवान हुन् । यद्यपि, मेरो र रुकाको भाग्यमा बाआमाको माया लामो समयका लागि लेखिएको रहेनछ ।
मान्छेले अगाडिको भाग देखेर आज पाइयो भनेर मात्रै हुँदैन । पछिको भाग पनि हेर्न सक्नुपर्छ । आजको सजिलो बाटोले भोलि भीरमा पुर्याएर छोड्न सक्छ । नुन बोक्दाबोक्दै बा बित्नुभयो । बा बिते पनि उकालो काट्नै पर्ने, नदीका भङ्गालो तर्नै पर्ने रहेछ । जिन्दगीका उकालाहरू देख्दा कहिले रिस उठ्थ्यो, कहिले माया लाग्थ्यो । महिलाका लागि त्यो समय अझै कष्टकर थियो । घर समाजमा निकै बुहार्तन बेहोर्नुपर्थ्यो । घरपरिवारकै टोकसो सहनुपर्थ्यो । नजिकबाट मृत्यु देखेपछि मृत्युसँग डर नलाग्दोरहेछ । जीवन बाँच्ने निश्चित नियमहरू छैनन् । निश्चित बाटाहरू छैनन् । जीवन जिउनका लागि अनेक बाटोहरू हुन्छन् । जिन्दगी जिउने क्रममा जुन बाटो हिँड्दा पनि हुन्छ । यत्ति हो, घरको मुलीले बाटो बिराउनु हुँदैन । मैले पनि बाटो बिराइनँ । आफ्नो बुद्वि र विवेकले भेटेसम्म परिवारलाई डोर्याएर हिँडे । बाटो नबिराई हिँडेकाले नै यहाँसम्म आएँ ।
-गैरेको १९ साउनमा बाँकेको कोहलपुरमा विमोचन हुने उपन्यास मोहोरको एक अंश ।
प्रकाशित मिति: शनिबार, साउन १९, २०८१ १२:०९