नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी ओलीबीच १५ असारमा भएको राजनीतिक भेटले सत्ता गठबन्धन नै हल्लाइदिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणका एक आरोपी बेचन झा पक्राउ पर्नु र दुई ठूला दलका शीर्ष नेता त्यहीबेला भेट्नुलाई संयोग मात्र नभएको दाबी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डनिकट स्रोतको छ । झाको गिरफ्तारीले कांग्रेस-एमालेमा बेचैनी बढेको टिप्पणी बालुवाटारको छ ।
नेपाल प्रहरीको विशेष ब्युरोको टोलीले झालाई आइतबार कञ्चनपुरबाट पक्राउ गरेको हो । प्रकरणमा प्रहरीले सबैभन्दा धेरै खोजेका व्यक्ति हुन झा । झा पक्राउ परेको २४ घण्टा नबित्दै नेपाली राजनीति तरंगित हुनेगरी ओली र देउवा भेट भएको थियो । झाको सम्बन्ध कांग्रेसका शीर्ष नेता र उनको परिवारसँग रहेकाले उनी पक्राउ पर्नासाथ राजनीतिक दौडधुप र गठबन्धन फेरबदलको स्थिति आएको दाबी माओवादीनिकट स्रोतको छ ।
प्रकरणमा जोडिएका अर्का पात्र हुन्, पूर्वगृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा । नक्कली भुटानी शरणार्थी प्रकरणमा १४ महिनादेखि प्रहरीका फरार सूचीमा रहेका थापालाई शुक्रबार काठमाडौंबाट पक्राउ गरेको हो । यसले पनि ओलीलाई एकाएक कांग्रेसप्रति लचिलो बनाएको चर्चा राजनीतिक वृत्तमा छ । उनका स्वकीय सचिव राजेश बज्राचार्यको नाम पनि यो प्रकरणमा जोडिएर आएको थियो ।
झामाथि काठमाडौं प्रहरी परिसरले अनुसन्धान गरिरहेको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान रचिएको अपराधमा झाले बिचौलियाको भूमिका मात्र होइन, मन्त्रिपरिषद्बाट नै निर्णय गराउन महत्त्वपूर्ण भूमिका खेलको अभियुक्तहरूले वयान दिएका थिए । झाले यो प्रक्ररणमा मुछिएका गिरोहबाट २ करोड रुपैयाँ बुझेको प्रहरी अनुसन्धानमा खुलेको एक प्रहरी अधिकृत बताउँछन् । यो प्रकरणमा मुछिएका व्यक्तिहरू २०७९ साल चैतबाट पक्राउ पर्न थालेका थिए ।
पक्राउको सिलसिला अहिलेसम्म जारी छ । झा पक्राउपछि प्रहरीले दोस्रो चरणको अनुसन्धान सुरु भएको बताएको छ । नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउने योजनामा मन्त्रिपरिषद्बाट आवश्यक निर्णय गराउने जिम्मा झाले लिएको यसै मुद्दामा अहिले जेलमा रहेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र अर्का आरोपी रामशरण केसीले बयान दिएका थिए ।
बेचन झाबारे केसीको वयान अंशः
मिति २०७८।०८।१३ गते मन्त्रिपरिषद्को बैठकबाट भुटानी शरणार्थी सम्बन्धी केही हामीलाई काम लाग्ने निर्णयहरू हुन लागेको छ । उक्त निर्णय गराउन बेचन झाले केही रकमहरू मागेका छन् उनीलाई चेक काटी दिनू भनी प्रतिवादी सानु भण्डारीले भनेपछि मेरो नाममा हिमालयन बैंकमा रहेको खाताबाट बेचन झाको नाममा रु.२,००,००,०००। (दुई करोड) को चेक काटी मेरो दस्तखत समेत गरी उक्त चेक बेचन झालाई काठमाडौंस्थित बानेश्वर ह्रवाइट हाउस अगाडि बाटोमा मिति २०७८ मंसिर ८ गते राति २०ः०० बजे तिर भेटी दिएको हुँ ।
उक्त चेकको फोटोसमेत खिची मेरो साथी प्रेमराज पन्थीलाई पठाएको तथा म पक्राउ पर्नुभन्दा अगाडि मेरो साथी पविता राईलाई सो घटना सम्बन्धमा प्राप्त भएका कागजातहरू सुरक्षित साथ राख्न दिएकोमा निजले अनुसन्धानका क्रममा पेस गरेको हुँदा सो चेकको विवरण खुल्न आएको हो ।
बेचन झालाई चेक दिँदा मेरो मोबाइलमा उक्त चेक दिइएको भिडियोसमेत खिचेकाले उक्त भिडियो आवश्यक परेमा पछि पेस गर्न सक्छु । सानु भण्डारीले भुटानी शरणार्थीमा अमेरिका पठाउने कार्यका लागि मन्त्रिपरिषद्बाटै बेचन झाले केही निर्णयहरू गराउँछन्, उक्त निर्णयहरूको आधारमा अमेरिका तथा तेस्रो मुलुकमा सुकुमबासी पठाउन सजिलो हुन्छ सानु भण्डारीले भनेकाले उक्त रकम मैले चेकमार्फत दिएको हुँ ।
नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने बिचौलियाको योजनामा भुटानी शरणार्थी समस्या समाधानका लागि पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा बनेको समितिले तयार पारेको प्रतिवेदनमा उल्लेख नाम हटाएर पैसा बुझाउनेको नाम राखिएको थियो । त्यही नक्कली प्रतिवेदन मन्त्रिपरिषद्बाट पास गराउने जिम्मा झाले लिएको केसीको वयानमा उल्लेख छ । त्यतिबेला प्रधानमन्त्री शेरबहादुर देउवा थिए ।
यो प्रतिवेदनबाट नाम हटाउने कुरामा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण सहमत भइसकेका थिए । प्रहरीले तत्कालीन प्रधानमन्त्रीको नजिकका व्यक्तिहरूको मिलेमतोमा यो काम गरेको आशंका गरेको छ । अब झाको वयानबाट थप कुरा खुल्ने आशामा प्रहरी छ । शरणार्थी प्रकरणमा पक्राउ परेका झालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
प्रकाशित मिति: सोमबार, असार १७, २०८१ १५:३५