दुई जल्दाबल्ला युवा बालेन्द्र शाह बालेन र सुनिता डंगाेल देशकाे राजधानी रहेकाे काठमाडाैं महानगरपालिकामा क्रमश: मेयर र उपमेयरमा निर्वाचित भएपछि देशभित्र मात्रै हाेइन, अन्तर्राष्ट्रिय जगतमा पनि तरंग ल्याएकाे थियाे । नयाँ पुस्ताकाे आशालाई याे जाेडीले निराशामा परिणत नगर्ने अनुमान धेरैकाे थियाे ।
तर कसैकाे कुरा नसुन्ने आफू भने सामाजिक सञ्जालमार्फत जथाभावी बाेल्ने बालेनशैलीले महानगरले गरेका राम्रा कामहरूलाई पनि विवादमा तान्याे । र याे दुई वर्ष उपमेयर डंगाेलकाे रहस्यमय माैनता देखियाे । तर साेमबार महानगरले आगामी आर्थिक वर्षकाे बजेट सार्वजिक गर्ने दिन बसेकाे महानगरकाे अधिवेशनकाे दृश्य फरक देखियाे । मेयर बालेन र उपमेयर सुनिताबीच सहकार्य ठीकठाक नरहेकाे संकेत साेमबार नगरसभा बैठकमा देखियाे । दुई वर्षसम्म बालेनकाे कार्यशैलीबारे सार्वजनिक टिप्पणी नगरेकी डंगाेल विस्फाेटक रूपमा प्रस्तुत भइन् । जसले मेयर र उपमेयरबीच समन्वय नभएकाे स्पष्ट संकेत गरेको छ ।
र्यापर पृष्ठभूमिका शाह स्वतन्त्र र सञ्चारकर्मीका रूपमा कार्य गरिरहेकी डंगाेल नेकपा एमालेबाट मेयर र उपमेयरमा निर्वाचित भएका हुन् । हुन त सुरुमा डंगाेलले पनि स्वतन्त्रै मेयर लड्ने तयारी गरेकी थिइन् । तर राजनीतिमा अब युवा पुस्तालाई सार्नैपर्ने आवश्यकताकाे बाेध गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्तिम समयमा सुनितालाई उपमेयरकाे टिकट दिएर जिताएका थिए ।
स्वतन्त्र निर्वाचित मेयर शाहकाे कार्यशैलीबारे वडाध्यक्षहरूले सुरुदेखि नै आपत्ति जनाउँदै आएका भए पनि उपमेयर डंगाेलले उनलाई साथ दिएकाे चर्चा चल्ने गरेकाे थियाे । हुन पनि अहिलेसम्म यी दुईबीच कुनै किसिमकाे विवाद देखिनेगरी सतहमा आएकाे थिएन । तर, साेमबार महानगरकाे १५औँ नगरसभामा भने फरक दृष्य देखियाे । नगरसभा सदस्यहरूले बाेल्ने क्रम सकिएपछि मेयर शाहले उपमेयर डंगाेललाई बाेल्ने समय दिएका थिए ।
डंगाेलले आफ्नाे धारणा राख्ने क्रममा मेयर शाहकाे कार्यशैली र व्यवहारबारे भद्र ढंगले चर्काे आलाेचना मात्रै गरिनन् आगामी दिनमा यही शैली कायमै रहे सहकार्य ठीक ढंगले जान नसक्ने सन्देश पनि दिइन् । मेयरकै कार्यशैली र व्यवहारका कारण नगरसभामा ध्रुवीकरण भएकाे आशय व्यक्त गर्दै उनले भनिन्, 'यो संसद हाेइन, नगरसभा हाे । यहाँ सत्तापक्ष र प्रतिपक्ष हुँदैन । ध्रुवीकरण हुनु कदापी राम्रो सन्देश होइन ।'
उनले बालेनलाई लक्षित गर्दै अभिव्यक्ति दिँदा पदकाे गरिमा राख्न सक्नुपर्ने बताइन् । जथाभावी बाेलेर समाजमा राजनीतिक अराजकता मच्चाउन नहुने पनि उनले बताइन् । खासमा मेयर शाहले विगतमा सामाजिक सञ्जालबाट 'सिंहदरबार जलाउँछु' भनी दिएको अभिव्यक्तिप्रति आज नगरसभाकाे बैठकमा प्रश्न उठेकाे थियाे ।
नगरसभा सदस्य अनिता कार्की ढोलीले 'मेयरले सिंहदरबार जलाउँछु भन्दा भोलि महानगरवासीले मेयरको दरबार जलाए भने के हुन्छ' भनेर प्रश्न गरेकी थिइन् । यही प्रसंगबारे डंगाेलले मेयर शाहलाई समेत सन्देश पुग्नेगरी भनिन्, 'सिंहदरबार जलाउँछु भन्नु गलत हाे भने महानगर जलाउँछु भन्नु पनि गलत हाे । जे मुखमा आयो त्यो बोल्न पाइँदैन । राजनीतिक अराजकता त्याग्नुपर्छ । कम्तीमा काठमाडौं महानगरपालिकाले देशभर उदाहरण दिनुपर्छ ।'
यतिमात्रै हाेइन उपमेयर डंगाेलले घुमाउराे ढंगले मेयर शाहले आफूबाहेक अरुकाे अस्तित्व स्वीकार्न नसकेकाे आराेप पनि लगाइन् । सबैको भावना समेटेर काम गर्ने वातावरण बनाउनुपर्ने बताउँदै उनले एकअर्कालाई नकार्दै जाने हो भने विकास होइन, विनाश निम्तिने चेतावनीसमेत दिइन् ।
'सहकार्य, समन्वय र सहअस्तित्वबिना काम गर्न सकिँदैन,' उनले भनिन्, 'प्रमुखले उपप्रमुखको अस्तित्व नस्वीकार्ने, उपमेयरले वडाध्यक्षकाे र वडाध्यक्षले सदस्यकाे अस्तित्व नस्वीकारेर जाने हाे भने यसले विकास होइन, विनाशतर्फ लग्छ ।'
डंगाेलले आफ्नाे पार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समेत मेयरले 'गाली' गरेकाे प्रसंगबारे पनि मुख खाेलिन् । 'कहिले कुन नेतालाई गाली गरेकाे छ । कहिले के गरेकाे छ । यसरी विवाद सिर्जना गर्नु हुँदैन । पदकाे गरिमा राख्नुपर्छ ।'
'मनमा जे जे आयाे बाेल्ने हाे । कापाेलकल्पित कुराहरूलाई आफ्नाे अभिव्यक्तिका रूपमा अघि सार्ने हाे भने त्यसले समाजमा अराजकता निम्त्याउँछ । त्यसले राजनीतिक अराजकता निम्त्याउँछ । राजनीतिक अराजकता निम्त्याउने कुरामा हामीले कदापी सहेर बस्नु हुँदैन', सुनिताले दाेहाेर्याइन्' 'त्यसकारण पदकाे मर्म बुझेर हामीले अभिव्यक्ति राख्नुपर्छ ।'
उनले फरक मतलाई पनि सबैले सम्मान गरेर अगाडि बढ्नुपर्ने बताइन् । राजनीतिमा युवा आउनुपर्ने उदाहरण आफूहरूले दिएकाे बताउँदै डंगाेलले जिम्मेवारी पनि सम्झनुपर्ने बताइन् ।
प्रकाशित मिति: सोमबार, असार १०, २०८१ १९:४४