रातो बालुवाको बगैँचा
तातो भकभक उम्लिँदै छ
जहाँ हरियाली कल्पनामा अटाउने गर्छ
मनसुनी वर्षा केवल मनको आकाशमा हुन्छ
सँगै छन् भण्डार पानीको
नुन चर्को भएको तिउनको झोलजस्तै
बेला-बेला बतासको बेगसँग छिल्लेर
किनाराको चिप्लो ढुंगा चुम्न आइपुग्छ
हुत्तिँदै छालका लहरहरू
त्यही छालको लहरसँगै
आफूलाई पनि बगाउँछु
टाढा-टाढा
विरासतमा आएका सम्झनाहरूसँगै
गतसालको भन्दा बेस्सरी उष्ण छ तापक्रम
शरीर पानीजस्तै पसिनाको मुहान
पहाडको चेप हो कि हिमालको फेद
खुट्याउन हम्मे-हम्मे भएको छ
रहर कोमामा पुगेर
खुसीको हुँदै छ हरेक दिन मृत्यु
तालु तताउने
अरबको गृष्म ॠतु ।
०००
५० डिग्रीभन्दा माथिको तापक्रमा जलेर
जीवनले अग्नि परीक्षा लिँदै छ
वेदनाले भरेको सत्य कथा
उजाड मरुभूमि बालुवामा कोर्दै छु
रगतपसिनासँग साटेको रेमिट्यान्सले
देशको आर्थिक प्राण धान्दै छ
खाडीको गर्मीमा यसरी जल्दै छु
जसरी जल्छ, अगेनामा सुकेको दाउरा
गैँती र बेल्चाको स्पर्शले
छियाछिया भएको हत्केलाको
भाग्यरेखा मेटिइसकेको छ
स्वदेशको यादमा
दिल दुखेर घाइते भएको छ
कर्मसँग गाँसिएका सम्बन्धहरू
सैयदको मुडमा परेर
थोरै गल्तीमा
धेरै गाली खानु छ
दलबहादुरले भिडाई पठाएको
नक्कली एग्रिमेन्ट पेपर
सिरानीमा मैलिएको प्रियसीको तस्वीर
विश्वासको बनेको छ
भरपर्दो सेतु
भयंकरको गर्मी
अरबको गृष्मॠतु ।
०००
यहाँ हिउँ बोक्ने पहाड छैन
यहाँ चिसो बतास बग्ने देउराली र चौतारी छैन
यहाँ मनसुन डाक्ने
हरियाली वन-जंगल कतै छैन
मजस्तै महरू
धेरै कुरा भएर पनि
केही नभएको बेवारिसेजस्तै बनेर
निर्जन मरुभूमि किनारमा
जीवनको परिभाषा खोज्दै छु
को दोषी ?
मेरो जीवन !
मेरो भाग्य !
या देश चलाउने शासकको अयोग्यता ?
जलेको छ, धेरै नेपालीको जिन्दगी भक्कु
अरबको गर्मीले
त्यसैले प्यारी नेपाल आमा,
छुट्टीबाट फर्कंदै गरेको साथीलाई
पार्सलमा गुन्द्रुक, सिन्कीसँगै अलिकति
हिमालको हिउँ पोको पारेर चिसो पठाइदिनू है !
गर्मीले गलेको जिन्दगीलाई
राहत मिल्नेछ ।
प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१ ०७:२९