नेकपा एकीकृत समाजवादीले असार १६ देखि २० गतेसम्म काठमाडौंमा गर्ने भनेकाे महाधिवेशनकाे मिति नसर्ने सर्वसम्मत निर्णय केन्द्रीय कमिटीबाट गरे पनि महाधिवेशन सार्ने चलचेख भइरहेकाे नेकपा एसका कतिपय नेताहरूले दाबी गरेका छन् । महाधिवेशनकाे मिति सार्ने चर्चाका बीच भावी नेतृत्व कसले लिने भन्ने विषय पनि उठिरहेकाे छ ।
अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुने चर्चा चलेकाे छ । नेता खनालले त्यसका लागि तयारी गरेकाे समेत दाबी छ ।
नेपालको रणनीति
९ भदौ २०७८ मा विधिवत् रूपमा पार्टीको मान्यता पाएको नेकपा एकीकृत समाजवादीका संस्थापक अध्यक्ष हुन् माधवकुमार नेपाल । एमालेमा अध्यक्ष केपी शर्मा ओली गुटबन्दीपूर्ण क्रियाकलापमा लागेको भनेर नेपाललगायतका नेताहरूले पार्टी विभाजन गरेका थिए । पार्टी विभाजन भएपछि माधवकुमार नेपालले नेतृत्व गर्दै आएका छन् ।
गत वर्ष साउनमा भएको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा जनताको बहुदलीय जनवाद कार्यदिशा हुने उल्लेख गरेका थिए । यो बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा 'हामीले मार्क्सवाद–लेनिनवादलाई मात्र पार्टीको मार्गदर्शक सिद्धान्त मान्छौँ' भनिएको छ । अब समाजवादी कार्यदिशा अँगाल्ने भनिएको छ । नेपालको राजनीतिक प्रतिवेदनमा 'पार्टीको रणनीतिक लक्ष्य लोकतान्त्रिक मूल्य मान्यतासहितको वैज्ञानिक समाजवाद हो, पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद हो भनिएकाे छ ।'
लोकतान्त्रिक मूल्य मान्यतासहितको राजनीतिक प्रणालीका साथ मार्क्सवादको सिर्जनात्मक प्रयोग गर्ने पक्षमा रहिआएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, ‘जननेता कमरेड मदन भण्डारीको अगुवाइमा नेपाली क्रान्तिको कार्यक्रमका रूपमा प्रतिपादित जनताको बहुदलीय जनवादले नेपाली कम्युनिस्ट आन्दोलनको व्यापक विस्तार एवं विकास र लोकतन्त्रीकरणमा महत्त्वपूर्ण योगदान गरेको थियो ।'
जबजबारे प्रतिवेदनमा भनिएको छ, ‘जनताको बहुदलीय जनवादमा अगाडि सारिएका सामन्तवादविरोधी राजनीतिक माग, नारा र मूल्य मान्यताहरू संविधानमा संस्थागत भएका छन् । यो उपलब्धिको पक्ष हो । तर, यसले अगाडि सारेका समाजको आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका मागहरू भने व्यवहारमा लागू भइसकेका छैनन् । ती मागहरूलाई अब पार्टीले अगाडि सार्ने समाजवादी कार्यक्रमका अभिन्न अङ्ग बनाएर अझै उन्नत रूपमा प्रस्तुत गरी कार्यान्वयन गर्नुपर्छ ।’
महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमा जबज मार्गदर्शक सिद्धान्त हुने भनेर कहीँकतै किटानी गरिएको छैन । केही अगाडिका बैठकहरूमा प्रस्तुत हुने प्रतिवेदनमा नेपालले जबज मार्गदर्शक सिद्धान्त हुने, अहिले नै छोड्न नमिल्ने भन्दै आएका थिए । जसका कारण विवाद भएको थियो । तर, अहिले प्रतिवेदनमा जबज बोक्ने, आवश्यकता रहेको कहीँ कतै उल्लेख छैन । यस कारण अब नेकपा एसमा वैचारिक भिन्नता नरहेको उपमहासचिव विजय पौडेल बताउँछन् । उनले भने, ‘हाम्रो पार्टीमा अब वैचारिक मतभिन्नता छैन । जबजको औचित्य छ भनेर भनिरहनु पर्दैन । २०६२–०६३ सालको जनवादी क्रान्तिपछि त्यसको कार्यभार सकिएको छ । केही बाँकी रहेका चाहिँ समाजवादी क्रान्तिको चरणमा पूरा हुनेछन् ।’


यो राजनीतिक प्रतिवेदन आएपछि वैचारिक रूपमा विवाद नभएको भन्ने देखाएर नेपाल नेतृत्वमा दोहोरिने रणनीतिमा रहेको बताइन्छ । पहिलो, खनालले वैचारिक मतभिन्नता रहेको हुँदा आफ्नो विचार महाधिवेशनमा प्रस्तुत गर्ने र त्यो विचार पास भए आफू नेतृत्वमा आउने रणनीति बनाएका थिए । तर, अहिले खनालले उठाउँदै आएका कुराहरू सबै राजनीतिक प्रतिवेदनमा राखेर नेपालले सहमतिमा आफू नै अध्यक्षमा दोहोरिने रणनीति अपनाएको नेकपा एसका एक पोलिटब्युरो सदस्यले बताए । ती सदस्यले भने, ‘अध्यक्ष कमरेडले चलाखीपूर्ण तरिकाले प्रतिवेदन ल्याउनुभएको छ । अब विचारमा भिन्नता नभएपछि आफू एकलौटी रूपमा अध्यक्षमा दोहोरिने रणनीति अपनाउनुभएको छ ।’
नेकपा एसमा वैचारिक समस्या समाधान भएर एउटै दस्तावेज आएको उपमहासचिव प्रकाश ज्वाला बताउँछन् । उनले भने, ‘लामो छलफलपछि वैचारिक रूपमा एक ठाउँमा आएका छौँ । अहिले एउटै दस्तावेज ल्याउने अवस्थामा पुगेका छौँ । यही दस्तावेजलाई परिमार्जन र परिस्कृत गर्दै महाधिवेशनमा प्रस्तुत गर्छौं ।’ नेपालनिकट नेताका अनुसार माधव नेपाल भने एस विभाजित हुने आशंकादेखि अध्यक्षमा प्रतिस्पर्धी आउने संकेतपछि महाधिवेशन सार्ने रणनीतिमा छन् ।
अध्यक्षको तयारीमा खनाल
विचारमा पार्टीभित्र समस्या नभए पनि महासचिव घनश्याम भुसालको सांगठनिक प्रस्तावमा गठबन्धन सरकारमा सामेल हुँदा गठबन्धनमा बढी निर्भरता हुनुपरेकाले पार्टी निर्माणको काम ओझेलमा परेको र स्थानीय, संघीय निर्वाचनमा अपेक्षित उपलब्धि हासिल गर्न नसकेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘निर्वाचनमा अपेक्षित उपलब्धि हासिल नहुँदा पार्टीमा ऊर्जा र आकर्षण कम हुँदै गयो । त्यसलाई चिरेर नयाँ ऊर्जा सिर्जना गर्न अझै धेरै परिश्रम गर्नुपर्नेछ । पार्टीको निर्माण माथिबाट गरिएको हुँदा समस्याको जरो पनि माथि नै छ । माथि समस्या भएपछि तल्ला कमिटीहरूलाई जनवादी केन्द्रियताअनुसार सञ्चालन गर्न कठिनाइहरू छन् ।’
सांगठनिक कमजोरीले गर्दा राष्ट्रिय पार्टी बन्न नसकेको निष्कर्ष नेकपा एसले गत वर्ष नै निकालेको थियो । पार्टी बनाउँदा जुन उत्साह ऊर्जा थियो, त्यो बिस्तारै कम हुँदै मात्र गएन, नेता कार्यकर्ताहरू एमालेमा फर्कने लहर नै चलेको एक केन्द्रीय सदस्यले बताए । ती सदस्यले भने, ‘नेतृत्वका कारण नेताहरू पुनः एमालेमा फर्कन थाले । आफन्तलाई जिम्मेवारी दिने । गुटबन्दी गर्दा नेताहरू रुष्ट भएर एमालेमा फर्के । अध्यक्ष र तत्कालीन महासचिव वेदुराम भुसालले पार्टीलाई ऊर्जाशील बनाउन सक्नुभएन । जसका कारण पार्टी बिस्तारै कमजोर हुँदै गयो ।’
उता झलनाथ खनाल पनि विचारमा समस्या नभए पनि नेतृत्वका लागि आफूले पनि तयारी गरेको आफूनिकट नेताहरूसँग बताउन थालेका छन् ।
विचारमा अब मत भिन्नता नभए पनि नेतृत्वका लागि सम्मानित नेताले पनि तयारी गरेको छनक आफूले पाएको केन्द्रीय सदस्य रामेश्वर श्रेष्ठले बताए । उनले भने, ‘सम्मानित नेताले पनि अध्यक्षका लागि तयारी गर्नुभएको जस्तो बुझिएको छ । विचारमा विवाद छैन । तर, अब महाधिवेशनमा अध्यक्ष नेपाल र नेता खनालबीच प्रतिस्पर्धा हुने देखिन्छ ।’ खनालले नेतृत्वका कारण नेता कार्यकर्ताहरूले पार्टी छोडेको बताउँदै आएका छन् ।
अध्यक्षले नै गुटबन्दी गरेको, गुटका आधारमा जिम्मेवारी दिँदा पार्टीभित्र समस्या आएकाले अब नेतृत्वमा आफू आउनुपर्ने धारणा राख्न थालेको एक केन्द्रीय सदस्य बताउँछन् । ती सदस्यले भने, ‘विद्रोह गरेर जसरी पार्टीमा नेताहरू लागेका थिए, पछि नेतृत्वका कारण नै पार्टी छोड्ने अवस्था आएकाले अब नेतृत्वमा आउने तयारीमा खनाल हुनुहुन्छ ।’
विचारमा समस्या नभएपछि अब महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुने गरी छलफल गर्ने तयारीमा पार्टी रहेको नेता प्रकाश ज्वाला बताउँछन् । उनले भने, ‘विचारमा एकता भइसकेपछि अब नेतृत्व पनि सर्वसम्मत हुने गरी जान्छौँ । जबज अब बोक्ने अवस्था छैन । अबको कार्यदिशा समाजवादी यात्रा भएकाले त्यसका लागि पुनः सर्वसम्मत नेतृत्व चयन हुन्छ ।’
विचारमा एकता भएसँगै अब नेतृत्वका लागि मात्र प्रतिस्पर्धा हुने उपमहासचिव पौडेल बताउँछन् । उनले भने, ‘विचारमा मतभिन्नता छैन । अब नेतृत्वका लागि मात्र प्रतिस्पर्धा हुन सक्छ । तर, अहिले नै त्यहाँसम्मको बहस भएको छैन ।’
अब नेतृत्वले विवाद गर्दा झन् समस्या आउने हुँदा पार्टी बनाउन एक ढिक्का भएर जानुपर्ने अवस्था आएको कतिपय नेताहरू बताउँछन् । धेरै नेता कार्यकर्ताले पार्टी छोडेको अवस्थामा पुनः नेतृत्वबीच विवाद हुँदा झन् निराशा आउने हुँदा मिलेर जाने सम्भावना पनि रहेको उनीहरूकाे बुझाइ छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१ २०:३३