दुवै जवान हुँदा जो बाइडेनले बेन्जामिन नेतान्याहुलाई एक पोस्टर पठाएका रहेछन्, जसमा बाइडेनले लेखेका थिए, ‘बीबी आई लभ यु तर तिम्रा कुनै पनि कुराप्रति म सहमत छैन ।’ 'बीबी' नेतान्याहुको उपनाम हो । यो किस्सा बाइडेन स्वयम्ले उपराष्ट्रपति हुँदा भनेका थिए । बाइडेनले नेतान्याहुलाई आफ्नो मित्र भन्दै तारिफ गरेको बेला अमेरिका र इजरायलबीच सम्बन्धमा चिसोपना आएको चर्चा थियो ।
८२ वर्षे बाइडेन हाल अमेरिकाका राष्ट्रपति छन् । ७५ वर्षे नेतान्याहु इजरायलका प्रधानमन्त्री छन् । आफूभन्दा सात वर्ष जेठा मित्र बाइडेनले लेखेको पत्र पछि नेतान्याहुले आफ्नो डेस्कमा राखेका थिए ।
पाँच दशक पुरानो बाइडेन–नेतान्याहु सम्बन्धमा उतारचढावको इतिहास पनि यति नै पुरानो छ ।
इजरायलको सबैभन्दा निकट सहयोगी हो अमेरिका । आफूलाई गरेको सहयोगका लागि धेरैपल्ट नेतान्याहुले बाइडेनलाई धन्यवाद टक्र्याइसकेका छन् ।
तर पछिल्लो समय यी मित्र (देश र नेता)बीचको सम्बन्धमा दरार आएको चर्चा छ । यसको कारण गाजाको दक्षिणी शहर राफालाई मानिएको छ । त्यहाँका प्यालेस्टाइनीलाई लिएर दुवै नेताको नीतिबीच टकराव देखिइरहेको छ । यसमा दुवै नेताको बाध्यता छ । यसलाई धेरै हदसम्म ‘राजनीतिक खेल’ भन्दा अतिशयोक्ति हुँदैन ।
७ अक्टुबरमा हमासले इजरायलमाथि आक्रमण गर्यो । त्यसको केही दिनलगत्तै बाइडेन इजरायल पुगे । तेल अभिभस्थित बेन गुरियन एयरपोर्टमा ओर्लिनासाथ बाइडेनले नेतान्याहुलाई अँगालो हालेका थिए ।
तस्वीर सौजन्यः एपी इजरायली वार क्याबिनेटको बैठकबाट बाहिर निस्कँदै गर्दा नेतान्याहुलाई बाइडेनले भनेका थिए, ‘तिम्रो (इजरायलको) साथमा हामी (अमेरिका) छौँ ।’
सँगै उनले स्मरण पनि गराएका थिए, ‘तर, ९/११ आक्रमणपछि हामीले जुन गल्ती गरेका थियौँ, त्यस्तै गल्ती नदोहोर्याउनू ।’ उनले यसको आशय पनि प्रस्ट्याएका थिए ।
बाइडेनले भनेका थिए, ‘प्यालेस्टाइनीले ठूलो कष्ट झेलिरहेका छन् । संसारका अन्य मानिसले जस्तै हामी पनि निर्दोष प्यालेस्टाइनीको मृत्युमा शोक मनाइरहेका छौँ ।’
एकाएक हमासको आक्रमणबाट इजरायल चकित बनेको थियो । यस्तोमा सचेत गराउँदै आफ्नो समर्थन देखाएर इजरायलसँगको सम्बन्ध थप प्रगाढ पार्नु बाइडेन भ्रमणको उद्देश्य थियो । उनी चाहन्थे, भविष्यमा इजरायल र अमेरिकाबीचको सम्बन्धमा कुनै आँच नआओस् । तर, हालै मात्र अमेरिकाले इजरायललाई पठाउनुपर्ने बमको खेप रोकिदिएको छ । इजरायली प्रधानमन्त्रीले यस कदमको विरोध गरेको समाचार विभिन्न सञ्चारमाध्यमहरूमा आएका छन् । यसको अर्थ, अमेरिका–इजरायल सम्बन्धमा ‘दरार’ देखिएको छ ।

बाइडेन सरकारले हतियारको खेप रोक्ने घोषणा गरेको भोलिपल्टै नेतान्याहुले यसको आलोचना गरेका थिए । उनले भनेका थिए, ‘कसैले साथ नदिए हामी एक्लै उभिन्छौँ । मैले पहिल्यै पनि भनेको थिएँ, आवश्यक परेमा हामी आफ्नो नङले पनि लड्नेछौँ ।’
दुई परिघटनामा आ–आफ्नो घरेलु राजनीति पनि जोडिन्छ । अमेरिकामा प्यालेस्टाइनी नागरिकको जीवनलाई लिएर विश्वविद्यालयहरूमा आन्दोलन भइरहेको छ । कतिपय अमेरिकी नागरिक राफामाथि इजरायलले आक्रमण नगरोस् भन्ने चाहन्छन् । त्यसैले इजरायलविरुद्ध कदम चाल्नु बाइडेनको बाध्यता हो ।
नेतान्याहुले त धेरै अगाडि बुझिसकेका थिए, अमेरिकी दबाबसँग झुकिएन भने देशभित्र आफ्नो आधार बढाउन सकिन्छ । त्यसैले पछिल्लो क्रिया–प्रतिक्रिया दुवैका लागि एक हदसम्म राजनीतिक साख बढाउने र जोगाउने खेलकै हिस्सा हो । तर, पूर्णतः यही मात्र नहुन सक्छ ।
अनि आयो तरङ्ग

हालै मात्र अमेरिकी राष्ट्रपति बाइडेनले आफ्नो सबैभन्दा महत्त्वपूर्ण सम्बन्ध रहेको देश इजरायलको आलोचना गरेर तरङ्ग ल्याइदिएका थिए । एक अन्तर्वार्ताका क्रममा बाइडेनलाई सोधियो, ‘इजरायलले गाजाको उत्तरी शहर राफामा आक्रमण गर्यो भने के गर्नुहुन्छ ?’
बाइडेनले जवाफ दिए, ‘म हतियार आपूर्ति रोकिदिन्छु ।’
अमेरिका र इजरायलबीच सम्बन्धको मुख्य आधार नै हतियार हो । तर, चार दशकमा पहिलोपल्ट यी दुई देशबीच यो हदसम्म दरारको अवस्था देखिएको छ ।
गाजामा गहिरिँदो मानवीय संकट समाधान र सर्वसाधारणको ज्यान बचाउन भूमिका खेल्न बाइडेनमाथि देशभित्र र बाहिरबाट खुब दबाब छ ।
मध्यपूर्वमा शान्तिका लागि मध्यस्थकर्ताको भूमिका निभाइरहेका आरोन डेभिड मिलर बीबीसीमा भन्छन्, ‘गाजामा युद्धको सुरुवातदेखि नै बाइडेन दुई फरक–फरक विचारका बीच फसेका छन्– खुलेर इजरायलको समर्थन गर्ने रिपब्लिकन पार्टी र बाइडेनको आफ्नै पार्टी, जहाँभित्र पनि मत विभाजित छ ।’
मिलरका अनुसार, इजरायलसँगको सम्बन्धमा आँच आउने कुनै पनि कदम चाल्नबाट बाइडेन जोगिँदै आएका थिए । तर, इजरायलले राफामा छिरेर कारबाही गर्ने तयारी गरेपछि बाइडेनले विचार बदलेका छन् । किनकि, यसबीचमा इजरायली ट्याङ्कहरू ठूलो संख्यामा राफा क्षेत्रको आसपास पुगेका समाचारहरू आए ।
युद्धग्रस्त गाजाकै अन्य शहरबाट भागेर लाखौँ प्यालेस्टाइनी ज्यान बचाउन राफा पुगेर शरण लिई बसेका छन् । त्यहाँ पनि हवाई आक्रमण हुन थालेको छ । स्थानीय बासिन्दाले लगातार बमको आवाज आइरहेको, त्रासमा बाँच्नुपरेको र अस्पतालमा घाइतेको संख्या दिनानुदिन बढिरहेको बताइरहेका छन् ।
यस क्षेत्रबाट १ लाख मानिस भागेर अन्त कतै गएको र उनीहरू छत, खाना, पानी र अन्य सुविधाको अभावसँग जुधिरहेको संयुक्त राष्ट्र संघले जनाएको छ ।

अझ इजरायली प्रधानमन्त्री नेतान्याहु पूरै शक्ति लगाएर जमिनी कारबाही गर्ने बताइरहेका छन् । राफा शहरमा १० लाखभन्दा बढी विस्थापित प्यालेस्टाइनीले शरण लिएका छन् ।
युद्धविरामसम्बन्धी वार्ताको कुनै परिणाम निस्के पनि ननिस्के पनि राफामा लुकेर बसेका हमासका चार टुकडीलाई समाप्त गर्न कारबाही आवश्यक रहेको नेतान्याहुको निष्कर्ष छ । तर, इजरायलले राफामा पस्ने तयारी गरेको थाहा पाएदेखि नै अमेरिकाले बारम्बार भनिरहेको छ, ‘हमासविरुद्ध सीमित र सटिक कारबाही गर, राफामा ठूलो आक्रमण नगर, निर्दोष मान्छेको हताहती हुन्छ ।’
राफामा इजरायलले कारबाही नरोके युद्धविराम र बन्धक रिहाइको प्रयास असफल हुने आशंका बाइडेनलाई छ । केही वर्ष अमेरिकामा प्रशासनिक सल्लाहकारका रूपमा काम गरिसकेका मिलरका अनुसार, बाइडेन इजरायलको छिमेकी इजिप्टसँग पनि कुनै खालको तनाव चाहँदैनन् ।
राफामा कारबाही भएमा बाइडेनको डेमोक्र्याटिक पार्टीभित्र थप विभाजनको खतरा पनि छ । त्यसैले पनि बाइडेनले हतियारको खेप रोकेर इजरायललाई संकेत गरेका हुन सक्ने मिलरको अनुमान छ ।
गत बुधबार बाइडेनको अन्तर्वार्तापछि अमेरिकाले इजरायललाई पठाउनुपर्ने केही हजार किलो बमको खेप रोकिदिएको थियो । यीमध्ये केही बम ९०० किलोका र केही २ सय २५ किलोका थिए ।
ठूलो बमको प्रयोग धेरै जनसंख्या भएको शहरमा गरेमा गम्भीर क्षति हुने चिन्ता अमेरिकालाई छ । गाजाको केही हिस्सामा यस्तो भइसकेको छ ।
९ सय किलो वजन भएको बम इजरायलसँग अहिले भएको सबैभन्दा घातक हतियारमध्ये एक हो । हमासलाई मेटाउन यो बम प्रयोग अनिवार्य रहेको इजरायली सेनाले बताउँदै आएको छ ।
अमेरिकाले जोइन्ट डाइरेक्ट अट्याक म्युनिसन्स (जेडीएएम) किट पठाउन पनि रोक लगाउने विचार गरिरहेको छ । यो किटले सामान्य बमलाई गाइडेड बममा बदलिदिन्छ । अर्थात् त्यसबाट सटिक निशाना लगाउन सकिन्छ ।
शुक्रबार अमेरिकी विदेश मन्त्रालयले जारी गरेको रिपोर्टमा भनिएको छ, ‘इजरायलले गाजामा जारी युद्धका क्रममा अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्दै अमेरिकाले दिएका बमको प्रयोग गरेको हुन सक्छ ।’
यद्यपि, आफूसँग पूर्ण जानकारी नरहेको विदेश मन्त्रालयको रिपोर्टमा उल्लेख छ । यसको अर्थ, अमेरिकाले यसै आधारमा इजरायललाई सैन्य मद्दत जारी राख्न सक्छ । मध्यपूर्वमा अमेरिकी सेनाको कमान सेन्टकमका पूर्ववरिष्ठ अधिकारी कर्णेल जो बचिनोका अनुसार, इजरायलसँग अहिले भएजति हतियार नै राफामा आक्रमण गर्न पर्याप्त छ ।

अमेरिकाले इजरायललाई बर्सेनि ३ दशमलव ८ अर्ब डलरको सैन्य सहायता दिने गरेको छ । हालै मात्र अमेरिकी कांग्रेसले १७ अर्ब डलरको थप मद्दत दिएको छ । यसमा हतियार र रक्षा प्रणाली पनि समावेश छन् । समग्रमा हेर्ने हो भने इजरायलले अमेरिकाबाट सबैभन्दा धेरै सहयोग पाउँछ ।
कर्णेल बचिनो अमेरिकाले रोकेको खेपले राफामा इजरायललाई कुनै असर नपार्ने बताउँछन् । उनी भन्छन्, ‘यो अरु केही होइन, राफालाई लिएर चिन्तित अमेरिकी नागरिकलाई देखाउनका लागि यसो गरिएको हो ।’
बाइडेनको कदमको राजनीतिक असर भए पनि नभए पनि अमेरिकी सिनेट हलमा रिपब्लिकन खुसी थिएनन् । उनीहरू भन्छन्, ‘यो विषय आतंकवादी संगठनविरुद्ध आफ्नो सहयोगी इजरायललाई मद्दत गर्नेबारे हो ।’
रिपब्लिकन सिनेटर जोन बेरासो इजरायललाई आफ्नो सम्प्रभूताको रक्षा गर्ने अधिकार रहेको बताउँछन् । बाइडेनको कदमले उसको कमजोरीलाई बाहिर ल्याइदिएको ती सिनेटरको भनाइ छ । तर, बाइडेनको आफ्नो पार्टीमा यस कदमको स्वागत भइरहेको छ । यद्यपि, थोरै सदस्यले फरक मत पनि राखेका छन् ।
डेमोक्रेटिक सिनेटर क्रिस कुन्सले दुई महिनाअघि भनेका थिए, ‘इजरायलले प्यालेस्टाइनीको ज्यान बचाउन आवश्यक कदम नउठाई राफामा ठूलो मात्रामा अभियान छेडेमा उसलाई दिँदै आएको मद्दत रोकिदिनुपर्छ ।’
‘हामी इजरायलको कडा समर्थक हौँ, सँगै गाजामा निर्दोष प्यालेस्टाइनीले पाइरहेको पीडा देखेर चिन्तित पनि छौँ । त्यसैले जारी संघर्षले हामीजस्ता मानिसलाई धेरै चोट दिएको छ,’ उनले भने ।
नेतान्याहुको अर्कै दाउ
जसरी बाइडेनले हतियारको खेप रोकेर प्यालेस्टाइनीप्रति सहानुभूति राखिरहेका आफ्ना नागरिकलाई शान्त पार्ने कोसिस गरेका छन्, नेतान्याहूको नीति पनि एक हदसम्म त्यस्तै छ । बाइडेनले बारम्बार नेतान्याहुलाई रोक्ने कोसिस गरे पनि इजरायली प्रधानमन्त्री आफ्नो देशका ती अतिराष्ट्रवादीको राजनीतिक समर्थन हासिल गर्न चाहन्छन् । अतिराष्ट्रवादीहरू गाजामा मानवीय मद्दत पठाउन हुँदैन भन्छन् र वेस्ट बैंकबाट समेत प्यालेस्टाइनीलाई निकालेर धपाउन चाहन्छन् । कुन्सको भनाइमा यो इजरायलको पहिलो सन्देश हो ।
यो सन्देश यस्तो समयमा दिइएको छ, जब हमासको कब्जामा रहेका बन्धकको रिहाइ र युद्धविरामका लागि भइरहेको कोसिस नाजुक मोडमा पुगेको छ । गत साता इजिप्टमा भएको वार्ता निष्कर्षविहीन रह्यो ।
कतिपय इजरायली टिप्पणीकार बाइडेनको कदमले बन्धकको रिहाइका खातिर चलिरहेको वार्तामा इजरायलको स्थिति कमजोर हुने र राफामा कारबाही रोक्न हुने कुनै पनि कोसिसको सिधा फाइदा हमासलाई हुने दाबी गर्छन् ।
इजरायल र हमासबीच कुनकुन सर्तमा कुराकानी भइरहेको छ भन्ने विषयमा विस्तृत जानकारी बाहिर आएको छैन । तर, सबैभन्दा ठूलो समस्या कहाँ देखिइरहेको छ भने, हमास पूर्ण रूपमा युद्ध समाप्त हुनुपर्ने पक्षमा छ तर इजरायल यसका लागि तयार छैन ।
आफ्ना व्यक्तिगत साथी, राजनीतिक साथीप्रति बाइडेनको कदम कहाँसम्म पुग्छ, त्यो हेर्न बाँकी छ । तर, अमेरिकाको चाहना वा दबाबमा इजरायल रोकिने छाँट देखिएको छ । यसको परिणाम गाजाको राफामा सयौँ, हजारौँको संख्यामा निर्दोष प्यालेस्टाइनीले ज्यान गुमाउनुपर्ने हुन सक्छ । (बीबीसी र सीएनएनको सहयोगमा)
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१ १७:४८