हमासले युद्धविराम सम्झौता स्वीकार गरेलगत्तै इजरायली सेना भने ट्यांक लिएर दक्षिणी गाजाको राफा इलाकामा आक्रमणका लागि घुसेको छ । इजरायली सेनाले इजिप्टसँग जोडिएको गाजाको सीमा क्षेत्र कब्जा गरेको छ ।
यो हमलामा २० जना प्यालेस्टिनी मारिएका छन् । इजरायली सेनाले भने हमासका ३ सुरुङ भेटिएको र २० जना हमास लडाकु मारिएको दाबी गरेको छ ।
७ महिना लामो युद्धका क्रममा राफा नै इजरायली सेनाले हमला गरेको गाजाको अन्तिम क्षेत्र हो । राफामा हमलाअघि नै इजरायलले यहाँबाट एक लाख मानिसलाई निकाल्ने बताइसकेको छ ।
हमासले सोमबारमात्रै इजिप्ट र कतारको आग्रहमा इजरायली युद्धविराम प्रस्ताव स्वीकार गरेको थियो । हमास प्रमुख इस्माइल हानिएले कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुल रहमान अल–थानी र इजिप्टका गुप्तचर प्रमुखसँग फोन संवाद गरेका थिए ।
हमासले आफूले युद्धविराम प्रस्ताव स्वीकार गरेको बताउँदै अब निर्णय इजरायलको हातमा रहेको जनाएको छ । इजरायलले भने हमासको युद्धविराम प्रस्ताव अस्वीकार गर्दै दक्षिणी गाजाको राफामा हमला सुरु गरेको हो ।
हमासले हरेक चरण ४२ दिनको हुनेगरी ३ चरणको युद्धविराम प्रस्ताव गरेको छ । जसमा पहिलो चरणमा गाजामाथिको हमला रोक्ने, इजरायली सेना फिर्ता हुने, हमासले ३३ इजरायली बन्धक रिहा गर्ने र हरेक इजरायली बन्धक रिहाइको बदलामा ३० जना प्यालेस्टिनीलाई छाड्नुपर्ने हमासको प्रस्ताव छ ।
दोस्रो चरणमा बाँकी बन्धक रिहाइ र थप इजरायली सेना फिर्ता तथा तेस्रो चरणमा गाजामा मारिएका इजरायली बन्धकका शव फिर्ता ल्याउने र गाजाको पुनर्निर्माणबारे छलफल सुरु गर्ने तथा यसको निगरानी इजिप्ट, कतार र अमेरिकाले गर्ने उल्लेख छ ।
युद्धविराम प्रस्तावबीच युद्ध सुरु गरेपछि अमेरिकाले राफामा इजरायलले सुरु गरेको युद्धको समर्थन नगर्ने स्पष्ट पारेको छ । राफामा सैन्य अभियानसँगै अमेरिकाले ७ अक्टोबरको हमलापछि पहिलोपटक इजरायल जाने गोलाबारुद रोकिदिएको छ । ७ महिना लामो युद्धका क्रममा इजरायलले राफा बाहेकको गाजाको सबै क्षेत्रमा कब्जा गरिसकेको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१ १६:०८