गत वर्षको तुलनामा यो वर्षको मूल्य वृद्धि दोब्बर भएको छ । गत वर्षको भदौ महिनामा ३.८६ प्रतिशतको मूल्यवृद्धि रहेकोमा यो वर्षको सोही अवधिको मूल्यवृद्धि ६.१६ प्रतिशत छ ।
यसको अर्थ गतवर्षको भदौमा १ सय रुपैयाँ पर्ने वस्तु तथा सेवाको मूल्य यस वर्षको भदौमा १ सय ६ रुपैयाँ १६ पैसा पुग्यो भन्ने हो । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकले यस्तो देखाएको हो ।
यस्तै, चालू आर्थिक वर्षको साउनदेखि भदौ महिनासम्ममा आइपुग्दा औसत मूल्यवृद्धि ६.५६ प्रतिशतले बढेको छ । यो भनेको असार मसान्तमा १ सय रुपैयाँमा पाइने वस्तु तथा सेवाको मूल्य भदौ मसान्तमा आइपुग्दा बढेर १ सय ६ रुपैयाँ ५६ पैसा पुगेको हो ।
साउन र भदौ महिनामा उपभोक्तालाई सबैभन्दा बढी महँगी खाद्य तथा पेय पदार्थको उपभोगमा परेको छ । खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ६.५१ प्रतिशत छ । यस्तै, गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि ५.८९ प्रतिशत छ ।
राष्ट्र बैंकका अनुसार खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मुख्यतः तरकारी, फलफूल, मासु तथा माछा र मसला उपसमूहको मूल्य वृद्धि उच्च छ । त्यसैगरी, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत मुख्यतः लुगा तथा जुत्ता, घरायसी उपयोगिताका वस्तु तथा सेवा र शिक्षा उपसमूहको मूल्य वृद्धि उच्च छ ।
यो अवधिमा काठमाडौं उपत्यकामा ७.९० प्रतिशत, तराईमा ५.६९ प्रतिशत, पहाडमा ५.०९ प्रतिशत र हिमालमा ५.०२ प्रतिशत मूल्यवृद्धि भएको छ । २०७५ भदौमा यी क्षेत्रमा क्रमशः २.९८ प्रतिशत, ३.६८ प्रतिशत, ५.० प्रतिशत र ३.३५ प्रतिशत मूल्यवृद्धि भएको थियो ।
भारतमा भन्दा दोब्बर बढी महँगी
नेपालमा मूल्यवृद्धि ६.१६ प्रतिशत रहेकोमा भारतमा सेप्टेम्बर महिनामा यस्तो मूल्यवृद्धि ३.९९ प्रतिशत छ । गत वर्षको भदौ महिनामा नेपालको मूल्यवृद्धि ३.८६ प्रतिशत र भारतको ३.७० प्रतिशत थियो ।
२ महिनामै २ खर्ब ११ अर्ब व्यापारघाटा
गत भदौ महिनासम्मको कुल वस्तु व्यापारघाटा २ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ । यस्तो घाटा पोहोरको भन्दा केही कम हो । गत वर्षको भदौसम्मको तुलनामा यो वर्षको व्यापारघाटा ३.१ प्रतिशतले कम भएको राष्ट्र बैंकको भनाइ छ ।
भदौ महिनासम्ममा कुल वस्तु निर्यात २५.९ प्रतिशतले वृद्धि भई १८ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८ प्रतिशतले वृद्धि भएको थियो ।
गन्तव्यका आधारमा भारततर्फ ४६ प्रतिशत र अन्य मुलुकतर्फ ०.६ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा १७.४ प्रतिशतले कमी आएको छ ।
वस्तुगत आधारमा पाम तेल, अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), कपडा लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, जुस, तार, तयारी पोशाक, पश्मिनालगायतका वस्तुको निर्यात घटेको छ ।
गत भदौ महिनासम्ममा कुल वस्तु आयात १.२ प्रतिशतले घटेर २ खर्ब २९ अर्ब ५० करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३८.५ प्रतिशतले बढेको थियो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २ प्रतिशत र १९.८ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३९.२ प्रतिशतले बढेको छ ।
वस्तुगत आधारमा तयारी पोशाक, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुर्जा, हटरोल सिट, रासायनिक मललगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाज तथा पार्टपुर्जा, एमएस बिलेट, सुन, पेट्रोलियम पदार्थ, सिमेन्टलगायतका वस्तुको आयात घटेको छ ।
रेमिट्यान्स घट्यो
विप्रेषण (रेमिटान्स) आप्रवाह ०.३ प्रतिशतले कमी आई १ खर्ब ५३ अर्ब ७३ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ३३.४ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १.३ प्रतिशतले कमी आएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २२.३ प्रतिशतले बढेको थियो । साउनदेखि भदौ महिनासम्मा खुद ट्रान्सफर प्राप्ति ०.८ प्रतिशतले वृद्धि भई १ खर्ब ७६ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्राप्ति ३४.१ प्रतिशतले बढेको थियो ।
चालू आर्थिक वर्षको दुई महिनासम्ममा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ०.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३९.० प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या १०.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९.८ प्रतिशतले घटेको थियो ।
चालू खाता २२ अर्ब नोक्सानीमा
गत भदौ मसान्तसम्ममा चालू खाता २१ अर्ब ७९ करोड रुपैयाँ घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ३५ अर्ब १६ करोड रुपैयाँ थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको दुई महिनासम्ममा ३१ करोड ६६ लाख रहेको चालू खाता घाटा समीक्षा अवधिमा १९ करोड २५ लाख कायम भएको छ ।
शोधनान्तर स्थिति सुध्रियो
शोधनान्तर स्थिति ८ अर्ब ८३ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २५ अर्ब ४५ करोड रुपैयाँले घाटामा थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको दुई महिनासम्ममा २३ करोड ९ लाखले घाटामा रहेकोमा यो वर्षको दुई महिनामा ७ करोड ८५ लाखले बचतमा छ ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको दुई महिनामा पुँजीगत ट्रान्सफर २ अर्ब ९६ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ९८ करोड रुपैयाँ छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर २ अर्ब ८० करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब २३ करोड रुपैयाँ थियो ।
प्रकाशित मिति: बुधबार, कात्तिक ६, २०७६ १७:३६