राजनीतिक विश्लेषणात्मक अखबारी लेखनले चर्चित विष्णु सापकोटाको पहिलाे उपन्यास अडिएका पाइला आख्यान विधातर्फ 'शिलापत्र वर्षपुस्तक २०८०' चयन भएको छ । विधाविज्ञको रायमा मनोनयन र पाठकहरूको मतका आधारमा अडिएका पाइला पुस्तक ‘वर्षपुस्तक’ चुनिएको हो ।
मनोनयनमा परेका १० वटा आख्यान पुस्तकमध्ये सापकोटाको अडिएका पाइलाले २७ दशमलव ३ प्रतिशतले मत प्राप्त गरेकाे थियाे । अनलाइन सर्वेक्षणमा ७ हजार ७ सय ५२ उत्तरदाता सहभागी भएका थिए ।
अडिएका पाइलापछि कृष्ण कुशमको पार्श्व धुनले १२ दशमलव ३ प्रतिशत मत प्राप्त गरेको छ । त्यसैगरी, उत्कृष्ट कथा बाह्रखरीले १० प्रतिशत, उपन्यास अन्तरले ८ दशमलव ३ प्रतिशत र भृकुटी उपन्यासले ८ प्रतिशत मत प्राप्त गरेका छन् । शिलापत्रले वर्षान्त अभियानअन्तर्गत २०७७ सालदेखि वर्षव्यक्तिसहित विभिन्न विधाका पात्र र सिर्जनाहरूबाट उत्कृष्ट एक घोषित गर्दै आएको छ ।
०००
लेखक मञ्जुश्री थापाको शब्दमा उपन्यास अडिएका पाइला क्याम्पस नोबेल हो । कथाको प्रस्थानविन्दु त्रिभुुवन विश्वविद्यालयको अंग्रेजी केन्द्रीय विभागको प्राङ्गण बनाइएकाे छ, अनि यसमा विचार,दर्शन र मनोविज्ञानको विमर्श छ।
उपन्यासकार सापकोटाले अडिएका पाइलामा प्रेमलाई त्यही वैचारिकी आलोकबाट विमर्श गर्न खोजेका छन् । विश्वविद्यालय विमर्शका केन्द्र हुन्, विचारहरुको मन्थन गरेर नयाँ विचार सिर्जना गर्ने थलो हो । खासमा 'अडिएका पाइला' प्रेमकथा हो, अन्तरद्वन्द्वको कथा हो, राजनीतिक परिवर्तनपछि अपेक्षित युवाको मनोविज्ञान र सामाजिक अवस्थितिको संकथन पनि हो । उपन्यासका पात्रहरू बजारु प्रेमिल संवादभन्दा निकै परका वैचारिक र दार्शनिक संवादका सेतुले जोडिएका छन् । त्यसैले, त्रिविका अध्यापक, विद्यार्थीबीचको संकथनमार्फत उपन्यासले पाठकलाई बौद्धिक उडान गराउँछ ।
अस्तित्व र अनसूयाको प्रेमकहानीले त्यही बताइरहेको हुन्छ । अर्थात्, अनसूया अस्तित्वलाई प्रेम त गर्छे, तर दुवै सँगै हुनुपर्छ भन्ने मान्यतामा छैन । अनसूयाले दार्शनिक धरातलमा आफ्नो प्रेमलाई छाडिदिएकी छ । 'अडिएका पाइला' उपन्यासमा प्रेमिल जोडीका लामालामा संवाद र उठबस नभएको होइन तर प्रेमलाई विवाह वा परिवारसम्मको पुुर्याउने रुमानी सपनासहितको परम्परागत मान्यता, यौन वा रोमान्सभन्दा बढ्ता दार्शनिक मन्थन छ । प्रेमिल संवादमा राजनीति परिवर्तन, अर्थतन्त्र र सामाजिक न्यायको मुद्दा घुसेका छन् । समग्रमा अडिएलाका पाइला नूतन लेखन–प्रविधि, कथोपकथन, परिवेश चयन र पात्रहरूको प्रस्तुतीकरण परम्परागतशैलीभन्दा भिन्न र उन्नत छ ।
नेपाली भाषाका पाठकमाझ चोटिलो राजनीतिक विश्लेषण र बौद्धिक विमर्शका केही लामा आलेखमार्फत बढ्ता परिचित थिए– सापकोटा । अंग्रेजी साहित्य अध्ययन गरेका सापकोटाको अंग्रेजी लेखनको केही काल साहित्य केन्द्रित थियो । २०६२/०६३ को राजनीतिक उछालपछि साहित्यभन्दा बढ्ता राजनीतिक टिप्पणी अर्थात् गैरआख्यान लेखनमा केन्द्रित मात्र भएको थिएन, उनको लेखकीय पहिचान नै गैरआख्यानमा थियो । त्यसैले, सापकोटाको उपन्यास लेखन धेरैका लागि अनौठो सुनियो । त्यसमाथि बजारु परम्परागत उपन्यासको थुप्रोमा प्रेम, रोमान्सभन्दा फरक प्रयोग अर्को अनपेक्षित थियो ।
गैरआख्यानको पछिल्लो पहिचानबाट पाठकलाई बिथोलेर अडिएका पाइलाबाट आख्यानमा डोरिएका सापकोटाले नेपाली उपन्यासमा पछिल्लो कालको पृथक् प्रयोग गरेका हुन् । उपन्यास फाइन प्रिन्टले बजारमा ल्याएकाे हाे ।
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१ ११:३१