राजनीतिक चर्चाको शिखरमा छन् उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उनी अहिले सत्ता पक्ष र प्रमुख प्रतिपक्षको बीचमा छन् । कारण हो देशका विभिन्न जिल्लामा भएको सहकारी ठगी प्रकरणमा लामिछानेको नाम जोडिनु । प्रमुख विपक्षी नेपाली कांग्रेसले गृहमन्त्री लामिछाने सहकारीको रकम अपचलनमा मुछिएको भन्दै संसदीय छानबिन समितिको माग गर्दै आएको छ भने सत्ता पक्ष निर्दाेष रहेकाे दाबीसहित उनलाई जाेगाउन लागेकाे छ ।
२६ चैतमा कांग्रेसको मागका बारेमा छलफल गर्न सभामुख देवराज घिमिरेले कांग्रेस, एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरूसँग छलफल गरे पनि कुनै सहमति हुन सकेन । हुन त गृहमन्त्री लामिछानेको बचाउमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै संसदमा बोलेका छन् । तर, प्रधानमन्त्रीभन्दा बढी गृहमन्त्री लामिछानेको बचाउ एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीले गर्दै आएका छन् ।
मंगलबार बालुवाटारमा सभामुखसहित प्रमुख दलहरूबीचको बैठकमा गृहमन्त्रीको संलग्नताबारे स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिनको सुनिश्चितताको लागि संसदीय समिति गठन गर्नुपर्ने अडान कांग्रेसले लिएकाे थियाे । तर, त्यसको प्रतिरक्षामा प्रधानमन्त्री र लामिछानेभन्दा एक कदमअगाडि बढेर एमाले अध्यक्ष ओली उत्रिए । ओलीले गृहमन्त्री लामिछानेका बारेमा संसदीय छानबिन समिति बन्न नसक्ने कुरा बैठकमा राखेका थिए ।
ओलीले बैठकमा कांग्रेसको माग जायज र न्यायोचित नभएकाे बताउँदै कसैले उजुरी दिएको आधारमा संसदीय छानबिन समिति बनाउने हो भने संसदको मर्यादा कहाँ पुग्छ भन्दै रविको बचाउ गरेका थिए । बैठकमा भएकाे कुराकानीबारे जानकारी दिँदै एमाले प्रमुख सचेतक महेश बर्तौलाले भनेका थिए, ‘गृहमन्त्री सहकारी ठगीमा सामेल भएको कुरा हल्का भएको । यस्तो हल्का विषयमा संसदीय समिति बनाएर अन्य विषय के हुन्छ भनेर भनेका छौँ । मागमा रिभ्यू गर्न आग्रह गरेका छौँ । लामो संसदीय अभ्यास गरेर आएको दाबी गर्छ भने कांग्रेसले त्यो देखाओस् । मुठभेडतिर लैजाने प्रयास नर्गनुस् भनेका छौँ । तर, उहाँहरूले मान्नुभएन ।’
बाहिर मिडियामा बर्तौलाले बैठकमा सत्ता पक्षको भनाइ भन्दै कुरा राखे पनि बैठकमा सबैभन्दा बढी रविको प्रतिरक्षा ओलीले गरेकाे स्राेतकाे दाबी छ । रवि गत वर्ष गृहमन्त्री हुँदा नागरिकता विवादमा परेपछि सबै पद गुमाएका थिए । पुनः नागरिकता लिनेबित्तिकै ओलीले रविलाई गृहमन्त्री दिनुपर्ने भन्दै प्रधानमन्त्री प्रचण्डलाई दबाब दिएका थिए । प्रधानमन्त्री प्रचण्डले अदालतको पूर्ण पाठ नै नआई कसरी गृहमन्त्री दिनु भन्दा त्यसको काउण्टर गर्दै ओलीले भनेका थिए,‘अदालतको पूर्ण पाठ किन चाहियो ? कण्ठ गर्ने हो र ? किन चाहियो पूर्ण पाठ ?’
रविको यसरी प्रतिरक्षा गर्नुमा ओलीको स्वार्थ राजनीतिक जाेडघटाउसँग जोडिएको छ । रविले आफूले भनेको मान्ने हुँदा प्रधामन्त्रीमाथि दबाब बढाउन र आफू अनुकूल सरकार चलाउन पनि ओलीलाई उनको साथ चाहिन्छ । त्यसकारण गत वर्ष पनि रविलाई उपनिर्वाचनसम्म नकुरेर नागरिकता लिएकै दिन गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्डलाई दबाब दिएका थिए ।
गत वर्ष ओलीकाे दबाब प्रधानमन्त्री प्रचण्डले नमानेपछि रवि गृहमन्त्री हुन पाएनन् । फागुनमा एमाले सरकारबाट बाहिरिएको थियो भने त्यसपछि रास्वपा पनि बाहिरियो ।अहिलेकाे अवस्थामा रवि एमालेको साथमा भएनन् भने संसदीय अंकगणितका आधारमा एमालेको सत्तारोहण नै हुँदैन । त्यसकारण एमाले अध्यक्ष ओली रास्वपाका सभापति लामिछानेको बचाउमा निरन्तर लागेका बताइन्छ । अहिलेको गठबन्धनकाे अंकगणितमा गृहमन्त्री रवि किङमेकर नै हुन् । उनको पार्टीबिना यो गठबन्धनले निरन्तरता पाउँदैन । त्यही भएर पनि प्रतिपक्षले संसदीय छानबिन समिति गठन गरेर सहकारी ठगी प्रकरणकाे छानबिन गरौँ भन्दा पनि ओली बचाउ गर्दै आएका छन् । रवि यो गठबन्धनबाट टाढा जानेबित्तिकै ओलीको प्रधानमन्त्री हुने यात्रामा ब्रेक लाग्ने निश्चित छ ।
ओलीले रविलाई प्रयोग गरेर माओवादी र कांग्रेस नजिक हुन नदिने रणनीति पनि अपनाएका छन् । हुन त प्रधानमन्त्री प्रचण्डलाई पनि गृहमन्त्री लामिछानेले दबाब बढाउँदै लगेका छन् । जसको उदाहरण हो माओवादी उपाध्यक्ष कृष्णबहादुर महरादेखि १५ वर्षसम्म प्रहरीले नै फरार घोषणा गरेका कालीबहादुर खाममगर पक्राउ पर्नु । सहकारी ठगीमा नाम जोडिएका माओवादीको भ्रातृ संगठन अनेरास्ववियुका महासचिव दिपेश पुन पक्राउ पर्नु । तर, कराेडाैँ हिनामिनामा जाेडिएका गृहमन्त्री लामिछाने आफू भने झण्डा हल्लाएर हिँड्नु ।


दिपेश पुनलगायत केही व्यक्ति सहकारी ठगीमा नाम जोडिनेबित्तिकै पक्राउ परेका छन् भने रविका बारेमा कांग्रेसले छानबिन समिति बनाऊँ भन्दा पनि ओलीले बचाउमा उत्रिनु आफैँमा अचम्मित छ । यो विषय ओलीले माओवादीलाई दबाबमा राख्ने रणनीतिसँग पनि जाेडिएकाे छ । कांग्रेसले माओवादीसँगकाे गठबन्धन भत्किनेबित्तिकै रवि लामिछानेलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको विषय बाहिर आएकाे थियाे । सुरुमा रविलाई गैरकम्युनिस्टको सरकार बन्छ भन्ने विश्वास लागेको थिएन । तर, जब वातावरण बन्ने अवस्था बन्याे त्यो समयमा उनी गृहमन्त्री बनिसकेका थिए । अहिले पनि कांग्रेसले यो गठबन्धन भत्काउन चाहेकाे छ । त्यसको लागि रवि प्रमुख पात्र हुन् । तर, ओलीले अहिले रविलाई प्रयोग गरेर कांग्रेसमाथि आक्रमण गरिरहेका छन् ।
ओली लामिछाने सम्बन्ध
पत्रकारिताको सुरुवाती समयमा खासै चर्चा र गतिलो तलब सुविधा नपाएर अमेरिका हानिएका रवि लामिछाने पुनः नेपाल फर्किए । नेपाल फर्किएर उनले पुरानै पेशा पत्रकारिता राेजे । उनले ६२ घन्टा लामो अन्तर्वार्ता गरेर विश्वकीर्तिमान राखेका थिए । २०७० साल वैशाख १ गते लामिछानेले टेलिभिजनमा सबैभन्दा लामो अन्तर्वार्ता गरेर विश्व कीर्तिमान कायम गरे । उनले न्युज २४ टेलिभिजनमार्फत बुद्ध नेपालमा नै जन्मेका हुन् भन्ने विषयमा ६२ घन्टा १८ मिनेट लामाे अन्तर्वार्ता गरेका थिए । त्यसपछि उनको चर्चा हुन थाल्यो । बिस्तारै उनको सम्बन्ध राजनीतिक दलका ठूला नेताहरूसँग पनि हुन थालेको थियो । त्यसै क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि उनी नजिक भए ।
उनले अध्यक्ष ओलीलाई भेटेर समसामयिक विषयमा कुराहरू गर्ने गरेकाे ओली पहिलोपटक प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार रहेका प्रमोद दाहाल बताउँछन् । उनले भने, ‘उहाँ (रवि लामिछाने) ले बुद्ध नेपालमा जन्मेको भनेर विश्वमा सबैभन्दा लामो समयसम्म निरन्तर कार्यक्रम चलाएपछि चर्चा भएको थियो । उहाँले अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीज्यूलाई भेटेर छलफल गर्नुहुन्थ्यो ।’
२०७२ सालकाे भूकम्पपछि नेपालमा संविधान बन्यो । संविधान बनेसँगै ओली प्रधानमन्त्री बने । ओलीसँग पहिलादेखि व्यक्तिगत रूपमा राम्रो सम्बन्ध बनाएका लामिछानेले प्रधानमन्त्री भएपछि ‘सीधा कुरा प्रधानमन्त्रीसँग’ भन्ने कार्यक्रम टेलिभिजनमा चलाउने प्रस्ताव राखे । उक्त प्रस्ताव सचिवालयमा छलफल भएर चलाउन दिने निर्णय गरेको दाहाल बताउँछन् । उनले भने, ‘उहाँले प्रधानमन्त्रीले गरेका कामहरूको प्रचार प्रसार पनि हुने । जनतासँग पनि जोडिने भनेर प्रस्ताव ल्याउनुभयो । सचिवालयलाई पनि राम्रो लागेर २–४ पटक छलफल भएपछि कार्यक्रम चलाउन दिइएको थियो ।’
एमाले अध्यक्ष केपी ओली पहिलोपल्ट प्रधानमन्त्री बनेका बेला २०७३ वैशाख ११ गतेदेखि यो कायक्रम सुरु भएको थियो, यसका योजनाकारसँगै प्रस्तोता थिए रवि लामिछाने । २०७३ साउनमा प्रचण्ड दोस्रोपल्ट प्रधानमन्त्री बनेसँगै यो कार्यक्रमबाट रवि लामिछानेलाई हटाएका थिए ।
त्यसपछि लामिछानेले कार्यक्रमकाे नाम ‘सीधा कुरा जनतासँग’ राखेर न्युज २४ टेलिभिजनमा सुरु गरेकाे कार्यक्रम अत्यन्तै लाेकप्रिय भयाे । यही कार्यक्रमबाट कमाएकाे ख्यातीलाई रविले राजनीतिक शक्तिमा बदलेका हुन् । त्यतिबेला एमाले नेता विष्णु रिमाल र रविबीच राम्राे सम्बन्ध थियाे । स्रोतका अनुसार रिमाल जिफन्टको अध्यक्ष थिए पछि उनी प्रधानमन्त्रीको प्रमुख सल्लाहकार बने । त्यही समयमा प्रधानमन्त्री ओलीसँग रविको पहुँच बन्यो र कार्यक्रम चलाउन पाएका थिए ।
'ओली पनि अलि चलाख युवाहरूसँग नजिक भइहाल्नु हुन्छ । रविले कार्यक्रम चलाएर विश्वरेकर्ड राखेपछि प्रभावित हुनुभएकाे थियाे', एमालेका एक नेताले भने । हुन त रविले ओलीलाई अमेरिका हुँदा नै भेटेका थिए । रवि अमेरिकामा पनि नेपालीले चलाएको ह्वाइट हिमाल टेलिभिजनमा कार्यक्रम चलाउँथेँ । ओली अमेरिका गएको समयमा रविले ओलीको अन्तर्वार्ता लिएका थिए । त्यही समयबाट दुई जनाबीच चिनजान भएको थियाे ।
२०७३ वैशाख ११ गते सीधा कुरा प्रधानमन्त्रीसँग कार्यक्रमको पहिलो शृंखला प्रसारण सुरु भयो । कार्यक्रमका लागि निर्मलराज पौडेलको वेलकम एड्भर्टाइजिङले प्रायोजक खोजेको थियो । तर, ओलीसँगको निकटताले स्टुडियो सेट बनाउनेदेखि सबै प्राविधिक सामान नेपाल टेलिभिजनले निःशुल्क दिएको थियो । सीधा कुरा प्रधानमन्त्रीसँग कार्यक्रम सरकारी टेलिभिजनमा प्रसारण भइरहँदा त्यसका प्रस्तोता रवि भने अमेरिकी नागरिकता र पासपोर्टधारी रहेकाे भन्दै विवाद बढेकाे थियाे ।
ओलीका पालामा कार्यक्रम प्रस्ताेता बनेका रविलाई प्रचण्डले हटाइदिएपछि उनकाे चर्चा बढेकाे थियाे । त्यसपछि ओली र रवि झनै नजिक भएका एमाले नेताहरू बताउँछन् । ओली प्रधानमन्त्री हुँदा रविको प्रस्ताव स्वीकारेर कार्यक्रम चलाउन दिनु नै रविका लागि धेरै ठूलो उपलब्धि भएको बताइन्छ । त्यसै कारणले पनि रविले ओलीका हरेक कुरा मान्न थालेको र ओलीलाई भेटेर सल्लाह सुझाव दिन थालेको एक जना एमालेका केन्द्रीय सदस्य बताउँछन् । ती केन्द्रीय सदस्य भन्छन्, ‘ओलीले गर्दा आफू स्थापित भएको बुझेका रवि पछि निरन्तर सम्बन्धमा रहे । दुवैबीच भेटघाट हुन्थ्यो । रवि पनि निर्वाचन जितेर आएपछि झनै सम्बन्ध बलियो भयाे ।’
रवि न्युज २४ मा कार्यक्रम चलाउँदा प्रेस काउन्सिलसँग विवाद भएको थियो । काउन्सिलका अध्यक्ष थिए किशोर श्रेष्ठ ।
रविले त्यो समयमा सरकारको अर्धन्यायिक निकायलाई चुनौती दिनुकाे कारण पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकाे आड रहेको श्रेष्ठ बताउँछन् । श्रेष्ठले भने, ‘हामी उनलाई कानुनसम्मत कारबाही गर्न पत्र काट्थ्यौँ । राति बालुवाटर गएर ओली भेटेपछि रवि हामीविरुद्ध नै खनिन्थे । त्यसको कारण ओलीले केही हुँदैन म छु भनेर संरक्षण गर्नु थियो ।’
प्रकाशित मिति: बुधबार, चैत २८, २०८० १५:४५