नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य जोखबहादुर महरा रोल्पा प्रदेशसभा निर्वाचन क्षेत्र कबाट प्रदेशसभा सदस्यमा विजयी भएका थिए । प्रदेशको मुख्यमन्त्री बन्ने अभिलाषा राखेर नै महराले २०७९ को निर्वाचन लडेका थिए । उनले गत वर्ष नै एमाले–माओवादीको गठबन्धन हुँदा मुख्यमन्त्री हुने तयारी गरेका थिए । तर, एमालेको भागमा लुम्बिनी प्रदेश परेपछि महरा केही समय मन्त्री बने । करिब डेढ महिनामा नै एमाले–माओवादी गठबन्धन भत्क्याे । माओवादी–कांग्रेसको गठबन्धन बन्यो । फेरि लुम्बिनी कांग्रेसको भागमा पर्यो ।
दोस्रोपटक पनि महराको मुख्यमन्त्री हुने चाहना र प्रधानमन्त्रीको पुष्पकमल दाहाल प्रचण्डको मुख्यमन्त्री बनाउने आश्वासनमा भागवण्डा तगारो बन्यो । एक वर्षमै पुन: एमाले–माओवादी गठबन्धन बन्यो । केन्द्रको गठबन्धन फेरबदल भएपछि प्रदेशमा पनि गठबन्धन फेरबदल भए । फेरबदल भए पनि माओवादीले पहिलादेखि नै मुख्यमन्त्री भएका प्रदेश निरन्तरता दिने गरी भागवण्डा भएको भए महरा तेस्रोपटक पनि मुख्यमन्त्री हुने सम्भावना थिएन ।
महराका लागि टर्निङ प्वाइन्ट कर्णाली
अन्तत: बुधबार कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिए । दुई दिनसम्मको रस्साकस्सीपछि शर्माले राजीनामा दिएका हुन् । कर्णालीमा शर्माकाे राजीनामा आएसँगै लुम्बिनी प्रदेशमा माओवादीले मुख्यमन्त्री पाउने पक्का भयाे । यदि कर्णालीमा माओवादीले मुख्यमन्त्री नछोडेको भए लुम्बिनीमा फेरि पनि महरा मुख्यमन्त्री हुन केही समय कुर्नुपर्थ्यो । कर्णालीका मुख्यमन्त्री शर्माले राजीनामा दिएसँगै महरा मुख्यमन्त्री बन्ने ढोका खुलेको छ ।
राजनीतिक यात्रा
महराले २०३५ सालमा दाङको महेन्द्र बहुमुखी क्याम्पसबाट अनेरास्वियु छैटौँबाट विद्यार्थी राजनीति सुरु गरेका थिए । पञ्चायतविरुद्धको आन्दोलनमा सक्रिय रूपमा लागेका महरा अध्ययन सकेपछि रोल्पा फर्केर जनज्योति माविमा शिक्षक बने । शिक्षक भए पनि उनीभित्रको राजनीतिप्रतिको लगाव कम भएको थिएन । पञ्चायती शासनको अन्याय अत्याचारविरुद्ध क्याम्पसमा हुँदा विरोध गर्दै हिँडेका महरालाई रोल्पामा शिक्षक हुँदा पनि शान्त भएर बस्न दिइएन ।
उनी बहुदल आएसँगै स्थायी शिक्षकको जागिर छोडेर पूर्णकालीन राजनीतिमा हाेमिएको रोल्पाका वामपन्थी कुमार शाह बताउँछन् । शाहले भने, ‘उहाँ शिक्षक हुँदा पनि राजनीतिमा हुनुहुन्थ्यो । पछि जागिर छोडेर पूर्णकालीन हुनुभयो । पार्टी संगठनप्रति इमानदार, कटिबद्ध, प्रतिबद्ध मात्र होइन, जुझारु नेता हुनुहुन्थ्यो । अरु पूर्णकालीन नहुँदा पनि उहाँ पूर्णकालीन हुनेमा पहिलो पङ्क्तिमा पर्नुहुन्छ ।’
अध्यापनसँगै राजनीतिमा पनि सक्रिय बनेका महरा २०४२ सालमा अनेरास्ववियु छैटौँ दाङको सचिव बनेका थिए । त्योसँगै नेकपा (मशाल) को पार्टी सदस्य लिएका उनी २०४३ सालमा अनेरास्ववियु छैटौँको केन्द्रीय सदस्य भएका थिए । २०४७ सालमा नेकपा (मशाल) को रोल्पा जिल्ला समिति सदस्यहुँदै २०५० सालदेखि पार्टीमा पूर्णकालीन भएका थिए ।
२०५१ सालमा नेकपा (माओवादी) को रोल्पा जिल्ला सेक्रेटरी बनेका थिए । उनी सेक्रेटरी हुँदा माओवादीका अहिलेका उपमहासचिव तथा अर्थमन्त्री वर्षमान पुन जिल्ला समिति सदस्य थिए ।
महरा त्यसपछि माओवादीको रोल्पा जिल्ला इन्चार्ज भए, पुन सेक्रेटरी भए । रोल्पामा जनयुद्ध सुरु हुनुभन्दा पहिला दुई वर्षजति ग्रामीण वर्ग संघर्ष चलेको थियो । त्यो समयमा रोल्ला रुकुममा प्रहरी र कांग्रेस एकातर्फ र जनमोर्चाका नेता कार्यकर्ताहरू अर्कोतर्फ भएर लडाइँ हुने शाह बताउँछन् । त्यो समयमा माओवादीले हात हतियार आफैँ बनाउने गरेको थियो । आधुनिक हात हतियार नभएकाले आफैँ तयार गरेर र स्थानीयले तयार गरेका हतियार संकलन गरेर तालिम गर्थे । यो कुरा प्रहरी प्रशासनले थाहा पाएपछि महराको खोजी जिल्लामा सबैभन्दा बढी हुन थालेको थियो ।
महरा पार्टी प्रशिक्षण, आन्तरिक तयारीमा बढी सक्रिय हुँदा प्रहरीले पनि बढी खोजी गरेको र मेलापर्वमा हुने द्वन्द्वमा पनि सबैको नजर उनीमाथि नै हुने गरेको शाह बताउँछन् । उनले भने, ‘ग्रामीण वर्ग संघर्षमा रोल्पामा कांग्रेस प्रहरी मिलेर जनमोर्चाका नेता कार्यकर्तालाई पक्राउ गर्ने, दु:ख दिने गर्थे । पछि जनयुद्धमा प्रहरीले झन् खोजी गर्न थाल्यो । महराजीलाई पनि तालिम गर्ने क्रममा बन्दुक पड्कँदा घुँडामा गोली लागेको थियो । त्यसको उपचार गर्न प्रवास जानुभयो । लामो समय उपचारमा लाग्यो ।’
उपचारका क्रममा उनी लामो समय भारत बस्नुपर्दा देशभित्र प्रत्यक्ष रूपमा राजनीतिमा जोडिन पाएनन् । उनी उपचार सकेर पछि मात्र नेपाल फर्केका थिए । महराले २०५४ सालमा माओवादीको क्षेत्रीय ब्युरो सदस्य र २०५६ सालदेखि चार वर्ष पार्टीको अन्तर्राष्ट्रिय विभागमा बसेर काम गरेका थिए । २०६० सालमा माओवादीको केन्द्रीय सदस्य बने । संविधानसभा सदस्य बन्नुअघि २०६२ देखि २०६४ सालसम्म पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख स्वकीय सचिव भएर काम गरे । २०६४ मा समानुपातिकतर्फबाट संविधानसभा सदस्य भए । उनी २०७३ मा प्रचण्ड प्रधानमन्त्री हुँदा पुनः उनको प्रमुख स्वकीय सचिव बने । २०७९ साल भदौसम्म प्रचण्डको स्वकीय सचिव भएर काम गरे ।
प्रचण्ड–जनार्दन टसलको फाइदा
महरा मुख्यमन्त्री हुनमा प्रधानमन्त्री प्रचण्ड र माओवादीका उपमहासचिव जनार्दन शर्माबीच चलेको द्वन्द्वले पनि योगदान गरेको छ । माओवादीले राम्रो मत ल्याएको प्रदेश कर्णाली हो । कर्णालीमा पहिलो वर्ष पनि चार वर्ष सरकार चलाएको थियो माओवादीले । दोस्रोपटक पनि पहिला नै माओवादीले कर्णाली रोजेको थियो । कर्णालीमा शर्माको प्रभाव बढी छ । माओवादीको विधान अधिवेशनबाट प्रचण्ड र शर्माबीच द्वन्द्व सुरु भएको थियाे ।
विधान अधिवेशनमा शर्माले सबै तहमा निर्वाचित समिति हुनुपर्ने प्रस्ताव ल्याएपछि प्रचण्ड रुष्ट बनेका छन् । पछिल्लो समयमा उनले शर्मालाई संसदको बाहेक कुनै भूमिका दिएका छैनन् । आफूलाई भूमिका नदिएपछि शर्मा पनि प्रचण्डसँग सन्तुष्ट छैनन् । जसको असर कर्णाली एमालेको भागमा पारेपछि झन् प्रस्ट रूपमा बाहिरै देखियो ।
प्रचण्डले जानीबुझी अहिले कर्णालीको सरकार एमालेको भागमा पारेको बुझाइ शर्माको छ । प्रचण्डले पनि कर्णाली एमालेलाई दिएर भए पनि आफूसँग लामो समय बसेका इमानदार नेता महरालाई मुख्यमन्त्री बनाउन पहल गरेका थिए । जुन पहल सफल भएको छ ।
यदि प्रचण्ड र शर्माबीच द्वन्द्व नबढेको भए महराले यसपटक अवसर पाउने सम्भावना धेरै कम थियो । किनकि माओवादीको भागमा दुई प्रदेश परेका थिए । त्यसमा निरन्तरता दिँदा बागमती र कर्णाली नै हुन्थे । महराले पुनः एक कार्यकाल कुर्नुपर्थ्यो । तर, प्रचण्ड–शर्माबीचको द्वन्द्वले महराले छिट्टै अवसर पाउने भएका छन् ।
गठबन्धनको हिसाबकिताब
आफ्नो सरकार अल्पमतमा परेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामाको घोषणा गरेका छन् । बिहीबार लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले राजीनामाको घोषणा गरेका हुन् । लुम्बिनीमा एमालेका २९, माओवादी केन्द्रका (सभामुखबाहेक) १०, जसपाका ३, नाउपा ४ र एकीकृत समाजवादीसँग १ सांसद छन् । नयाँ गठबन्धन एकजुट भए आरामले बहुमत पुग्छ । महरा जुन उद्देश्य बोकेर प्रदेशसभा निर्वाचन लडेका थिए, त्यो पूरा हुने भएको छ ।
०००
सिफारिसः
शिलापत्रको वर्षान्त अभियानमा सहभागी हुनुहोस् र चुन्नुहोस् आफूलाई मनपर्ने चर्चित पात्र र सिर्जनाहरू । तल राखिएको गुगल फारममार्फत आफ्नो मत जाहेर गर्न सक्नुहुनेछः
प्रकाशित मिति: बिहीबार, चैत २२, २०८० २०:२२