राजनीतिक भागवण्डामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चासो राख्दा त्रिभुवन विश्वविद्यालयको रेक्टर र रजिस्ट्रार नियुक्तिमा ढिलाइ भएको छ । बालुवाटारले उपकुलपति केशरजंग बराललाई राजनीतिक दबाब बढाउन थालेपछि उक्त पदको नियुक्तिमा ढिलाइ भएको हो ।
उपकुलपति बरालले रेक्टर र रजिस्ट्रार नियुक्तिका लागि सिफारिस गरेको एक साता भएको छ । आफ्नो टिम बनाउनका लागि बरालले अनुकूलका प्राध्यापकलाई कुलपतिसमक्ष सिफारिस गरेका हुन् । तर, प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनमा भाग लगाउन खोजेपछि नियुक्तिमा ढिलाइ भएको स्रोतको दाबी छ ।
स्रोतका अनुसार उपकुलपति बरालले त्रिविको रेक्टरका लागि प्राध्यापक डाक्टर खड्ग केसी र रजिस्ट्रारमा प्राध्यापक डाक्टर केदार रिजाललाई सिफारिस गरेका छन् । ती नाम सिफारिस गरेको ६ दिन भइसकेको छ । तर, प्रधानमन्त्री तथा कुलपति प्रचण्डले भने ती पदमा एमाले र कांग्रेसलाई भाग लगाउन खोजेका छन् । एमालेले आफ्नो मान्छेलाई रजिस्ट्रार बनाउन खोजिरहेको छ । एमालेको प्राध्यापक संगठन र एमालेको विद्यार्थी संगठनले उनीहरूका नेता वेदराज केसीलाई रजिस्ट्रार बनाउन खोजेका हुन् ।
त्रिविको रजिस्ट्रार पद निकै शक्तिशाली मानिन्छ । आर्थिक र प्रशासनिक अधिकार रजिस्ट्रारमा केन्द्रित हुन्छ । त्यसैले, उपकुलपतिभन्दा पनि रजिस्ट्रार शक्तिशाली हुने भएकाले एमालेका प्राध्यापक र विद्यार्थी संगठनले आफ्नै संगठनको नेता केसीलाई लैजान खोजेका हुन् । तर, उनको नाम भने उपकुलपति बरालले सिफारिस नै गरेनन् । त्यसको साटो अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुखसमेत रहेका खड्ग केसीलाई सिफारिस गरेका छन् । तर, एमाले अध्यक्ष केपी ओली पनि अहिले उनै वेदराज केसीको पक्षमा रहेका कारण प्रचण्डमाथि दबाब रहेको पनि बताइएको छ ।
त्रिविको इतिहासमा पहिलोपटक खुला प्रतिस्पर्धाबाट उपकुलपति भएका बरालले भने सुरुदेखि नै टिम आफूले बनाउन पाउनुपर्ने सर्त राख्दै आएका थिए । उनले कुलपतिका अलावा त्रिविका प्राध्यापक र विद्यार्थी संगठनका नेतालाई पनि दलीय भागवण्डामा दबाब नदिन आग्रह गरेका थिए । तर, अहिले उनीहरूले नै त्रिवि उपकुलपतिलाई टिम बनाउन दिनेभन्दा पनि आन्दोलन गर्ने धम्की दिने काम भइरहेको त्रिविका प्राध्यापकहरूले बताएका छन् । त्रिविमा रेक्टर तीन महिनादेखि र रजिस्ट्रार पाँच महिनादेखि रिक्त छ ।
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८० १९:५१