नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन नभए आगामी संसदको बैठक चल्न नदिने बताएका छन् ।
मंगलबार संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले गृहमन्त्री लामिछानेका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको जवाफ कांग्रेसलाई चित्त नबुझेको बताए ।
सांसद खतिवडाले कांग्रेसले संसदमै संसदीय छानबिन समितिको माग गरेको भन्दै समिति गठन नभए आगामी बैठक चल्न नदिने चेतावनी दिए । उनले भने, ‘प्रधानमन्त्री प्रचण्डजीले गृहमन्त्री लामिछानेका विषयमा दिएको जवाफ हामीलाई चित्त बुझेको छैन । हामीले संसदीय समिति गठन गर्न माग गरेका छौँ । त्यो माग पूरा नगरे भोलिदेखि संसद चल्दैन, त्यो काम सरकारको हातमा छ,’ उनले भने ।
सांसद खतिवडाले संसद अघि बढाउने वा नबढाउने भन्ने निर्णय सरकारको हातमा रहेको बताए ।
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८० १६:२०