अर्थमन्त्री डा. प्रकाशशरण महतले विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न बढी इच्छुक हुँदै गएको बताएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको तेस्रो लगानी सम्मेलन २०८१ को निर्देशक समितिको तेस्रो बैठकमा अर्थमन्त्री महतले विगतमा विदेशी लगानीकर्ताहरू नेपाल आफैँ सम्पर्कमा जाँदासमेत उदासीन हुने गरेको भए पनि अहिले लगानी गर्न आफैँ खोज्दै आइरहेको बताएका हुन् ।
उनले विदेशी लगानीकर्ता इच्छुक भइरहेको समयलाई नेपालले उपयोग गर्न सक्नुपर्ने बताए । अर्थमन्त्री महतले वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनलाई ग्राण्ड सक्सेस बनाउन आग्रह गरे । अर्थमन्त्री महतले विश्व बैंकको सहुलियत दरमा ऋण दिने संस्थाको सम्मेलन नेपालमा गर्न विश्व बैंक तयार भएको र केही दिनमै औपचारिक पत्र आउने बताए । उनले सो सम्मेलन नेपालमै हालसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सम्मेलन हुने बताए ।
अर्थमन्त्री महतले सम्मेलनमा ९२ देशका प्रतिनिधि, विश्व बैंकका प्रमुखको उपस्थिति हुने बताए । लगानी सम्मेलनलाई सफल बनाउन सके सो सम्मेलनमा फाइदा हुने उनले बताए ।
प्रकाशित मिति: बिहीबार, माघ २५, २०८० १५:५८