आइडिया स्टुडियोको आयोजनामा सञ्चालित 'कलेज आइडिया हन्ट २०२३को उपाधि तीनवटा आइडियाले पाएका छन् । उपाधि जित्नेमा आयुषी सिंह, गणेश आचार्य र पूजा जोशीको ‘उपना’, सौगात आचार्य, नवीन ढकाल, सचिन घिमिरे, रमिन घिमिरेको ‘अस्वत्थामा’ र नेहा प्रविनको ‘लाइट वेट इरिङ’ रहेका छन् ।
विजेता तीनवटै उद्यमले १/१ लाख नगद प्राप्त गरेका छन् । आइडिया स्टुडियोले प्रत्येक वर्ष आयोजन गर्दै आइरहेको 'कलेज आइडिया हन्ट'मा 'उपना'ले हेम्प अर्थात् गाँजाका जुत्ता उत्पादन, 'अस्वत्थामा'ले केराको दाम्चो अर्थात् खेर जाने भागको फाइबर धागो उत्पादन र लाइट इयरिङले कागजबाट शृङ्गारका सामग्री उत्पादनको आइडिया प्रस्तुत गरेका थिए ।
उद्यमको सोच भएका स्नातकोत्तरसम्म अध्ययनरत विद्यार्थीका निम्ति आइडिया स्टुडियोले गत भदौमा ‘कलेज आडिया हन्ट २०२३’ को अनलाइन आवेदन खुलाएको थियो । सातै प्रदेशका करिब २ सय विद्यार्थीले अनलाइन आवेदन दिएका थिए, जसमध्ये पहिलो चरणमा नवीन सोच, स्थानीय स्रोत साधनको उपयोग भएका, स्थानीय जनशक्ति र लगानीको नेतृत्वमा टेवा पुर्याउने, दिगो र दक्ष, वातावरण र पर्यावरणमैत्री, सामाजिक र आर्थिक वृद्धि गर्दै दिगो विकासको सिद्धान्तलाई पछ्याएका विचारहरूका आधारमा मूल्यांकन गरेर ५० वटा उद्यमका सोचलाई छनोट गरिएको आइडिया स्टुडियोकी इको इम्प्याक्ट बिजनेस डेभलपमेन्ट अफिसर प्रज्ञा घिमिरेले बताइन् ।
छनोट भएका ५० उद्यमका सोचमध्ये सकारात्मक सामाजिक प्रभावद्वारा सामाजिक न्यायलाई नेतृत्व गर्दै सामाजिक समस्याहरूको सम्बोधन तथा समाधान गर्ने विचार र ती विचारको प्रस्तुतीकरणका आधारमा विभिन्न चरणका छनोटमार्फत उत्कृष्ट १० उद्यम छनोट गरिएको थियो । तिनै १० उद्यममध्येबाट शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अन्तिम चरणको छनोट गरिएको थियो । अन्तिम चरणको छनोटमा उत्कृष्ट तीन उद्यमले उपाधि जितेका हुन् ।
अन्तिम चरणको छनोटका निर्णायकमण्डलमा डब्लूडब्लूएफका प्रमुख कार्यकारी अधिकृत रविप्रताप सिंह, बेनिस्से होल्डिङ्स आईएनसीका निर्देशक टाकुमा कोजाइवा र केएमसी कलेजका प्रधानाध्यापक सुरेन्द्र सुवेदी रहेका थिए ।
विजेता तीनवटै उद्यमलाई व्यवसाय प्रवर्द्धनका लागि आइडिया स्टुडियोले सहयोग गर्ने बताइएको छ । कलेज आइडिया हन्टको मुख्य उद्देश्य भनेको उद्यमशील सोच भएका विद्यार्थीहरूका लागि व्यावसायिक अवसरहरूको ढोका खोलिदिएर उनीहरूको व्यावसायिक सोचलाई बजारीकरण गर्न सहयोग पुर्याउनु रहेको आइडिया स्टुडियोकी इको इम्प्याक्ट बिजनेस डेभलपमेन्ट अफिसर घिमिरेकाे भनाइ छ ।
प्रकाशित मिति: आइतबार, माघ २१, २०८० १९:५६