पश्चिम अफ्रिकी राष्ट्र नाइजेरियामा सरकारी सेनाको बम आक्रमणबाट ८५ सर्वसाधारणको ज्यान गएको छ । नाइजेरियाको सेनाले आइतबार ड्रोनबाट बम खसाएपछि धार्मिक उत्सवमा भेला भएका ८५ जनाको मृत्यु भएको हो ।
यस घटनापछि सेनाले झुक्किएर धार्मिक उत्सवमा बम खस्न पुगेको स्पष्टीकरण दिएको छ । आइतबार राति कादुना राज्यको टुदुन बिरी गाउँमा धर्मावलम्बीहरू मुस्लिम धर्मगुरु प्रोफेट मोहम्मदको जन्मोत्सव मनाइरहेका थिए ।
सरकारी सेनाले आतंकवादी ठानेर ड्रोन बम हमला गर्दा उनीहरूको निधन भएको कादुनाका गभर्नर उबा सानीले बताएका छन् । सेनाले यस घटना दुःखदायी भएको भन्दै माफीसमेत मागेको छ ।
देशका राष्ट्रपति बोला अहमद तिनुबाले यस घटनामा कसरी त्रुटी भयो भनेर अनुसन्धान गर्न निर्देशन दिइसहेका छन् । राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले मंगलबार एक विज्ञप्ति जारी गर्दै अहिलेसम्म ८५ शवको अन्त्येष्टि गरेको बताएको छ । अन्य कयौँ बेपत्ताहरूको खोजी कार्य जारी राखिएको छ ।
प्रत्यक्षदर्शीहरुका अनुसार मुस्लिम धर्मावलम्बी भेला भएको ठाउँमा दुईपटक बम आक्रमण भएको थियो । सुरुवातमा बम आक्रमण भएपछि धेरै मानिसहरू तितरबित्तर भएका थिए, त्यसपछि पनि बमबारी हुँदा शवहरू उठाउन गएका मानिसहरू पनि मारिएका थिए ।
(भाडियो)
यस आक्रमणमा परेर ६० जना मानिसहरू घाइते भएका छन् । नाइजेरियाको यो घटनामा अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले भने यस आक्रमणमा १२० जनाको मृत्यु भएको बताएको छ ।
चरमपन्थी बोकोहराम समूह, नाइजर तालिबान लगायत लुटेरा र विद्रोहीको हमलाले नाइजेरियाको उत्तरपश्चिम र मध्य क्षेत्रका केही भागलाई ध्वस्त पारेको छ । देशका सेनाहरूले हवाई बमबारीका साथै सशस्त्र समूहको लुकेका ठाउँलाई बारम्बार निशाना बनाएका छन् । तर, कहिलेकाहीँ झुक्किएर गाउँमा बमबारी हुने गरेका छन् ।
त्यस्ता अराजक समूहले गाउँमा डकैती गर्ने गरेका छन् भने वायुसेनाको लडाकु विमान र रेलमा आक्रमण गरेका छन् । उनीहरूले फिरौतीका लागि बालबालिकासहित सबै उमेरका मानिसलाई अपहरण गर्ने गरेका छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८० १६:४०