पट्यारलाग्दो झरी सकिएलगत्तै गाउँघरमा दसैँले चिहाउन थाल्थ्यो । शारदीय आकाश नीलो रङमा गज्जबले खुल्थ्यो । आकाशमा कताकति सेता बादलका टुक्रा देखिन्थे । ती कपासजस्तै स्निग्ध हुन्थे । चिसो हावा चलिरहन्थ्यो । हावामा गौँथलीहरू रमाउँदै कावा खान्थे । घामकिरीहरू उडेको दृश्य साँच्चै मोहक हुन्थ्यो । खोलाकिनार वा सिमसारहरूमा मनै लोभ्याउने किसिमले काँस फुल्थे । बारीका बार र थाँक्रामा घिरौँला, चिचिन्डा फलेका हुन्थे । काठका सुकेका थाँक्रामा लोभ लाग्दोगरी बोडी फल्थे । कताकति हर्लक्क साग मौलाएका देखिन्थे ।
राति शीत पर्न थालिसकेको हुन्थ्यो । पारिजात, चमेलीजस्ता फूलका बासनाले बिहानी वातावरण सुमधुर बन्थ्यो । यही मौसममा एउटा फिस्टे चरा देखिन्थ्यो । हामी त्यसलाई दसैँ चरा भन्थ्यौँ । लाग्थ्यो, त्यो चरा हाम्रा लागि दसैँ लिएर आएको हो । खेतमा धानका बाला नुहेका हुन्थे । त्यो फिस्टे फुत्रुक फुत्रुक गर्दै धानका बोटमा लाग्ने कीरा खान्थ्यो ।
दसैँ–तिहारका लागि स्कुलमा लामो बिदा हुन्थ्यो । शिक्षकले बिदाका लागि गृहकार्य दिन्थे । त्यो दसैँ–तिहार सकिएपछिका लागि मुल्तबीमा राखिन्थ्यो । साँच्चै नै दसैँ उमङ्ग बोकेर आउँथ्यो । साराका लागि खुसी बोकेर आउँथ्यो । दसैँ भन्नेबित्तिकै मनमा एकखालको हतारो हुन्थ्यो । जहिल्यै के–के छुट्लाजस्तो छट्पटी हुन्थ्यो ।
साथीहरू टीका लगाउन मामाघर जाने कुरा गर्थे । मामा माइजूले दक्षिणा दिनुहुन्छ भनेर रमाउँथे । तर, हामी भने माइती टाढा भएर जान नपाएकोमा तीजमा दिदीबहिनीले विरह गाएझैँ मावली टाढा भएकोमा विरही सुस्केरा निकाल्थ्यौँ । हामीलाई मामाघर जाने सुयोग कहिल्यै जुरेन । हाम्रा लागि खुसी जेजति मिल्थ्यो, त्यो ककौरामै मिल्थ्यो । बाआमा सकेसम्म हाम्रा खुसी खोजमेल गर्नुहुन्थ्यो ।
दसैँलाई आवश्यक पर्ने चिउरा, चामल, मासुको जोहो बाले गर्नुहुन्थ्यो । आमाले ढिकीजाँतोमा कुटेर पिसेर सेल पकाउने पिठोको जोहो गर्नुहुन्थ्यो । चिनी भेलीका लागि नेपालगन्ज जाने हो कि बलैगाउँ, त्यसको जिम्मा बाले दिनुहुन्थ्यो । एकाधपटक म पनि बलैगाउँ, रुपैडिहासम्म पुगेको छु ।
नौरथा लागेपछि मालचरा उड्छ भन्थे । आकाशमा मालचराहरू गोलो आकार बनाएर उत्तरी दिशाबाट दक्षिण झर्थे । दसैँमा सबैलाई नयाँ कुराको चाह हुन्थ्यो ।
पानीका बाछिटाले लिउन उप्किएका घरका भित्ता लिप्ने माटो लिन गाउँछेउकै तालमा जान्थे गाउँलेहरू । गाउँमा दुई/तीनवटा ताल थिए । तिनमा पाइने माटोका रङ अलग–अलग थिए । कुनैमा कालो माटो हुन्थ्यो, कुनैमा पहेँलो माटो हुन्थ्यो । गाउँका तालको भन्दा पनि अझ राम्रो माटो जङ्गलमा पाइन्थ्यो । माटो लिन गाउँलेहरू जङ्गलमा जान्थे । कसैले बोरामा भरेर ल्याउँथे, कसैले डोकोमा ल्याउँथे । थारूहरूले भने लडिया लिएरै माटो ओसार्थे ।
घर रातो, सेतो र पहेँलो माटोले लिप्थे । औँसीदेखि घर लिप्न सुरु हुन्थ्यो । जमरा राख्ने अघिल्लो दिन घर, कोठा, चोटा लिपेर सर्लक्क सफा पारिएको हुन्थ्यो ।
घरको भत्के बिग्रेको पिँढी र पाली मर्मत गरिन्थ्यो । बिग्रिएका पुराना ब्याट्रीको कालो निकालेर पिसेर झ्यालढोकामा रङ्गाइन्थ्यो । त्यतिबेला झ्याल ढोकामा लगाउने इनामेल पालिस कहाँ पाउनु ! लिपिएको घरको भित्तामा कम्पासले फूलका चित्र बनाएर त्यसमा रङ भरिन्थ्यो । सबैका घरमा एकैखाले चित्र हुन्थे ।
झार उखेलेर, फरुवाले भुईं ताछेर आँगन चिटिक्क पारिएको हुन्थ्यो । बाटोका खाल्डाखुल्डी पुरिन्थे ।
मुक्तिका ममाले पहिला मुक्तिलाई टीका लगाइदिए । र, राजा वीरेन्द्रको तस्वीर भएको एक रुपियाँको एउटा बिटो दिए । म हेरिरहेको थिएँ । मनमनमा अनुमान लगाएँ– त्यसमा त पक्कै पनि बीस रुपियाँभन्दा कम त छैन होला !
पढ्न गएका, कमाउन गएका सबै गाउँ फर्किन्थे । रोजगारीमा गएका शिक्षक कर्मचारी गाउँ फर्किएका हुन्थे । वैदेशिक रोजगारीमा जाने चलन त्यति भित्रिइसकेको थिएन । गाउँमा भिडभाड बढ्थ्यो । घरका सबै सदस्य जम्मा हुन्थे ।
सोह्रश्राद्ध सुरु भएदेखि नै हाम्रा लागि दसैँको काउन्टडाउन सुरु हुन्थ्यो । दसैँ आउन अब २५ दिन बाँकी । अब २४ दिन बाँकी । अब २३ दिन बाँकी ।...यसरी नै हामी दिनगन्ती गर्थ्यौं ।
सोह्रश्राद्धमा बा कपाल खौरेर बस्नुहुन्थ्यो ।
नयाँ लुगा पाइन्थ्यो दसैँमा ।
मानिसहरू किनमेल गर्न हतारिन्थे । सामानको जोहो गर्न कहाँ–कहाँ पुग्नुपर्थ्यो । माहौल नै यस्तो हुन्थ्यो कि सबैको मनमा कुतकुती लाग्थ्यो ।
दसैँका लागि सबैले घ्यु सँगालेर राखिन्थ्यो । थरीथरीका अचार बनाएर राखिएका हुन्थे । सेल रोटी पाक्थ्यो । घरमा टीका लगाउन आउनेलाई केही नखुवाई पठाउने चलन थिएन ।
साँच्चै दसैँ त्यतिबेला आएजस्तो लाग्थ्यो, जब भारततिर गएका मानिस गाउँ फर्किन्थे । हाम्रो घरदेखि उत्तर टोलका लेखबहादुर, कोमबहादुर, ढाडे साइँलाहरू भारतबाट गाउँ आउँदा चस्मा लगाएर हातमा सुटकेस बोकेर आउँथे । उनीहरू आएपछि अझ दसैँ नजिकै आएको भान हुन्थ्यो ।
रेडियोमा मङ्गल धुन बजिरहेको हुन्थ्यो । हरेक बिहान रेडियोले देवता र असुरहरूको लडाइँको नाटक बजाउँथ्यो । रेडियो भन्नु नै रेडियो नेपाल थियो ।
दसैँको दिनमा को घाँस काट्न जाने ! तर गोठमा बाँधिएका पशुको खान्कीको जोहो गर्नैपर्थ्यो । मान्छेलाई दसैँ आउँदा ती बिचरा पशुलाई भोकमरी लाग्न सक्थ्यो । त्यसैले दिनको दुई/तीन भारी घाँस काटेर जगेडा राखिन्थ्यो । जसरी हुन्छ, दसैँको एक–दुई दिन फुर्सदिलो बनाउनेबारेमा जोसुकैको ध्याउन्न हुन्थ्यो ।
दसैँमा ताजा चिउरा चीज हुन्थ्यो । त्यसैले हरिया धान काटेर माडेर चिउरा बनाउन सङ्खरिया मिलमा लान्थ्यौँ । यस क्षेत्रको एक मात्र चिउरा मिल सङ्खरियामै थियो । मिल नपुग्दै ताजा चिउराको मीठो बास्ना नाकमा ठोकिन्थ्यो । त्यतिबेला मिल मात्रै होइन, गाउँभरिका ढिकीजाँतोले पनि दिनरात फुर्सद पाउँदैनथे ।
आमाले पाकेर पहेँलिएका काँक्राको अचार बनाएर राख्नुहुन्थ्यो । त्यो बेला गाउँघरमा स्याउ सुन्तला कहाँ पाउनु । बरु दसैँको दिनका लागि भनेर बाले जमिनमुनि केराका घरी पकाउन हाल्नुहुन्थ्यो ।
धित मरुन्जेल मासु खान पनि दसैँ नै आउनुपर्थ्यो । दसैँमा खसी काट्दाको माहौल गज्जबको हुन्थ्यो । केराका पातमाथि बिलो लगाउँथे । खसी भुत्ल्याउन भाँडोमा खरानीपानी तताइएको हुन्थ्यो । खसीको रगत, मुटु, कलेजो काटकुट पारी रक्ती भुट्थे, जुन एकदम चर्काे हुन्थ्यो । मासुका सबै ग्राहक, घरधनी र त्यो घरका सबै सदस्यले धेरथोर रक्ती पाउँथे । सालको पातको दुनामा सबैलाई भाग लाग्थ्यो । मासु काट्नेले मासु टुक्र्याउँदै पनि हुन्थ्यो । कतिपयले काट्दाकाट्दै काँचै मासु पनि खाइदिन्थे ।
धारो या कुवाको छेउमा बसेर हामी केटाकेटी आन्द्रामा पानी हालीहाली आन्द्राभुँडी सफा गर्थ्यौं । दाह्री खौरिने मेसिनको ब्लेडले खसीका खुट्टा टाउकोका रौँ खुर्किन्थ्यौँ । यो जत्तिको पट्यारिलो काम सायद अर्थाेक कुनै हुन्छ होला ।
थारू गाउँहरूमा भिडियो लाग्थ्यो । तोरैया, लक्ष्मण या छोट्की डेउढासम्म ककौराबाट भिडियो हेर्न गइन्थ्यो । एकपटक लक्ष्मणामा भिडियो चलेको खबर आयो । साथीहरूसँग म पनि भिडियो हेर्न गएँ । भिडियो चलिरहेकै थियो, अबेर रात साथीहरूले ‘घर जाऊँ’ भने । ‘भिडियो सकिएकै छैन, म त जान्नँ,’ मैले साथीहरूलाई छोडिदिएँँ, ‘रातभरि भिडियो हेर्छु । बिहान मात्र आउँछु ।’ उनीहरू रिसाउँदै फर्किए । रातभरि भिडियो हेरेर मिरमिरे बिहान भएपछि मात्र म घरतिर हिँडेँ ।
गाउँघरमा जताजतै पिङ हालिएका हुन्थे । बेलुकी सबै गाउँले पिङ भएकै ठाउँमा जम्मा हुन्थे । सबै उमेरसमूहका मानिस पिङमा मच्चिएका हुन्थे ।
कताकति रोटेपिङ हुन्थे धेरैजसो ठाउँमा लट्ठेपिङ गाडिएका हुन्थे । घरघरबाट बनकसका मुठा उठाएर गाउँकै युवाहरूले पगाहा बाटेर पिङ बनाउँथे । पिङका लागि खाँबाहरू जङ्गलबाट ल्याइन्थ्यो ।
दसैँका दिन दहीमा राता अक्षता मुछिएका हुन्थे । कतिबेला बाले टीका लगाइदिनुहोला भनेर हामी पर्खिरहन्थ्यौँ । ‘दसैँमा जेठाको पालो, तिहारमा कान्छाको पालो,’ बा भन्नुहुन्थ्यो, ‘ल पहिला ठूलो बाबुको पालो, अनि तिमीहरूको है !’ बा निधारमा टीका लगाइदिँदै मन्त्र भट्याउनुहुन्थ्यो, ‘दायुद्रोणसुते श्रीयम् दशरथे शत्रु क्षयम् राघवे...।’
टीका नलगाएसम्म खान पाइँदैनथ्यो । घरमा अघिपछिभन्दा मीठामीठा परिकार पाकेका हुन्थे । तिनको वासनाले हाम्रा भोक झन् जगाइदिन्थे । तर, आमा भन्नुहुन्थ्यो, ‘टीका नथापी केही खानु हुँदैन है ।’ भोक खटेर हामी घडी हेर्दै टीकाको साइत कुर्थ्यौं ।
खाना खानेबित्तिकै घरबाहिर निक्लियो । साथीहरू पर्खिएर बसेका हुन्थे । सबैका निधारभरि राता अक्षता, कानभरि पहेँलपुर जमरा । कसले कस्तो कपडा किनेछ । कसले जुत्ता किन्यो । कसको जिन्स पाइन्ट । कसको हातमा चिमचिमे घडी छ । कसको पर्स छ । कोसँग रुमाल छ । सबै कुरा रोचक हुन्थे । साथीभाइबीच आफूसँग भएका नयाँ चीजबिजको प्रदर्शन गर्ने बेला नै यही दसैँ थियोे ।
घरमा बाआमाको हातबाट टीका थापेपछि अन्यत्र टीका थाप्न हिँडिन्थ्यो । टीका लगाउन जाने हाम्रा आफ्नै रुट थिए । साथीहरूसँग दसैँमा कसको घर जाने कसको घर नजाने भन्ने सल्लाह हुन्थ्यो । कसले धेरै पैसा दिन्छ, कसले थोरै दिन्छ वा कसले प्रसाद मात्र दिन्छ, त्यसका आधारमा टीका थाप्न गइन्थ्यो । हामीलाई टीका र आशीर्वादभन्दा पनि पैसाको महत्त्व थियो । पैसा दिने घर अवश्य गइन्थ्यो । नदिने घर सकभर गइँदैनथ्यो । दक्षिणा सुका, मोहर, डबल हुन्थे । कसैकसैले भने ५ पैसा, १० पैसा पनि दिन्थे ।
मामाले मलाई दक्षिणा दिने हुन् कि होइनन्, दिए पनि कति पो दिने हुन् भन्ने खुलदुली मेरो मनमा थियो । उनले मलाई पनि मुक्तिलाई जसरी नै पैसा दिए । ‘मामाको जय होस्’ भन्दै मैले मनमनै आशिष दिएँ । हामी एकछिन बसेर त्यहाँबाट फटाफट घरतिर लाग्यौँ ।
हामीले ककौरामा टीका लगाउने दुई तीन घर मात्रै थिए, जहाँ दक्षिणा पाउने सम्भावना शतप्रतिशत रहन्थ्यो । धेरै घरमा टीका लगाएपछि आशिष मात्रै पाइन्थ्यो । ‘ती आशिष उनैले राखून् । हामीलाई के काम !,’ हामी असन्तुष्टि ओकल्थ्यौँ । सेलरोटीको पनि खासै रुचि हुँदैनथ्यो । गाउँमा टीका लगाइसकेपछि मटेरिया, मटेरियाबाट सङ्खरिया । त्यहाँबाट रिहारपुर, वनगौडी, जुरैनाहुँदै लक्ष्मणासम्म पुगिन्थ्यो । दिन कति छिटो बित्थ्यो । ‘यो दिन त तीन/चार दिनको लामो हुनु नि !’ हामी भन्थ्यौँ । बरु साइकल भइदिए कति घर त छुट्दैनथेजस्तो लाग्थ्यो । सिक्काले पाइन्ट वा जाँघेका दुवैतिरका खल्ती लच्किएका हुन्थे । घर आउँदा साँझ परिसक्थ्यो ।
०००
एक वर्ष दसैँको दिनको कुरा हो । २०४० सालतिर हुनुपर्छ । टीका लगाउने समय भइसकेको थिएन । १०ः५५ बजे टीकाको साइत थियो । अहिले बिहान ८ बज्दै थियो । म टहलिँदै चोकतिर निस्किएँ । चोकमा मुक्तिसँग भेट भयो । उसँगै एकछिन गफिएँ ।
‘टीका थाप्न तँ मसँगै मेरो मामाघर जान्छस् ?,’ मुक्तिले भन्यो । मोतिपुरमा उसको मामाघर थियो । ‘तेरो मामाघर म किन जाने ? त्यहाँ मलाई कसैले चिन्दैनन्,’ मैले भनेँ, ‘तँलाई पो तेरा मामाले टीका लगाएर पैसा दिन्छन्, मलाई त दिन्नन् नि !’
‘केही हुन्न हिँड,’ उसले भन्यो, ‘म तँलाईं मेरो भाइ हो भन्दिन्छु । तँलाई दक्षिणा दिएनन् भने मेरो दक्षिणाबाट आधा तँलाई दिम्ला ।’
सँगै पढ्ने भए पनि मुक्ति मभन्दा उमेरमा अलिक ठूलो थियो । उसका दुई भाइ थिए । एउटा भाइ मेरै समकालीन थियो । मुक्ति मसँगै पढ्थ्यो । भाइ भने एक क्लास जुनियर थियो । ‘मेरो मामाघरमा धेरै दक्षिणा दिन्छन् बे,’ उसले मलाई लोभ्याउने हिसाबले भन्यो, ‘पोहोर साल मामाले मलाई २० रुपियाँ दक्षिणा दिनुभएको थियो ।’ दक्षिणाको अंक सुनेर मेरो मनमा पनि लोभ पलायो । मुक्तिलाई २० रुपियाँ दिए भने १० रुपियाँ त मेरो भागमा पनि पर्थ्यो । मलाई छुट्टै दक्षिणा दिए भने त झन् मालामाल भैगो !
‘दक्षिणमा तैँले बेइमान त गर्दैनस् नि !,’ मैले मुक्तिलाई खेरेँ । उसले टस गरेर वाचा गर्यो ।
म फटाफट घरतिर लागेँ । घरमा टीका लगाउने तयारी हुँदै रहेछ । बुबाले हामीलाई टीका लगाइदिनुभयो । टीका लगाउनेबित्तिकै हतारहतार खाना खाएर म मुक्तिको घरतिर लागेँ ।
मुक्ति मलाई नै कुरेर बसिरहेको रहेछ ।
हामी दुई जना टीका थाप्न उसको मामाघर मोतिपुरतिर हिँड्यौँ । जाँदा बाटोमा नानाथरी कुरा मनमा खेलिरहेका थिए । टीका लगाएर मुक्तिका मामाले मलाई दक्षिना देलान् कि नदेलान् । दिएनन् भने मुक्तिले वाचाअनुसार आधा पैसा मलाई देला कि नदेला !
मुक्तिको मामाघर आइपुग्यो । ‘ए... भान्जा आयौ,’ मामाले हामीतिर हेर्दै भने । मामाले यो को हो त ? भनेर सोध्ने हुन् कि भनेर म मनमनै डराइरहेको थिएँ । तर, सोधेनन् ।
उनले पहिला मुक्तिलाई टीका लगाइदिए । र, राजा वीरेन्द्रको तस्वीर भएको एक रुपियाँको एउटा बिटो दिए । म हेरिरहेको थिएँ । मनमनमा अनुमान लगाएँ– त्यसमा त पक्कै पनि बीस रुपियाँभन्दा कम त छैन होला !
त्यसपछि मामा मलाई टीका लगाइदिन अघि सरे । मलाई दक्षिणा दिने हुन् कि होइनन्, दिए पनि कति पो दिने हुन् भन्ने खुलदुली मेरो मनमा थियो । उनले मलाई पनि त्यसरी नै पैसा दिए, जसरी मुक्तिलाई दिएका थिए ।
म मनमनै गद्गद् भएँ । ‘मामाको जय होस्,’ मैले मनमनमा उनलाई आशिष दिएँ । हामी एकछिन बसेर त्यहाँबाट फटाफट घरतिर लाग्यौँ । हामीलाई त्यो पैसाको मुठामा कति पैसा होला भन्ने छटपटीले सताइरहेको थियो । घरबाट अलि पर पुगेपछि हामीले पैसा गन्यौँ ।
पहिला मेरो पैसा गन्यौँ एघार रुपैयाँ रहेछ । मुक्तिको पनि एघारै रुपैयाँ रहेछ । पैसा गनेपछि मुक्तिको अनुहार अँध्यारो भयो, सायद मामाले उसलाई पनि मलाईजत्ति नै दक्षिणा दिएकाले होला ।
दसैँमा थारू गाउँ, पीपलटाँडी, ककौरा चोक जताततै तासका खाल जमेका हुन्थे । भुराभुरी खोरखोरेमा झुम्मिन्थे । गाउँ छोडेपछि धेरै कुरा छुटे । आनन्द छुट्यो । दसैँको रमाइलो छुट्यो । साथीहरू छुटे । दसैँको दक्षिणा छुट्यो । बुबा आमाको काख छुट्यो । जङ्गल छुट्यो । सुनौलो बाल्यकाल पनि उतैकतै गाउँमै छुट्यो ।
आउँदा बाटोमा मेरो मनमा अर्को शंका पलाउन थाल्यो । ‘मेरो मामाघरमा पाएको दक्षिणा अब आधा मलाई ले’ भन्दै मेरो पैसा मुक्तिले खोसिदिने पो हो कि ! मेरो मनमा अनेक तर्कना खेलिरहेका थिए ।
तर उसले त्यस्तो केही भनेन । एघार रुपियाँ दक्षिणा पाएर ऊ पनि मख्ख थियो । ३२/३५ वर्षअघि यति पैसा थोरै थिएन । बरु मुक्तिले भन्यो, ‘तँ टीका लाउन हाम्रो मामाघर आएको कुरा अरू कसैलाई नभन् है !’
आखिर उसको मनमा पनि अर्कै डर रहेछ । हाम्रा लागि त्यो वर्षको दक्षिणाको कोटा पुग्यो । दिनभरि डुलेको भए पनि हामीसँग त्यति पैसा जम्मा हुँदैनथ्यो । त्यो वर्ष हामी अन्यत्र कतै टीका थाप्न गएनौँ ।
अहिले यो घटना सम्झिँदा हाँसो लाग्छ ।
०००
हाम्रो टीका एक दिन मात्र हुन्थ्यो । तर, मध्यपहाडी जिल्लाबाट बसाइँ आएकाहरू भने दशमीदेखि पूर्णिमासम्म टीका लगाउँथे । पूरै निधार ढाकिने गरी टीका र टोपीभरि जमरा लगाएर दसैँपछिसम्म पनि उनीहरू बाटामा हिँडिरहेका भटिन्थे । गण्डक क्षेत्रबाट आएकाहरूको भने टीका एक दिन मात्रै चल्थ्यो । पुग्नुपर्ने ठाउँमा १ बजे रातिसम्म भए पनि पुग्नैपर्यो । नत्र टीका समय सकिन्थ्यो । दसैँको दिन छुटेपछि त छुट्योछुट्यो । त्यसैले टीका छोप्न सबैलाई हतारो हुन्थ्यो ।
त्यसैले निधारमा टीका र कानमा जमरा सिउरिएर बाटाघाटामा मानिसहरू हतार–हतार आफ्नो गन्तव्यतिर कुदिरहेका भेटिन्थे ।
मध्यपहाडी क्षेत्रका मानिसहरू पाँच दिनसम्म टीका लगाएर हिँडेको देख्दा अचम्म लाग्थ्यो । हाम्रोमा पनि यो चलन चलाए कस्तो हुन्थ्योजस्तो लाग्थ्यो ।
हाम्रो बस्तीसँगै जोडिएको थियो थारू गाउँ । थारू गाउँमा दैनिक मादल बज्थ्यो । के पुरुष के महिला दसैँ सुरु भएदेखि नै थारूहरू जाँड रक्सी खाएर ‘मत्वार’ हुन्थे । नाचमा थारूहरू दुई समूहमा बाँडिन्थे । एउटा समूहले गीत गाउँथ्यो र त्यही गीत अर्काे समूहले छोप्थ्यो । सबैले कानमा दाउना (बाबरी) फूल सिउरिएका हुन्थे । दाउना फूल र मदिराको सुगन्धले सारा माहौल मादक बनेको हुन्थ्यो । थारू महिला भने आफैँ नाचगानमा सहभागी हुँदैनथे । उनीहरू मचिया, खटियामा बसेर नाच नियाल्थे ।
थारू पुरुषहरू नै महिलाका कपडा लगाएर नाच्थे । चार/पाँचवटा मादल घन्किएका हुन्थे । नाचको बीचबीचमा सोङ्गियाले विभिन्न हाउभाउसहित हँसाउँथे ।
थारू गाउँ, पीपलटाँडी, ककौरा चोक जताततै तासका खाल जमेका हुन्थे । भुराभुरी खोरखोरेमा झुम्मिन्थे ।
गाउँ छोडेपछि धेरै कुरा छुटे । आनन्द छुट्यो । दसैँको रमाइलो छुट्यो । साथीहरू छुटे । दसैँको दक्षिणा छुट्यो । बुबा आमाको काख छुट्यो । जङ्गल छुट्यो । माटोसँगको सान्निध्य छुट्यो । धेरै कुराहरू छुटे ।
सुनौलो बाल्यकाल पनि उतैकतै गाउँमै छुट्यो ।
प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८० १६:०४