कांग्रेस नेता शेखर कोइरालाले कान्तिपुर दैनिकसँगको अन्तर्वार्तामा चिनियाँ नोरिन्को कम्पनीसँग नेपाली सेनाले खरिद गर्ने भनिएको हतियारको प्रसंगले सरकारको भविष्य इंगित गरेका छन् । अमेरिकामा कालोसूचीमा परेको नोरिन्को कम्पनीसँग हतियार खरिद गर्नु गलत भएको र त्यसले सत्ता समीकरण फेरबदल हुन सक्ने आशय कोइरालाले प्रकट गरेका छन् ।
चिनियाँ कम्पनीसँग हतियार खरिद प्रकरणलाई कोइरालाले जति गम्भीरतापूर्वक लिएका छन्, त्यति नै गम्भीरताका साथ अमेरिका र भारतले लिएका थिए । अमेरिकी दूतावास र भारतीय दूतावासका प्रतिनिधिले सरकारलाई चीनबाट हतियार खरिदको प्रश्न उठाएका थिए । स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमात्र होइन, कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत प्रश्न गरेका थिए ।
यो हतियार प्रकरण खासमा प्रधामनन्त्री प्रचण्डभन्दा बढ्ता कांग्रेस नेताहरूसँग जोडिन्छ । चीनबाट हातहतियार खरिद गर्ने निर्णय प्रधानमन्त्री हुँदा देउवाले गरेका थिए । अनि, त्यतिबेलाको निर्णयमा अप्रत्यक्ष संलग्नता तत्कालीन सञ्चार तथा सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि जोडिन्छन् ।
देउवाले हतियार खरिदको त्यो निर्णय गर्दा नोरिन्को कम्पनी कसरी छनोटमा पर्यो भन्ने गम्भीर प्रश्न उठेको छ ।
कोइरालाले अमेरिकामा कालोसूचीमा रहेको कम्पनीबाट हतियार खरिदको प्रसंग उठाउनुलाई खासमा कम्पनी कालोसूचीमा पर्नु मात्रै कारण भने होइन । चीनबाट हतियार खरिद गर्ने सन्दर्भ भूराजनीति भूमिका पनि जोडिन्छ ।
भारत र अमेरिका नेपालले चीनबाट हतियार खरिद नगरोस् भन्ने चाहन्छ । त्यसैकारण उसले संयन्त्र परिचालन गरेको छ । प्रधानमन्त्री प्रचण्डमाथि दबाब पनि बढाएको छ । स्रोतका अनुसार त्यही दबाबका कारण रक्षा मन्त्रालयले तत्काल प्रक्रिया अगाडि नबढाउने भएको छ । प्रचण्डको संभावित चीन भ्रमणमा यो निर्णय अगाडि बढ्ला भन्ने त्रासमा भारत र अमेरिका रहेका छन् । प्रचण्डले चीनसँग यो प्रसंग अगाडि बढाए सरकार ढल्ने प्रष्ट भनाइ कोइरालाले राखेका छन् ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली सेनाका लागि आवश्यक केही हातहतियार चीनबाट खरिद गर्ने निर्णय गरेका थिए । त्यतिबेला २६ एपीसी, ७२ वटा ट्याक्टिकल भेइकल र गोली खरिद गर्ने निर्णय भएको थियो । उक्त हातहतियार खरिदका लागि चीनको एक कम्पनीसँग डील पनि भएको थियो । चीनबाट ल्याउन लागेको एपीसीको मूल्य करिब ७ करोड ७५ लाख रुपैयाँ पर्ने बताइएको थियो । सेनाले जीटुजी मार्फत खरिद गर्न लागेको थियो । चिनियाँ कम्पनी नोरिन्कोमार्फत खरिद प्रक्रिया अगाडि बढेको थियो । यो कम्पनीको नेपाल प्रतिनिधि पनि तय भइसकेका थिए । स्रोतहरूका अनुसार नोरिन्को कम्पनीसँग उमेश श्रेष्ठ र रोशन श्रेष्ठ नजिक भए पनि पछिल्लो समय कांग्रेस सभापति शेरबहादुर देउवाका साला भुषण राणा र लोकेन्द्र कार्की जोडिएको बताइएको छ ।
यद्यपि, चीनसँग हतियार खरिदको निर्णय अहिले मुल्तबीमा रहेको पनि स्रोतको दाबी छ । स्रोतका भनाइमा हतियार खरिदका लागि गत जेठमा एलसी खोल्ने विषय पनि विवादमा परेको थियो । नेपाली बैंकले एलसी खोल्न आनाकानी गरेको पनि बताइन्छ । त्यसैले, नोरिन्कोसँग हतियार खरिद आन्तरिक राजनीति मात्र होइन, भूराजनीतिसँग पनि जोडिएको छ । त्यही भूराजनीतिक र आन्तरिक राजनीतिको संकेत कोइरालाबाट सार्वजनिक भएको पनि टिप्पणी भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, असार ३१, २०८० २१:१७