कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथग्रहणमा विपक्षी मात्र हैन सत्तारुढ दलनै उपस्थित भएनन् । विपक्षी दल एमाले र राप्रपाले मुख्यमन्त्रीको नियुक्ति नै गैर संवैधानिक रहेको बताउँदै शपथ समाराेहमा उपस्थित भएनन् भने सत्तापक्षीय दलका सांसदहरू समेत देखिएनन् ।
मुख्यमन्त्री थापाको शुक्रवार ९ बजे शपथ खाने कार्यक्रम थियो । प्रदेश प्रमुखको कार्यालयमा शपथको लागि मुख्यमन्त्री थापा र अन्य दुई सांसद मन्त्रीको शपथ खान तम्तयार थिए । नेकपा एसको तर्फबाट कमल जगेबु र नेपाली कांग्रेसको तर्फबाट प्रदीप सुनुवार मुख्यमन्त्री थापासँगै शपथको लागि आएका थिए ।
कांग्रेस र नेकपा एसका सांसदहरू मन्त्री बन्न लाइनमा बसिरहँदा सत्तापक्षीय दोस्रो ठूलो दल माओवादी केन्द्रका कोही पनि सांसद शपथ समाराेहमा पुगेनन् । मन्त्री छान्न छलफलमा जुटेको बताए पनि पार्टी भित्रको अन्तर्द्वन्द्वका कारण शपथ कार्यक्रममा कोही माओवादी नेताहरू नपुगेका स्राेतकाे दाबी छ ।
माओवादी केन्द्रभित्र सरकार गठनको विषयमा अन्तर्द्वन्द्व बढेको छ । सभामुखलाई सरकार गठनको क्रममा विवादमा तानेको भन्दै माओवादी सांसदले आफ्नै नेतृत्वलाई इंगित गर्दै सार्वजनिक अभिव्यक्तिसमेत दिएका छन् ।
माओवादी प्रदेश समिति सचिव तथा प्रदेश सांसद गणेश उप्रेतीले सत्ता लिप्सामा आशक्त भएकाहरूले सभामुखको दुरुपयोग गरेको भन्दै फेसबुकमार्फत आक्रोश पोखेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘हुँदाछँदाको सभामुखलाई डुबाएर नर्कको यात्रा सुरु गरे सत्ता लिप्सामा आशक्त भएकाहरूले ।’
माओवादी मात्र हैन, सत्तारुढ जसपासमेत शपथ ग्रहण कार्यक्रममा देखिएन । सरकार गठनमा तटस्थ बस्ने जनाए पनि जसपा सांसद निर्मला लिम्बूले बिहीबार सरकार गठनमा कांग्रेस नेता थापालाई मुख्यमन्त्रीमा प्रस्ताव गरेकी थिइन् । नामकरणमा कांग्रेस लचिलो हुने भन्दै दिएको समर्थनबाट मुख्यमन्त्री बनेका थापाको शपथमा भने लिम्बू पुगेकी थिइनन् ।
प्रकाशित मिति: शुक्रबार, असार २२, २०८० ११:१३