नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । वि.सं. २०३२ ताका काठमाडौंको शङ्करदेव क्याम्पसबाट नेपाल विद्यार्थी सङ्घको एकाइबाट राजनीतिक जीवन सुरु गरेका थापा कांग्रेसको १४औँ महाधिवेशनमा कोशी प्रदेशको सभापति पदमा निर्वाचित भएका हुन् ।
वि.सं. २०३६ को जनमत सङ्ग्रहमा पञ्चायती व्यवस्थाविरुद्ध बहुदलीय व्यवस्था स्थापनाका लागि प्रचार अभियानमा सक्रिय थापा त्यसताका बीपी कोइरालाको सुरक्षा दस्तामा समेत रहेका थिए ।
अर्जुनधारा नगरपालिका–७ निवासी हेमबहादुर थापा र डम्बरकुमारी थापाको कोखबाट २०१४ मङ्सिर १५ मा उनको जन्म भएको हो । थापाले २०४६ सालमा पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।
विद्यार्थी जीवनबाट पार्टीको सङ्गठनतर्फ प्रवेश गर्ने क्रममा उनले कांग्रेस अर्जुनधारा गाउँ विकास समितिको सचिव/सभापतिको एक–एक कार्यकाल जिम्मेवारी सम्हाले । त्यसपछि झापा निर्वाचन क्षेत्र नं २ को क्षेत्रीय सभापति, जिल्ला सचिव, जिल्ला उपसभापति र दुई कार्यकाल जिल्ला सभापतिको भूमिका निर्वाह गरे । दुईपटक प्रतिनिधिसभा सदस्यको चुनाव लडेका थापा दुवै पटक पराजित भए ।
२०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि त्यसविरुद्ध भएको आन्दोलनमा थापाले सक्रिय भूमिका निर्वाह गरे । त्यसक्रममा उनलाघ तत्कालीन शाही नेपाली सेनाको मातहतमा रहेको युनिफाइड कमाण्डले पक्राउ गरेको थियो । उनी केही समय सैन्य हिरासतमा पनि बस्नुपरेको थियो ।
वाणिज्य शास्त्रमा स्नातक गरेका थापा नेविसङ्घ एकाइ हुँदै पार्टीको तल्लो एकाइ समितिबाट नेतृत्व विकास गर्दै राष्ट्रिय राजनीतिको वर्तमान अवस्थामा आफूलाई उभ्याउन सफल भएका हुन् ।
कोशी प्रदेशसभाको दोस्रो निर्वाचनमा नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएका थापा बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
मोहम्मद सदरुल/रासस
प्रकाशित मिति: बिहीबार, असार २१, २०८० १९:१७