अन्तरिक्षमा ६ महिना बिताएपछि चीनका तीन अन्तरिक्षयात्रीहरू पृथ्वीमा फर्किएका छन् । आइतबार सेन्जोउ–१५ अभियानका अन्तरिक्षयात्रीहरू उत्तरी चीनको भित्री मंगोलिया क्षेत्रको डोङफेङ साइटमा बिहान ६ बजेर ३० मिनेटमा पृथ्वीमा अवतरण गरेका हुन् ।
सेन्जोउ–१५ अन्तरिक्षयानको क्याप्सुलमा उनीहरू पृथ्वी फर्किएको भिडियो सार्वजनिक भएको छ । गत नोभेम्बरमा फेइ जुनलोङ, देङ किङमिङ र झाङ लु चीनको तियानगोङ स्टेसनमा गएका थिए । त्यहाँ उनीहरूले अन्तरिक्ष स्टेसन निर्माण गर्न र वैज्ञानिक अनुसन्धान गर्न महत्त्वपूर्ण योगदान दिए । उनीहरूले मुन वाक पनि गरेका थिए ।
हालै उनीहरूलाई स्थान्तरण गर्न तीन अन्तरिक्षयात्री तियानगोङ स्पेस स्टेसन पुगेपछि हालका तीन अन्तरिक्षयात्री पृथ्वीमा फर्किएका हुन् ।
(भिडियो)
पृथ्वीमा अवतरण गरेपछि जुनलोङ, किङमिङ र झाङले स्वस्थ र राम्रो महसुस गरिरहेको बताएका छन् । वर्तमान अवस्थामा हाल चीनको अन्तरिक्ष स्टेसन मोड्युल टी आकारको छ । उक्त स्टेसनलाई क्रस आकारको बनाउने योजना छ ।
हाल अन्तरिक्षमा पुगेका चिनियाँ अन्तरिक्षयात्री गुई हाइचाओ, जिङ हाइपेङ र झु याङझुसले पृथ्वी अवतरण गरेका अन्तरिक्षयात्रीको कामलाई निरन्तरता दिनेछन् ।
पृथ्वीमा हाल दुईवटा अन्तरिक्ष स्टेसन सक्रिय छन् । जसमा आईएसएस र चीनको तियानगोङ पर्छ । आईएसएसमा चीनलाई प्रतिबन्ध लाग्दा चीनले अन्तरिक्षसम्बन्धी वैज्ञानिक अध्ययन धेरैपछि सुरु गर्याे तर आईएसएसको समयावधि सकिन लागेको छ, त्यो पुरानो हुन लागिसक्यो ।
चीनले चाँडै नै आफ्नो स्टेसनबाट अन्तरिक्षबारे नवीनतम खोजहरू गर्ने योजना बनाएको छ । अन्तरिक्ष स्टेसन एक्लैले खडा गरेर चीनले विश्वलाई आफू अन्तरिक्षमा महाशक्ति बन्ने होडमा रहेको संकेत दिइसकेको छ । चीनले मंगल ग्रह र चन्द्रमामा वैज्ञानिक अनुसन्धान अभियान संचालन गर्ने योजना बनाइसकेको अवस्था छ । रोयटर्स
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८० १३:२५