फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंले युरोप अमेरिकाको पिछलग्गु हुनबाट जोगिनुपर्ने बताएका छन् । म्याक्रोंका अनुसार युरोपेली युनियनले अमेरिकाको निर्भरता घटाउनुपर्छ ।
चीन भ्रमण सम्पन्न गरे लगत्तै म्याक्रोंको यस्तो प्रतिक्रिया आएको हो । उनले ताइवानको विषयमा युरोपले चीन अथवा अमेरिका कसैको पक्षमा उभिन नहुने पनि उल्लेख गरेका छन् ।
यतिबेला चीन र ताइवानबीच द्वन्द्वको अवस्था निम्तिएका छ । ताइवानकी राष्ट्रपति साई इङ वेनले अमेरिकी सभामुख केभिन म्याकार्थीलाई भेटेपछि चिनियाँ जनमुक्ति सेनाहरूले ताइवान वरपर युद्ध अभ्यास गर्न थालेका छन् ।
म्याक्रोंका अनुसार चीन र ताइवानको विषयमा युरोप मौन हुनुपर्छ किनभने यी विषय युरोपसँग सम्बन्धित छैन । अमेरिकाले एक चीन नीति पालना गरेता पनि उसले ताइवानलाई हतियार बेचिरहेको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङसँग राजधानी बेइजिङमा भेटेपछि म्याक्रोंले गत शुक्रबार पत्रकारहरूसँग भनेका थिए,‘जुन समस्या हाम्रो होइन, त्यसमा फसेर युरोपले ठूलो जोखिम मात्र मोल्नेछ ।’
उनका अनुसार युरोप अमेरिकाको अनुयायी हुनु बिडम्बना हो । उनी भन्छन्, ‘युरोपका नागरिकले यसको जवाफ खोज्न जरुरी छ कि ताइवानमा तनाव बढ्दा त्यो उनीहरूको हितमा छ त ? सबैभन्दा खराब कुरा के भने हामी युरोपेली नागरिक यो मुद्दामा अमेरिका जसरी सोचिरहेका छौं ।’
युरोपले ‘रणनीतिक स्वायत्तता’ सिद्धान्त पालना गर्नुपर्ने म्याक्रोंको जोड रहेको छ । उनका अनुसार आफ्नो राष्ट्रिय स्वार्थ पूरा गर्न युरोपेली राष्ट्रहरूले विदेशीसँग निर्भर नभई आफ्नो मनपर्ने विदेश नीति अपनाउनुपर्छ ।
उनले चीन भ्रमण गर्नुको आफ्नो उद्देश्य युक्रेन र रुसबीचको युद्ध रोक्न दबाब दिनु रहेको पनि बताएका छन् । गतहप्ताको बुधबारदेखि शुक्रबारसम्म म्याक्रों चीन भ्रमणमा थिए ।
उनले चीनमा रहँदा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शान्ति स्थापना गर्न चीनले प्रमुख भूमिका निर्वाह गर्न सक्ने बताएका थिए ।
प्रकाशित मिति: सोमबार, चैत २७, २०७९ १४:०३