सुदूरपश्चिम प्रदेशमा क्षयरोगीका सबै संक्रमितहरु सम्पर्कमा आउन सकेका छैनन् । प्रदेशमा अनुमानित क्षयरोगी संक्रमितमध्ये सबै उपचारको दायरमा नआइसकेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
चालु आर्थिक वर्षमा प्रदेशमा ६ हजार छ सय ६९ जनालाई नयाँ क्षयरोगका विरामी पहिचान गर्ने लक्ष्य रहेकोमा फागुनसम्म प्रदेशभरि एक हजार आठ सय ३४ जनामात्र पहिचान भएको निर्देशनालयले जनाएको छ ।
स्वास्थ्य निर्देशनालयका क्षय–कुष्ठरोग सुपरिवेक्षक मनोज ओझाले प्रदेशमा लक्ष्यअनुसार नयाँ क्षयरोगका विरामी पहिचान हुन नसकिरहेको बताए । प्रदेशमा आर्थिक वर्ष २०७७/७८ मा दुई हजार आठ सय २६ र आर्थिक वर्ष २०७८/७९ मा तीन हजार चार सय २४ नयाँ क्षयरोग विरामी पहिचान भएका थिए ।
नौवटा जिल्ला रहेको यस प्रदेशमा सबैभन्दा बढी नयाँ विरामी पहिचान दर कैलालीमा रहे पनि अझै लक्ष्य अनुसार पहिचान हुन नसकेको उनले बताए । कैलालीमा चालु आर्थिक वर्षको फागुनसम्म सात सय ५२ नयाँ क्षयरोगी विरामी पहिचान भएका थिए भने आर्थिक वर्ष २०७८/७९ मा एक हजार चार सय ३३ र आर्थिक वर्ष २०७७/७८ मा एक हजार ८४ नयाँ विरामी पहिचान भएका थिए ।
स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले भने, ‘कैलालीमा वार्षिक दुई हजार पाँच सय बढी क्षयरोगका नयाँ विरामी पहिचान गर्नुपर्ने हुन्छ तर, हामीले एक हजारभन्दा बढी नयाँ विरामी फेला पार्न सकेका छैनौं ।’ उनले समाजमा चेतना नहुनु, निजी अस्पतालमा पत्ता लागेका विरामीहरूलाई सरकारी अस्पतालमा नपुर्याउनु लगायतका समस्याले लक्ष्य अनुसारको नयाँ विरामी पहिचान गर्न नसकिएको बताए ।
उनले भने, ‘सबै क्षयरोगका विरामीहरूको पहिचान गरी उपचारको दायरामा ल्याए क्षयरोगको अन्त्य गर्न सकिने छ ।’ क्षयरोगबाट हुने बिरामी र मृत्युदरलाई घटाई रोग सर्ने प्रक्रियालाई रोकी सन् २०३५ सम्ममा क्षयरोगलाई जनस्वास्थ्यको प्रमुख समस्याको रुपमा रहन नदिने सरकारको लक्ष्य रहेको छ ।
चार वर्षमा चार सय ३० क्षयरोगीको मृत्यु
सुदूरपश्चिम प्रदेशमा क्षयरोगका कारण बिरामीहरुले ज्यान गुमाउनुपर्ने अवस्थामा कमी आउन सकेको छैन । प्रदेशमा पछिल्लो चार वर्षको अवधिमा क्षयरोगका कारण चार सय ३० जनाको मृत्यु भएको निर्देशनालयको तथ्यांकमा रहेको छ । चालु आर्थिक वर्षको फागुनसम्म प्रदेशमा एक हजार आठ सय ३४ नयाँ विरामी पहिचान भएकोमा एक सय १३ जनाको क्षयरोगकै कारण मृत्यु भएको तथ्यांक रहेको छ ।
प्रदेशमा आर्थिक वर्ष २०७८/७९ मा ९० जना, २०७७/७८ मा एक सय १५ जना र आर्थिक वर्ष २०७६/७७ मा एक सय १२ जना क्षयरोगीको मृत्यु भएको जनाइएको छ ।
क्षयरोगकै कारण मृत्यु हुने दर कैलालीमै उच्च रहेको निर्देशनालयको तथ्यांकमा रहेको छ । चालु आर्थिक वर्षको फागुनसम्म ४३ जना, आर्थिक वर्ष २०७८/७९ मा २९ जना, आर्थिक वर्ष २०७७/७८ मा ५४ र आर्थिक वर्ष २०७६/७७ मा ५० जना क्षयरोगीको मृत्यु भएको जनाइएको छ ।
ओझाले देशभरमा क्षयरोगका कारण मृत्यु हुनेको दर दुई प्रतिशत रहे पनि सुदूरपश्चिम प्रदेशमा चारदेखि पाँच प्रतिशत रहेको बताए । उनले समयमै क्षयरोगको पहिचान गरी उपचार गर्न सकेमा मृत्युदर घटाउन सकिने बताए ।
स्वास्थ्य कार्यालय कैलालीका प्रमुख धामीले क्षयरोगको नियन्त्रण र अन्त्य गर्न बसाइसरार्इं, नियमित औषधि सेवन नगर्नु, आइसोलेसन वार्डहरू प्रर्याप्त नहुनु, ढिलो परीक्षण गराउनु लगायतका चुनौती रहेको बताए ।
लुकेर बसेका क्षयरोगी पत्ता लागे बिरामी चाँडै निको हुने, बिरामीको स्वास्थ्य अवस्था खराब हुनबाट बच्न सकिने, अकालमा हुने मृत्युबाट जोगाउँन सकिने र सबैभन्दा सबल पक्षका रूपमा अन्य व्यक्तिलाई रोग सर्नबाट बचाउन सकिने उनले बताए ।
प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९ २०:३९